जनकपुर, २२ असार । नेकपा एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठले पार्टी अध्यक्ष केपी ओलीकै सहमतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने दाबी गरेका छन् । आइतबार जनकपुरमा भएको पत्रकार सम्मेलनमा महासेठले अध्यक्ष ओली र भण्डारीबिच कुनै अन्तरविरोध नभएको पनि जिकिर गरे ।
‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षको सहमति र प्रस्तावमा आउनुहुन्छ । हाम्रो संविधानले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन कुनै बन्देज लगाएको छैन । न त हाम्रो पार्टीको विधानले बन्देज गरेको छ । सचिवालय बैठकमा पनि यसबारे छलफल भएकै हो । उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने किन रोक्ने ? संविधान र विधानले रोक्ने अधिकार दिएकै छैन’, उनले भने– ‘पूर्व राष्ट्रपतिले पार्टीभित्र अन्तर्विरोध बढाउने काम गर्नुभएको छैन । हाम्रा एक दुई जना साथीहरूले अन्तर्विरोध बढाउने काम गरिरहनुभएको छ । त्यो पनि राम्रो होइन । पूर्व राष्ट्रपतिलाई विवादमा ल्याउन खोजिएको छ, त्यो पनि राम्रो होइन ।’
भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउन सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किने घोषणा मात्र गरेकाले कसरी अगाडि जाने विषयमा कुनै जानकारी नगराएको महासेठले बताए । अहिले अध्यक्ष ओली र भण्डारीबिच बाहिर जुन खालको अन्तर्विरोध भएको हल्ला चलिरहेको छ, त्यो निराधार रहेको उनले जिकिर गरे ।