आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

इरानमा रहेका नेपालीको उद्धार गरिँदै, भारतको सहयोग

शनिबार, असार ७ २०८२

काठमाडौँ(जस)–इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताइन । इजरायल इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ । नेपाल सरकारको अनुरोधमा उनीहरुलाई इरानस्थित भारतीय दूताबासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेक िथिइन ।
परराष्ट्रमन्त्री डा राणाले भनिन “इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरुले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नविन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ । हामीहरु उहाँहरुको सहयोगको प्रतिक्षामा छौँ ।” केही दिनयता जारी इजरायल इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा राणाले भारत सरकारसँग सो आग्रह गरेकी थिइन । यस प्रयोजनका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन । इरानस्थित भारतीय दूताबासले नेपालको अनुरोध स्वीकार गरेपछि शनिबारै मन्त्रालयले इरानमा रहेका नेपालीहरुलाई सम्पर्क गरी भारतीय दूताबासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूताबासले पनि सो सूचना जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरु र इरानस्थित भारतीय दूतबासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहेका छन् । यससँगै भारतीय दूताबासले नेपाल र त्यहाँ स्थित श्रीलंकाली नागरिकहरुलाई पनि सम्पर्कमा आउन भनेको छ । १६ नेपालीमध्ये अध्यागमनसम्बन्धी कानुनका कारण पाँच जना नेपाली इरानी जेलमा रहेकाले उनीहरुलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको छ । सरकारको निर्देशन अनुसार भारतका लागि नेपालका राजदूत डा शङ्कर शर्मा पनि इरानमा रहेका नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा छन् । तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैैछ । यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीको उद्धारका लागि त्यहाँस्थित भारतीय दूतवासका उपप्रमुखसँग सम्पर्क र समन्वय गरिरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार