सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यात्रुको चापपछि रुकुमपश्चिमको सल्ले विमानस्थलमा उडान थपियो

बिहिबार, असार ५ २०८२

रुकुमपश्चिम, ५ असार । नेपाल वायु सेवा निगमले रुकुमपश्चिमको सल्ले विमानस्थलमा उडान थप गरेको छ । यस अघि हप्तामा काठमाडौँ र नेपालगन्ज एक–एक उडान गर्दै आएकोमा अब दुई उडान हुन थालेको छ ।

नेपाल वायु सेवा निगम रुकुम शाखाका प्रमुख प्रेम ओलीका अनुसार यात्रुको चापपछि उडान थप भएको हो । अबदेखि रुकुमपश्चिमबाट हप्तामा दुई दिन नेपालगन्ज र दुई दिन काठमाडौँका लागि उडान तालिका कायम गरिएको छ । प्रमुख ओलीले अब आइतबार र बिहीबार काठमाडौँ–रुकुम–नेपालगन्ज र मङ्गलबार र शुक्रबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान हुने जानकारी दिए ।

यसअघि हप्तामा एउटा मात्र उडान हुँदा टिकटका लागि समस्या हुने गरेको थियो । काठमाडौँ उडान भएकै दिन अर्को हप्ताका लागि काठमाडौँको टिकट पनि बिक्री भइसक्ने गरेको थियो । यसका साथै टिकटकै लागि कार्यालयमा यात्रुहरु लाइन लाग्नुपर्ने अवस्था रहेको थियो । अब भने चाप कम हुने निगमले जनाएको छ ।

निगमको केन्द्रीय, क्षेत्रीय र जिल्लास्थित कार्यालयबाट र अनलाइनबाट समेत टिकट लिने सकिने व्यवस्था रहेको कार्यालयले जनाएको छ । प्राविधिक कारण बाहेक अहिले उडान तालिका अनुसार नै जहाज आउने गरेको बताइएको छ ।

सोमबारदेखि भाडादर समेत केहि घटेको निगमका शाखा प्रमुख ओलीले जानकारी दिए । हाल रुकुमबाट नेपालगञ्जका लागि चार हजार ५०३ रुपियाँ ६० पैसा र काठमाडौँका लागि नौ हजार ९७८ रुपियाँ ४५ रुपियाँ भाडादार कायम रहेको छ । यस अघि रुकुमबाट नेपालगञ्जका लागि चार हजार ५३७ र काठमाडौँका लागि १० हजार ८० रुपियाँ भाडादर रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार