आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सांस्कृतिक आन्दोलनको सशक्त चिनारी ‘सिन्धुली कलाघर’

शनिबार, असार ७ २०८२

फणीन्द्र फुयाल ज्वाला

सिन्धुली नेपालकै एक ऐतिहासिक, सांस्कृतिक र भौगोलिक विविधता बोकेको जिल्ला हो । अंग्रेजसँगको युद्ध र माओवादीको जनयुद्धको गाथा बोकेको सिन्धुली गढी, तराईदेखि पहाडसम्म फैलिएको भूगोल, र विविध जातजातिको बसोबासले यो जिल्लालाई अद्वितीय बनाएको छ । यिनै विविधताको मुटुमा बसेको छ सिन्धुली कलाघर । बिपी राजमार्गहुँदै यात्रा गर्दा ऐतिहासिक सिन्धुली गढीको मुन्तिर सोलाभञ्ज्याङ (जहाँ अंग्रेजहरुलाई सोला अर्थात, पासो थाएिको) छ । त्यहीँबाट सिन्धुली गढीको प्रवेशद्वारहुँदै करिव डेढ–दुई घण्टाको पैदय यात्रामा कमलामाई नगरपालिका वडा नं ३ चपौली, भञ्ज्याङपोखरीमा रहेको कलाघरमा पुग्न सकिछ । त्यसो त यहाँसम्म पुग्न मोटर बाटो पनि बनेको छ । कलाघर यस्तो संस्था हो जसले छोटो समयमै सिर्जना, संघर्ष र समर्पणको कथा बुन्न सफल भएको छ । यो कलाघर केवल एउटा भौतिक संरचना मात्र होइन, यो एउटा विचार हो, एक आन्दोलन हो, जसले स्थानीय संस्कृतिलाई जोगाउने, अभिव्यक्तिको माध्यम बनाउने र युवाहरुलाई सिर्जनात्मक यात्रातर्फ डोर्याउने अनि पर्यटक प्रवद्र्धन गर्ने काम गरिरहेको छ ।

सुरुको यात्रा, एउटा सपना जसले आकार लियो

सिन्धुली कलाघरको यात्रा कुनै सरकारी योजना वा ठूलो बजेटबाट सुरु भएको होइन । यो स्थानीय कलाकार, पत्रकार, शिक्षक, लेखक र सामाजिक अभियन्ताहरुको सानो समूहबाट सुरु भएको हो । उनीहरु सबैको एउटै साझा ध्येय थियो—“सिन्धुलीलाई सिर्जनात्मक चेतनाको केन्द्र बनाउने ।”
शुरुमा सामान्य बैठक, सडक नाटक, कविता वाचन, चित्रकला प्रदर्शनी जस्ता स–साना कार्यक्रमहरू गर्दै यो संस्था अघि बढ्यो । तर तिनै साना पाइला नै ठूलो आन्दोलनका बिउ बने । स्थानको अभाव, स्रोतको कमी, प्राविधिक सहयोगको न्यूनता—यी सबै चुनौतीबीच पनि कलाघर टेको लगाउँदै अघि बढ्यो ।

युवाको ऊर्जा, सिर्जनाको बल 
कलाघरको सबैभन्दा बलियो पक्ष हो—युवा सहभागिता । यहाँका अधिकाशं कार्यक्रमहरु युवाहरूले नै आयोजना गर्छन्, निर्देशन गर्छन्, र नेतृत्व गर्छन् । चाहे त्यो नाटक होस्, कविता प्रतियोगिता होस्, वा सांगीतिक साँझ, युवाहरुले आफ्नो सीप, प्रतिभा र विचार प्रस्तुत गर्ने खुला मञ्च पाउँछन् ।

यही खुला वातावरणले गर्दा धेरै युवाहरुले आफ्नो आत्मविश्वास र पहिचान बनाएका छन । केही त राष्ट्रियस्तरकै कलाकार बन्न सफल भएका छन् । सिन्धुली जस्तो सहरमा जहाँ कलाकारिता मार्फत भविष्य खोज्ने भन्ने कुरा अझै पनि आश्चर्यका रुपमा लिइन्छ, कलाघरले त्यो धारणा तोड्ने साहसिक काम गरेको छ ।

संस्कृतिको जगेर्ना, मौलिकता जोगाउने अभियान 

नेपालको ग्रामीण क्षेत्रहरुमा मौलिक संस्कृति विस्तारै हराउँदै गएको अवस्थामा, सिन्धुली कलाघरले त्यसको संरक्षणमा विशेष जोड दिएको छ । तामाङ सेलो, मगर नाच, खैजडी भजन, आदि मञ्चन गर्न, लिपिबद्ध गर्न, र नयाँ पुस्तामा हस्तान्तरण गर्न कलाघरले सक्रिय भूमिका खेलेको छ । संस्थाका अध्यक्ष सुनम थापा मागर यसै भन्छन् ।

पछिल्लो समय कलाघरले “गाउँको कथा–गाउँमै” भन्ने अभियान अन्तर्गत विभिन्न गाउँमा पुगेर स्थानीय वृद्धवृद्धाका कथाहरू, गीतहरू, र परम्परागत नृत्यहरू संकलन गर्न थालेको छ । यसले केवल इतिहास बचाउने काम मात्र गरेको छैन, बरु ग्रामीण आवाजलाई पनि केन्द्रमा ल्याउने काम गरेको छ ।

नाटकको माध्यमबाट जनचेतना

कलाघरको अर्को महत्वपूर्ण पक्ष भनेको नाटकद्वारा सामाजिक सन्देश प्रवाह गर्नु हो । बालविवाह, लैङ्गिक तथा जातिय हिँसा, शिक्षा, वातावरण संरक्षण, अन्धविश्वास, रुढिवादी, जस्ता विषयमा आधारित नाटकहरु स्थानीय विद्यालय, बजार, मेलामा मञ्चन गर्ने गरिन्छ । स्थानीय चाडपर्व, मेला महोत्सव र देश विदेशमा गएर आफ्नो प्रतिभा प्रस्तुत गर्न आजलक यहाँका कलाकारहरुलाई भ्याइनभ्याई छ । उनीहरु यी नाटकहरु मनोरञ्जन मात्र गर्दैनन्, सवाल उठाउँछन्, बहस गराउँछन् र परिवर्तनको आधार तयार गर्छन् । स्थानीय भाषामा लेखिएका र बोलिएका यी नाटकहरुले आम दर्शकसम्म सन्देश पुर्याउने बलशाली माध्यम बनेका छन् ।

चुनौतीहरु, सपना साकार बनाउने संघर्ष 

सफलता पछाडि संघर्ष लुकेको हुन्छ । सिन्धुली कलाघरको कथा पनि त्यस्तै हो । पर्याप्त आर्थिक स्रोत छैन, सरकारी सहयोग न्यून छ, प्राविधिक स्रोतहरु पु¥याउन गाह्रो छ । तर कलाघरको हिम्मत भने कहिल्यै घटेको छैन । स्थानीय समाजको साथ, स्वयम्सेवकहरुको प्रतिबद्धता र युवाको सिर्जनात्मक उर्जा नै यसको मूलधरो बनेको छ । सामाजिक सञ्जालको माध्यमबाट सहयोग आह्वान गर्दै, विभिन्न साझेदारी गर्दै यो संस्था अघि बढिरहेको छ । केही रकम स्थानीय पालिकाले आफ्नो बार्षिक बजेटमार्फत बिनियोजन पनि गरेको छ ।

भविष्यको योजना

सिन्धुली कलाघर अब केवल जिल्ला स्तरमा सीमित छैन । यसले राष्ट्रिय स्तरमै कलाको एउटा विकल्प प्रस्तुत गरेको छ । कसरी स्थानीय स्तरमै कला र चेतना समावेश गरिन्छ भन्ने नमुना बनेको छ । आगामी दिनहरुमा कलाघरले क्षेत्रीय नाट्य महोत्सव आयोजना गर्ने, डिजिटल आर्काइभ तयार गर्ने, कला र संस्कृतिमा आधारित अनुसन्धान प्रवद्र्धन गर्ने योजना बनाएको छ । त्यसका लागि सहयोगी हातहरू चाहिन्छ—सरकार, गैरसरकारी संस्था, र आम जनता सबैको ।

सिन्धुली कला घरले गीत संगितका माध्यमबाट जागरण, चेताना, मनोरञ्जन शिक्षा त दिएको छ नै, यसले ग्रामिण भेगमा हाम्रा पूर्खाहरुले प्रयोग गर्ने गरेका सामाग्रीहरुको पनि संरक्षण गरेको छ । कला घरका आँगन, दलान, पिँढी, दलिन, मझेरी र भित्ताहरुमा हामी ढिकी, जाँतो, मदानी, घुम, छत्री, ठेकी, हर्पे, मदानी, पञ्चेबाजा, नौमती बाजा, मारुनी, हुर्रा, कर्नाल, ट्याम्को, सारंगी, मादल लगायतका सामाग्री मात्र होइन, जुनारको रुख, गुराँसको फूल, लोक बाजा र वाद्य–वादनहरु देख्न सकन्छि । घरेलु तथा कृषि उपकरणमा हलो, ढिकी, छत्री, कोल, तोरी पेल्ने उपकरण, डोको, गुलेली आदिका पारंपरिक नमूनाहरु छन् ।

त्यसैगरी धार्मिक तथा ऐतिहासिक प्रतिमाहरुमा पशुपतिनाथ मन्दिर, जानकी मन्दिर, बुद्ध स्तूपा, धरहरा, सिन्धुलीगढीको प्रतिनिधित्व गर्ने क्यानभास चित्रहरू छन् ।

सिन्धुली कलाघर कुनै ठूला भवन वा भव्य मञ्च होइन । यो एउटा सपना हो, जहाँ कलाको माध्यमबाट समाजसँग संवाद गरिन्छ । यो एउटा यात्रा हो, जहाँ ग्रामीण आवाजलाई केन्द्रमा ल्याउने कोसिश हुन्छ । यसले देखाएको छ—संसाधन नभए पनि सम्भावना हुन्छ, राजधानीको पहुँच नभए पनि सिर्जना हुन्छ । सिन्धुली कलाघर ग्रामीण सम्भावनाको एउटा प्रतीक हो, जहाँ युवाले सिर्जनामा विश्वास गर्छन्, संस्कृतिले आत्मा बोकेको हुन्छ, र जहाँ परिवर्तनको बीउ रोपिन्छ ।

सिन्धुली कला घरको परिकल्पना

सिन्धुली जिल्लाको कमलामाई–३ चपौलीमा अवस्थित ‘कलाघर सिन्धुली’ लाई स्थानीय कलाकार सुनम थापा मगरले चार रोपनी जग्गामा स्थापना गरेका हुन् । यो परियोजना मूलतः परम्परागत सांस्कृतिक तथा कलात्मक प्रवद्र्धनको अबधारणादेखि जन्मेको हो । यहाँ आम नेपालीको इतिहास, कला, संगीत, धार्मिक र सांस्कृतिक विशेषता एकै ठाउँमा भेटिन्छ । हिजोआज बिपी राजमार्ग हुँदै पूर्वी नेपाल र संघीय राजधानी काठमाडौं यात्रा गर्नेहरु सिन्धुली गढीको अवलेकनपछि चपौलीमा रहेको कलाघरमा गएर कला अवलोकन गर्दै रम्ने र केहीबेरसुस्ताउने गरेका छन् । यी सबैले सांस्कृतिक विविधतालाई जीवन्त बनाएर अभिलेखन गरिरहेका छन् ।

कला घरको औपचारिक थालनी वि.सं २०७५ मा भएको थियो । त्यसयता यो निरन्तर विस्तारशील रुपमा अघि बढेको छ । कलाघरको परिसर प्राकृतिक बनावटमा सुसज्जित छ । यहाँ गौरीशंकर हिमालबाट झुल्किने दृश्य, परिदृश्यको सौन्दर्य, र शान्त वातावरणको मेलले आगन्तुकको मन मुग्ध हुन्छ । आकाश खुलेको बेला यहाँबाट रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार, सलल बगेको सुन्दर सुनकोसी नदी, र महाभारतका अग्ला डाँडाहरु पर परसम्म लमतन्न परेको देखिन्छ ।

सांस्कृतिक कार्यक्रम र यथार्थ–अनुभव

सिन्धुली कला घरले परम्परागत पञ्चेबाजा, खैँजडी भजन, देउसी–भैलो, जातीय नृत्य, अनि गीत सामग्रीलाई सक्रिय रुपमा प्रस्तुत गर्दै आएको । असार पन्ध्रमा बेठी लगाएर असारे भाकामा रोपाइँ गर्नेमात्र होइन, साउँने संक्रान्तिमा लुतो फाल्ने, तीज, माघे संक्रान्ति, ल्होछार, सबै सबै पौराणीक पर्वहरुमा कला घरका कलाकारको उत्तिकै प्रेमिल उन्मुक्त कला देख्न सकिन्छ । विशेष रुपमा महिला कलाकारहरुको ‘नौमती बाजा समूह’ ले जैविक सामग्री र परम्परागत संगीत प्रस्तुतिमा आफूलाई अब्बल रुपमा स्थापित गरिसकेको छ । छोटो समयमै सिन्धुलीदेखि विभिन्न जिल्लाहरु र विदेश (कोलालम्पुर, साउदी अरब, मलेसिया, दुबई, देहरादून, आदि) सम्मको सांस्कृतिक यात्रा कलाघरका कलाकारहरुले गरिसकेका छन् ।

संगठनको लक्ष्य र आगामी योजना

अबको ५–१० वर्षमा विश्वलाई नै आफ्नो कलात्मक माध्यमबाट प्रस्तुत गर्ने महत्वकांक्षी योजनासहित सुमन थापामगर नेतृत्वको टोली अडिग रुपले अघि बढिरहेको छ । ‘मेचीकाली अभियान’ अन्तर्गत ७७ जिल्लामा सांस्कृतिक प्रस्तुति र परियोजना विस्तार गर्ने योजना रहेको सुनम सुनाउँछन् । साथै, एक बहुआयामीक ‘कलासंस्कृति विश्वविद्यालय’ र ‘कलाकार आश्रम’ को संरचना निर्माण गरी प्राथमिकदेखि समृद्ध कलाकार–सेवानिवृत्त कलाकारसम्मलाई आदर, पोषण र मानवीय संरक्षण उपलब्ध गराउने अलि परसम्मको उद्देश्य कला घरको छ ।

अहिले कलाघर प्रवेश शुल्क विद्यार्थीका लगि रु ३० र अन्य नागरिकका लागि ५० रुपैयाँ तोकिएको छ । सांगीतिक प्रस्तुतिबाट सञ्चय गरिएको रकम पनि कलाघरकै निर्माणका लागि प्रयोग भइरहेको छ । कलाघरले स्थानीय कलाकार, संगीतकारलाई अवसर दिइएको छ, जसले कला मार्फत जीवन जिउने वातावरण प्राप्त गरेका छन् । स्थानीय शिक्षक खिलप्रसाद सिग्देल भन्छन्, ‘कलाघरमा आएपछि अहिलेका पुस्ताले रैथाने सामग्री, लोपोन्मुख कला संस्कृति देख्न पाउँछन् ।’ कलाकार रिता थिङका अनुसार नेपाली मौलिक कला र संस्कृति संरक्षण मात्र होइन कलाघरले विदेशीलाई पनि नेपालको चिनारी प्रस्तुत गरेको छ । [email protected]

प्रतिक्रिया
सम्बन्धित समाचार