शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

नेपाली संस्कृति विश्वभर पुर्याउन चाहन्छु : हिमाल श्रेष्ठ, गायक

बिहिबार, असार १२ २०८२

काठमाडौँ । गायक हिमाल श्रेष्ठ नेपाली संगीतको त्यो सशक्त नाम हुन्, जसले केवल लोकप्रियता कमाएका छैनन्, बरु नेपाली संस्कृति, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण योगदान पनि पु¥याएका छन् । आत्मा स्पर्श गर्ने स्वरका धनी श्रेष्ठ विगत डेढ दशकभन्दा बढी समयदेखि नेपाली लोक–आधुनिक संगीतमा निरन्तर सक्रिय रहँदै आएका छन् । उनका गीतहरूमा नेपाली समाजको भाव, मायाको मिठास र परम्पराको सुगन्ध पाइन्छ । ‘सानु माया’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेका श्रेष्ठ दर्जनौं कालजयी तथा लोकप्रिय गीतका स्रष्टा हुन् । नेपाली संगीतको वर्तमान अवस्था, भावी दिशा र व्यक्तिगत सांगीतिक यात्राबारे जनसवाल राष्ट्रिय दैनिकका लागि उहाँसंग गरेको कुराकानीः

० तपाईंको सुरुवाती प्रेरणा के थियो नेपाली संगीतमा लाग्न ?
संगीत मेरो आत्मा हो । सानैदेखि स्कुलका कार्यक्रममा गीत गाउने गर्थें । गाउँले परिवेश, लोकधुन र नेपाली शब्दको सौन्दर्यले मलाई मोहित बनायो । म यही सौन्दर्यलाई जगेर्ना गर्दै अगाडि बढ्न चाहन्थें ।
० तपाईंको गीतले नेपाली पहिचान, संस्कृति र परम्परा कति प्रतिनिधित्व गर्छ ?
मेरो गीतहरू केवल प्रेमको कथा होइनन्, ती नेपाली भूगोल, भेष–भूषा, भाषा, रीतिरिवाज र चाडपर्वको प्रस्तुति हुन् । म गीतमार्फत नेपाली संस्कृति विश्वभर पु¥याउन चाहन्छु । मेरा धेरै गीतले गाउँघर, माया, माइती, मेलापर्व, लोकजीवन बोल्छन् ।
० विदेशमा नेपाली संगीत लिएर जाँदा कस्तो अनुभव रहन्छ ?
अद्भुत ! नेपाली डायस्पोराले यति धेरै माया दिनुहुन्छ कि लाग्छ — म गीत होइन, संस्कृति बोकेर आएको छु । जापान, अस्ट्रेलिया, अमेरिका, युकेजस्ता देशमा नेपाली युवाले नेपाली गीत गुनगुनाइरहेको देख्दा गर्व लाग्छ ।
० तपाईंका लागि ‘नेपाली गीत’ को परिभाषा के हो ?
नेपाली गीत भनेको मेरो दृष्टिमा आत्माको स्वर हो । जुन केवल कानले सुन्ने कुरा होइन, आत्माले महसुस गर्ने अनुभूति हो । नेपाली गीतहरू हाम्रो भाषा, भेषभूषा, रीतिरिवाज र भावनाको दर्पण हुन् । वास्तवमा, नेपाली गीत भनेको हाम्रो इतिहास, संस्कृति र चेतनाको जीवित संग्रहालय हो । जसले हामीलाई आफूलाई चिनाउने माध्यम दिन्छ र विश्व सामु हाम्रो अस्तित्वको परिचय गराउँछ ।
० आजकलको ‘हेर्ने’ भन्दा ‘सुनिने’ गीतको महत्व घट्दै गएको हो ?
सुनिने गीत कहिल्यै मर्दैन । भिडियो त समयअनुसारको माध्यम हो । तर शब्द र धुनले जो भाव स्पर्श गर्छ, त्यो स्थायी हुन्छ । म विश्वास गर्छु – सुगन्धित फूल जस्तै, राम्रो संगीत सधैं फैलिन्छ ।
० तपाईंले नयाँ पुस्ताका लागि कस्तो सन्देश दिनुहुन्छ ?
संगीतमा रहनु, रमाउनु, तर जरा नबिर्सनु । हामी आधुनिक हुनुपर्छ, तर मौलिकतालाई बिर्सनु हुँदैन । नयाँ पुस्ताले नेपाली गीतलाई मात्र गाउन होइन, बोक्न पनि सिक्नुपर्छ ।
० तपाईंका लोकप्रिय गीतहरूबारे के भन्न चाहनुहुन्छ ?
मेरो ‘रेशम हो रेशम’, ‘माया तिमी’, ‘बिती जाने’, ‘गितार’, ‘लाएको माया’, ‘हुना लाई पो होकी माया’, ‘देखेरा उनको’, ‘छोडेर नजाऊ’, ‘बिर्सँ जाने’, ‘जुनको साथी तारा’, ‘जुनै दीदीउला’, ‘कत्ति बस्छौ’, र ‘माया युके को’ जस्ता गीतहरूले सधैं दर्शक–श्रोताको मन जितिरहेका छन् । यी गीतहरूमा माया, सम्झना र जीवनका भावनाहरू समेटिएका छन्, जसले नेपाली संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।
० तपाईंको गीतमा ‘नेपालीपन’ कत्तिको महत्वपूर्ण हुन्छ ?
‘नेपालीपन’ मेरो गीतको आत्मा हो । चाहे लय होस्, शब्द होस् वा दृश्य संयोजन । म सधैं प्रयास गर्छु कि प्रत्येक पंक्तिमा, प्रत्येक धुनमा र प्रत्येक भावमा नेपालको गन्ध बसोस् । नेपाली भेषभूषा, भाषा, संस्कृति र जीवनशैलीलाई समेट्नु मेरो प्राथमिकता हो, किनभने त्यही नै हाम्रो मौलिकता र पहिचान हो । नेपाली संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउँदा त्यसमा नेपालीपन नबसाल्ने हो भने त्यो केवल धुन मात्र हुन्छ, आत्मा रहित । त्यसैले, म गीतमार्फत नेपाल देखाउन चाहन्छु, केवल सुनाउन होइन ।
० तपाईंका गीतले समाजमा के प्रभाव पारेको महसुस गर्नुहुन्छ ?
धेरै मानिसले सन्देश पठाउनुहुन्छ — ‘तपाईंको गीतले माइती सम्झायो, आमा सम्झायो, देश सम्झायो ।’ त्यो सुन्दा म रोएँ । यो नै कलाकारको सफलता हो ।
० तपाईंले पाउनु भएका प्रमुख सम्मान के–के हुन् ?
नेपाली संगीतमा समर्पित मेरो यात्रालाई विभिन्न सम्मानहरूले थप ऊर्जा र प्रेरणा प्रदान गरेका छन् । सन् २०१८ मा मैले राप्ती म्युजिक अवार्ड प्राप्त गरेँ, जुन मेरो सांगीतिक यात्राको एक महत्वपूर्ण मोड थियो । त्यसपछि सन् २०२२ मा जीवन्त म्युजिक अवार्डको पहिलो संस्करणमा सम्मानित हुन पाएँ । पछिल्ला वर्षहरूमा पनि मेरो प्रयासलाई कदर गर्दै सन् २०२३ मा ओएस नेपाल म्युजिक अवार्ड, सन् २०२४ मा नेशनल ब्रान्ड म्युजिक अवार्ड तथा क्याप्टिभेटिङ क्रिएसन अवार्ड जस्ता महत्वपूर्ण अवार्डहरू प्राप्त गर्ने अवसर मिल्यो । यी सम्मानहरू मेरो मेहनत, समर्पण र नेपाली संगीतप्रतिको प्रेमको कदरका प्रतिक हुन् ।
० आगामी योजनाहरू ?
मौलिक नेपाली धुनमा आधारित एल्बम ल्याउने योजना छ । साथै, ‘नेपाली संस्कृति चिनाउने अभियान’ अन्तरगत नेपाली संस्कृति झल्किने गीतहरू लिएर अन्तर्राष्ट्रिय टुर गर्ने सोचमा छु ।
० अन्त्यमा…?
नेपाली संगीतलाई सुन्नु, बुझ्नु र माया गर्नुहोस् । किनभने त्यो हामी आफैं हौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार