सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

भारतबाट ल्याइएको कुखुराको मासु खाँदा बाँकेमा १३ जना बिरामी

मंगलबार, असार १७ २०८२

नेपालगन्ज, १७ असार । भारतबाट ल्याइएको कुखुराको मासु खाँदा बाँकेको खजुरा गाउँपालिका ४ सिर्जना टोलका १३ जना बिरामी परेका छन् । आफन्तको घरमा पाहुना बनेर गएका उनीहरूले कुखुराको मासु, पुलाउ र राजमा खाएकोमा कुखुराको मासु खानेहरु बिरामी परेको जानकारी प्राप्त भएको वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर रोका क्षेत्रीले बताए ।

भारतीय सिमा क्षेत्र नजिकबाट ल्याएको कुखुराको मासु खाँदा १३ जना बिरामी परेको जनाइएको वडा अध्यक्ष रोका क्षेत्रीले बताए । खजुरा ४ एफ गाउँमा आफन्तको घरमा भात खुवाई कार्यक्रममा सहभागी भई घर आएका उनीहरु बिरामी परेका हुन् । एकै परिवारका ७ जनासहित १३ जना विरामी परेको खजुरा ४ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज गेहेन्द्र जैसीले बताए ।

बिरामी हुनेमा बालबालिका पनि रहेको जनाउँदै जैसीले उनीहरूमा झाडा पखाला, उल्टी, ज्वरो आउने, रिङ्गटा लाग्ने समस्या देखिएको बताए । उनले पुलाउ, तरकारी, अचार खाएकाहरुलाई केहि नभएको र कुखुराको मासु खानेहरु विरामी परेको जनाए ।

भात खुवाईमा गएका ६ जना र घरको लागि पोको बनाएर ल्याएको खाना खाएर अरु थप ७ जना विरामी परेको जनाउँदै सो अवसरमा सहभागी भएका अन्य अरु थप सामान्य बिरामी भएको र उपचार पछि निको भएर घर गइसकेको खजुरा ४ आधारभुत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज जैसीले बताए ।

बिरामीहरुको उपचार बाँके सिटी अस्पताल खजुरामा भइरहेको खजुरा गाउँपालिकाले जनाएको छ । खानाको कारण बिरामी परेका बिरामीलाई भेट्न अस्पताल पुग्नुभएका खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले घटनाबारे आवश्यक अनुसन्धान गर्न सम्बन्धि निकायमा अनुरोध गरेका छन् ।

बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खजुरा गाँउपालिकाका अध्यक्षसँगै उपाध्यक्ष मन्जु मल्ल, वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर रोकाक्षेत्री, वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेख, सामाजिक विकास संयोजक कृष्ण कुमारी पोखरेल, वडा सदस्य रितु गिरी, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओली लगायतको टोली अस्पताल पुगेको थियो ।

कुखुराको मासु खाएर बिरामी हुनेहरुमा वडा ४ का राम बहादुर बिष्ट, मिना बुढा कुमारी मगर, रियान बिष्ट, आयुषा बिष्ट, हिमराज बिष्ट, मनोज बिष्ट, सिता बुधाछेत्री, लिलावती बिष्ट, खुसी बिष्ट लगायत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार