शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

‘वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाऔँ’

आइतबार, असार १५ २०८२

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन, सर्पदंशका घटनाबाट आमनागरिकको जीवन जोगाउन तथा भौतिक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की इन्दिरादेवी गौतमले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न सरकारको ध्यानाकर्षण गराइन । “वैदेशिक रोजगारीका क्रममा दुर्घटना हुँदा उपचार र क्षतिपूर्ति नपाउने, शव ल्याउन हुने ढिलाइले पीडितका परिवारले थप पीडा व्यहोरिरहेका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षामा लाग्न सरकारको ध्यान जाओस्”, उनले भनिन् ।
सोही पार्टीकी तुलसाकुमारी दाहालले तराई क्षेत्रमा सर्पदंशका घटना वृद्धि भइरहकाले आमनागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै पीडितलाई उपचारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराइन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मायाप्रसाद शर्माले छिन्चु–जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत विभिन्न खोला तथा नदीमा पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकार र सदनको ध्यानाकर्षण गराए । नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुमित्रा विसीले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजामा भएको सुधारको सराहना गर्दै शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिइन् ।
बजेटआश्रित दुई विधेयक टेबुल
बैठकमा बजेट आश्रित दुई विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी दिँदै ती विधेयक टेबुल गरेका हुन् । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका विषयगत समितिमा रहेका सांसदको नाम हेरफेरबारे जानकारी दिए । सांसद नारायणकाजी श्रेष्ठलाई विधान व्यवस्थापन समितिबाट विकास, आर्थिक मामिला तथा सुशासन समितिमा र झक्कुप्रसाद सुवेदीलाई विकास समितिबाट विधायन व्यवस्थापन समितिमा समावेश गरिएको । उक्त हेरफेरप्रति बैठकले सहमति जनाएको छ ।
छलफल जारी
राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयक– २०८२ अन्तर्गत मन्त्रालयत शीर्षकमाथिको छलफल जारी छ । आइतबारको बैठकमा विभिन्न १४ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल जारी छ ।
अध्यक्ष नारायणप्रसाद दाहालले ती मन्त्रालयत विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव नआएको जानकारी गराए । विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरू तुलसाकुमारी दाहाल, सुरेश आलेम मगर, नारायणदत्त मिश्र, उदयबहादुर बोहरा, सोनाम ग्याल्जेन शेर्पा, झक्कुप्रसाद सुवेदी, किरणबाबु श्रेष्ठ, गोमादेवी तिमिल्सिना, रुक्मिणी कोइराला, भुवनबहादुर सुनार, नारायणदत्त भट्ट, राजेन्द्रलक्ष्मी गैरे, जगप्रसाद शर्मा र दुर्गा गुरुङले भाग लिए । उनीहरूले आर्थिक समृद्धिको आधारका रूपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, राष्ट्रिय गौरवको आयोजनाको कार्यान्वयन, स्वास्थ्य पूर्वाधारको विकास, व्यापार घाटा न्यूनीकरण तथा किसानका समस्या समाधान गरी उत्पादन वृद्धिको योजना ल्याउन सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार