काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष लोक दाहालले एक विज्ञप्ति जारी गर्दै हाल संघबारे विभिन्न भ्रामक प्रचार भइरहेकाले कुनै भ्रममा नपरी सबैलाई आफ्नो दायित्वप्रति प्रतिबद्ध रहन आग्रह गरेका छन् । दाहालद्वारा जारी विज्ञप्तिमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत संघ र अदालतप्रति अपमानजनक प्रचार गरिरहेको उल्लेख गरिएको छ । ‘यस्ता प्रचारहरूले संस्था र अदालत दुबैको प्रतिष्ठामा आँच पु¥याउने खालका छन्,’ दाहालले भनेका छन्, ‘यसैले सबैलाई यस्ता भ्रमपूर्ण गतिविधिबाट सचेत रहन अनुरोध गर्दछौं ।’
विज्ञप्तिमा सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिबाट सम्पन्न एकता महाधिवेशनमार्फत महेशकुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमिति नै हाल एनआरएनएको एक मात्र वैधानिक र आधिकारिक कार्यसमिति भएको स्पष्ट गरिएको छ । “अन्य कुनै पनि कार्यसमिति मान्य छैन,’ विज्ञप्तिमा भनिएको छ, “संघको सचिवालयलाई कब्जा गरी गरिएका सम्पूर्ण पत्राचारलाई हामी खारेज गर्दछौं ।’ यस्तै, हरेक वर्ष अक्टोबरमा हुने महाधिवेशन यस वर्ष मे ३–४ मा सम्पन्न भइसकेकाले पुनः महाधिवेशन गर्ने प्रयास गैरकानुनी हुने पनि विज्ञप्तिमा उल्लेख छ । अदालतको परमादेशको उल्लंघन हुने भएकाले यस्तो कदम नचाल्न चेतावनी दिइएको छ ।
साथै, संघको चौथो पदाधिकारी बैठकको निर्णय अनुसार कुनै राष्ट्रिय समन्वय परिषद्ले आगामी जुलाईभित्र निर्वाचन गर्न नसकेमा अधिकतम ६ महिनासम्म समय थप गर्न सकिने व्यवस्था पनि गरिएको जानकारी दिइएको छ । ‘यस विषयमा सबै राष्ट्रिय समन्वय परिषदहरुलाई सूचित गरिसकिएको छ,’ उपाध्यक्ष दाहालले जनाएका छन् । हाल एनआरएनएसँग सम्बन्धित ६ मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको जानकारी दिंदै, अर्को समूहले कार्यसमितिको वैधानिकता प्रश्न गर्ने उद्देश्यले दायर गरेको रिटमा अन्तरिम आदेश जारी नभएकाले वैधानिकता अब विवादको विषय नरहेको पनि स्पष्ट गरिएको छ । अन्त्यमा, कोषको दुरुपयोगलगायत गैरकानुनी गतिविधि तत्काल रोक्न संघको सचिवालयलाई पुनः निर्देशन दिइएको जनाइएको छ ।