आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

लेखक लक्ष्मण वियोगीको कथा सङ्ग्रह ‘सत्यम्’ को गृह विमोचन र विमर्श

सोमबार, असार १६ २०८२

 

स्याङ्जा, १६ असार । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथा सङ्ग्रह ‘सत्यम्’ को वालिङ, मिर्दीमा विमोचन र विमर्श गरिएको छ। मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट एन्ड लजमा शनिबार एक विशेष कार्यक्रम आयोजना गर्दै उक्त कृतिको अनावरण गरिएको हो।

कार्यक्रमको अध्यक्षता स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाले गरेका थिए। प्रमुख अतिथि पूर्वकृषिमन्त्री त्रिलोचन ढकाल, समालोचक डा. अशोक थापा, समीक्षाकद्वय शान्ता थापा र शम्भु अर्याल लगायत लेखक वियोगीले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि ढकालले ‘साहित्य कल्पना र यथार्थताको संयोजन हो, र यो पक्ष सत्यम्मा पाइन्छ’ भन्ने बताएका थिए। उनले वियोगीका कथामा २०५२ देखि २०६२ सालसम्मको माओवादी द्वन्द्वको प्रभावलाई समेटिएको कुरा पनि उल्लेख गरे। समालोचक डा. थापाले भने, ‘वियोगीका कथामा पत्रकारिता पेशामा लेख्न नसकेका विषयहरू झल्किएका छन्, र उनले असत्यलाई उजागर गर्दै समाजका वर्गीय पीडालाई चित्रित गरेका छन्।’

समीक्षक शान्ता थापाले ‘सत्यम्’ लाई स्याङ्जाको मौलिक संस्कृति र परिवेशमा आधारित कृति रहेको र पुस्तकको पठन गर्दा आफूलाई भावुक अनुभव भएको बताइन्। उनले कृतिको साहित्यिक महत्त्व र वियोगीको लेखन शैलीको सराहना गरिन् ।

कथाकार वियोगीले कृतिको रचनाको पृष्ठभूमि र प्रेरणा बारे चर्चा गर्दै भने, ‘म कथाकार वा लेखक बनुँला/नबनुँला, सबैभन्दा ठूलो कुरा भनेको मलाई धेरैले सहयोग गर्नुभयो, र यो सहयोगको आधारमा मैले यो कृति तयार पारेको छु।’ उनले थपे, ‘सत्यम् मलाई चिनाउन आएको कृति हो, र यसले मलाई चिनाउने काम गरेको छ।’

कार्यक्रमको समापन गर्दै, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष रानाले वियोगीको कथाले आफ्नो जन्मभूमि र मौलिकतालाई उजागर गरेको बताएका थिए।

वियोगीको ‘सत्यम्’ कृति पश्चिम नेपाल, विशेषतः स्याङ्जा जिल्लाका भाषिक सौन्दर्य र माओवादी द्वन्द्वका पृष्ठभूमिमा सिर्जित नेपाली समाजका विविध पाटाहरूलाई उजागर गर्दछ। कथामा सामाजिक विभेद, असमानता, जनयुद्धका त्रासदी र पर्यावरणीय चेतसमेत समेटिएका छन्।

कृति विमोचनको अवसरमा २५ जना कविहरूले सिर्जना वाचन गरेका थिए।

लक्ष्मण वियोगी विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनले नेपाल समाचारपत्र, नागरिक दैनिक जस्ता प्रतिष्ठित पत्रिकामा कार्य गरेका छन् र वर्तमानमा ‘ऊर्जा खबर’ नामक ऊर्जा सम्बन्धी अनलाइन पोर्टलका सम्पादकको रूपमा कार्यरत छन्। साहित्य लेखनमा उनको विशेष रुचि कथा र निबन्ध विधामा रहेको छ।

वियोगीको ‘कोरोनाको कर्खा’ निबन्ध २०७८ सालको ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता’ मा प्रथम भएको थियो। साथै, उनको ‘टाउको’ शीर्षक कथा २०२२ सालको ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’ को दोस्रो स्थानमा रहि, यो कथा पनि ‘सत्यम्’ सङ्ग्रहमा समावेश गरिएको छ।

पेज टर्नर प्रालिले प्रकाशन गरेको यस १५ कथा सङ्ग्रहको बजार मूल्य ४५५ रुपैयाँ रहेको छ। यस प्रकाशनले अहिलेसम्म थुप्रै साहित्यिक कृतिहरू प्रकाशित गरिसकेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार