सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सात सयभन्दा बढी स्थानीय तहद्वारा बजेट सार्वजनिक

मंगलबार, असार १० २०८२

काठमाडौं(जस)–देशभरका ७५३ स्थानीय तहमध्ये ७०० भन्दा बढीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । कानुन अनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यता पूरा गर्दै अधिकांश स्थानीय तहले समयमै बजेट पेस गरेका हुन् । हाल देशभर ६ वटा महानगरपालिका, ११२ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् । प्रारम्भिक विवरणअनुसार ४२ वटा स्थानीय तहले भने तोकिएको म्यादभित्र बजेट ल्याउन सकेनन् ।
गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलका अनुसार मधेस प्रदेशका सबैभन्दा बढी ९ गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन् । त्यसैगरी बागमती प्रदेशको १, गण्डकीको २, लुम्बिनीको २ र कर्णाली प्रदेशको १ गाउँपालिकाले बजेट पेस गर्न सकेनन् । नेपाल नगरपालिका संघले संकलन गरेको विवरणअनुसार देशभरका २४ नगरपालिका बजेट पेस गर्नबाट चुकेका छन् । मधेसका ७७ नगरपालिकामध्ये १६ ले, बागमतीका ४५ नगरपालिकामध्ये ४ ले, लुम्बिनीका ३६ नगरपालिकामध्ये २ ले, कोशीका ४९ नगरपालिकामध्ये १ ले र कर्णालीका २५ नगरपालिकामध्ये १ ले बजेट ल्याउन सकेनन् ।
उपमहानगरपालिकातर्फ बाराको जितपुर सिमरा र सुनसरीको धरान उपमहानगरपालिकाले पनि बजेट ल्याएनन् । राजधानीको काठमाडौं महानगरपालिकाले समेत यस वर्ष पहिलोपटक तोकिएको समयमा बजेट प्रस्तुत गर्न सकेन । यसमा आन्तरिक विवाद र प्राविधिक कारण मुख्यरूपमा जिम्मेवार मानिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९ अनुसार गाउँ वा नगर कार्यपालिकाले असार १० गतेभित्र सम्बन्धित सभामा आगामी आर्थिक वर्षको बजेट पेस गर्नु पर्ने कानुनी व्यवस्था छ । यसले गर्दा अधिकांश स्थानीय तहले निर्धारित म्यादभित्रै बजेट सार्वजनिक गरेका छन् ।
यद्यपि केही तहमा समयमै बजेट नल्याउने समस्या अघिल्ला वर्षहरूमा पनि देखिँदै आएको छ । बजेट असार मसान्तभित्र पारित भएमा स्थानीय तहको कार्यसम्पादन राम्रो मानिने गरिन्छ । संघीय र प्रदेश सरकारले आफ्नो बजेट समयमै सार्वजनिक गरिसकेका छन् । संघीय तथा प्रदेश तहको बजेट प्रक्रिया शीर्ष–तह बाट अघि बढ्ने भए पनि स्थानीय तहको बजेट प्रक्रिया फरक हुन्छ । नेपाल नगरपालिका संघका महासचिव धनराज थापाका अनुसार स्थानीय तहमा प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरू, समुदायको सहभागिता, योजना छनोट, प्रक्रिया र जवाफदेहिताको स्वरूपले गर्दा स्थानीय बजेट प्रक्रिया फरक र बढी सहभागीमुखी हुने गर्छ । स्थानीय तहको बजेट निर्माणमा नागरिकहरूको प्रत्यक्ष भूमिका हुने भएकाले उनीहरू प्रत्यक्ष रूपमा जबाफदेही रहनुपर्छ । थापाका अनुसार स्थानीय सरकारको बजेट मुख्यतः साना आयोजनाहरूमा केन्द्रित हुन्छ र समुदायको वास्तविक आवश्यकता सम्बोधनमा आधारित हुने गर्छ । संघीय वा प्रदेश सरकारजस्तो धेरै निकायको समन्वय आवश्यक नपर्ने भएकाले यसको प्रक्रिया पनि तुलनात्मक रूपमा छिटो र सरल हुने विज्ञहरूको अनुभव छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार