सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एमाले महासचिव शंकर पोखरेल स्वदेश फिर्ता

सोमबार, असार ९ २०८२

काठमाडौं, ९ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको नेतृत्वमा ११ दिने बेलायत र कतार भ्रमण सकेर पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासचिव पोखरेलसहितको टोलीलाई पार्टी सचिव योगेश भट्टराई, पोलिटब्युरो सदस्य आनन्द पोखरेल, कार्यालय सचिव डा भीष्म अधिकारी, प्रवास सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्याम बस्नेतलगायत नेताहरूले स्वागत गरेका छन् ।

महासचिवसँग एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य र केन्द्रीय सदस्य तथा युरोप–अमेरिका प्रवास क्षेत्रका इन्चार्ज घनश्याम पाण्डे भ्रमण टोलीमा थिए। महासचिव पोखरेलको यो भ्रमण बेलायत र कतारस्थित प्रवासी नेपाली समुदायसँग सम्बन्ध विस्तार गर्ने, नेपालको राजनीतिक अवस्था र पार्टीको भावी कार्यदिशाबारे जानकारी गराउने तथा विदेशी नीति निर्मातासँग छलफल गर्ने उद्देश्यले गरिएको हो ।

बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले प्रवासी नेपाली मञ्च युकेको नवौँ सम्मेलनको उद्घाटन तथा सम्बोधन गरेका थिए । उक्त सम्मेलनमा बेलायतका विभिन्न सहरमा सक्रिय नेपाली प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
भ्रमणको क्रममा पोखरेलले लण्डनस्थित नेपाली दूतावासद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिसँग समसामयिक राजनीतिक विषयमा संवाद गरेका थिए ।

उनले भ्रमणको क्रममा बेलायती सरकारका मन्त्री तथा सांसदहरूसँग भेट गरी नेपाल–बेलायत सम्बन्धको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरेका थिए । सो क्रममा भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको समान पेन्सन सुविधा, द्विपक्षीय सहयोग आदान–प्रदान, विकास सहायता, उच्चस्तरीय राजनीतिक भ्रमण र नेपालमा लगानी वृद्धिका सम्भावनाबारे छलफल भएको थियो ।

यसका अतिरिक्त लण्डन जुलोजिकल सोसाइटीमा आयोजित छलफल कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तन, जैविक विविधता, मानव–वन्यजन्तु द्वन्द्व, स्थानीय समुदायको जीविकोपार्जन र हिमाली क्षेत्रका समस्याका बारे धारणा राखेका थिए । भ्रमण टोलीले बेलायतका तीन प्रमुख विश्वविद्यालयहरूको अवलोकन गरी शैक्षिक सहकार्यको सम्भावनाबारे जानकारी लिएको थियो।

टोलीले संसदीय प्रजातन्त्रको जननी मानिने बेलायती संसद्को समेत भ्रमण गरेको थियो । बेलायती सांसदहरूसँग नेपालका समसामयिक राजनीतिक चुनौती, संसदीय अभ्यास र लोकतान्त्रिक संस्थाहरूको भूमिकाबारेमा विचार विमर्श भएको थियो।
भ्रमणका क्रममा ब्रिटिस गोर्खाको हकहितसम्बन्धी विषय पनि प्राथमिकताका साथ उठाइएको थियो। महासचिव पोखरेलले उक्त मुद्दामा बेलायती पक्षको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

कतार भ्रमणको क्रममा प्रवासी नेपाली मञ्च, कतारद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले नेपालको वर्तमान राजनीतिक अवस्था र पार्टीको दृष्टिकोणबारे मन्तव्य राखेका थिए । दोहास्थित नेपाली दूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिसँग संवाद गर्दै उनले प्रवासी नेपालीहरूको योगदानको उच्च मूल्याङ्कन गरे ।

कतारका लागि नेपालका पूर्वराजदूत, प्रवासी उद्योगी तथा व्यवसायीहरूसँगको छुट्टै छलफलमा महासचिव पोखरेलले नेपालमा लगानी प्रवाहका सम्भावना र आवश्यक सरकारी संरचनाबारे जानकारी गराएका थिए । कतारमा रहेका नेपाली उद्योगीहरूको चासोका विषयका बारेमा पनि छलफल भएको थियो ।
महासचिव पोखरेलले आफ्नो भ्रमणलाई सफल र सार्थक बनाउन सहयोग गर्ने प्रवासी नेपाली मञ्चका पदाधिकारी, दुवै देशका नेपाली राजदूत र त्यहाँ रहेका समुदायका अगुवालाई आभार व्यक्त गरेका छन् । उजले भ्रमणको उद्देश्य सत्य–तथ्य जानकारी गराउने र प्रवासी नेपालीहरूलाई पार्टीको कार्यदिशामा जोड्ने रहेको जनाउँदै भ्रमणले ती लक्ष्यलाई एक हदसम्म पूरा गरेको महसुस भएको प्रतिक्रिया दिए ।

महासचिव पोखरेल नेतृत्वको यो भ्रमणले प्रवासी नेपाली समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै अन्तर्राष्ट्रिय सरोकारका विषयमा प्रत्यक्ष संवाद स्थापित गरेको विश्वास गरिएको छ। उनले बेलायत र कतार दुवै देशका सरकारी तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूसँगको भेटघाटले नेपालको छवि प्रवर्द्धनमा योगदान पुर्‍याएको बताएका छन् ।

विमानस्थलमा महासचिवको स्वागतका क्रममा केही दिनका लागि विदेश भ्रमणमा जान लागेका पार्टी सचिव योगेश भट्टराईलाई समेत उपस्थित नेताहरूले बिदाइ गरेका थिए ।

नेपाल फर्किए लगत्तै महासचिव पोखरेलले भ्रमणको अनुभव र त्यसका उपलब्धिहरूबारे जानकारी गराएका थिए । उनले विशेषतः प्रवासी नेपाली समुदायमा रहेका एमाले समर्थकहरूको उत्साह, देशप्रतिको प्रतिबद्धता र पार्टीप्रतिको विश्वासले थप ऊर्जा प्राप्त भएको अनुभव सुनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार