काठमाडौँ, १८ असार । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको कार्यशैलीबारे सानेपामा उकुसमुकुस भएको बताएका छन् । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गरी सापकोटाले कांग्रेसको केन्द्रीय कार्यालयमा उकुसमुकुस भएको बताए ।
सापकोटाले केपी ओली नेतृत्वको सरकार धेरै दिन नटिक्नेसमेत दाबी गरे ।
‘सानेपामा गरमागरम बहस भइरहेको छ । उकुसमुकुसको वातावरण छ । रोष्टमबाट नै सत्ता पक्षका सांसदले जेहाद छेडिरहेका छन् । सबैभन्दा ठुलो दल नेपाली कांग्रेसमा सबैभन्दा ठुलो अन्तर्विरोध पैदा भइराखेको छ । मलाई लाग्छ अन्तर्विरोध, असन्तुष्टि र आक्रोशलाई कांग्रेस नेतृत्वले थाम्न सक्दैन । यो सरकार धेरै दिन टिक्दैन’, उनले भने ।