काठमाडौं(जस)–परराष्ट्रमन्त्री डा. आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएकी छन् । मन्त्री डा. राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न निर्देशन दिएकी छन् ।
हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपालीहरु रहेको र उनीहरु सबै जना सुरक्षित रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । इजरायल र इरानबीच विकसित उक्त घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले नेपाली राजदूतावास, तेल अभिभमा नियोग उप–प्रमुख–प्रवक्ता कुमारबहादुर श्रेष्ठलाई फोन नं +९७२–५३५३६०७४८, ०३५१००१११ र इ–मेलः लभउबझिदबककथ२१२।लभत।ष् िर नेपाली राजदूतावास, दोहामा मिनिष्टर काउन्सेलर–नियोगउप–प्रमुख कुमार राईलाई फोन नं +९७४–५५६१६०४०, +९७४–४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२ र इ–मेलः भयलमयजब२mयाब।नयख।लउ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो–घर बाहिर ननिस्कनू
इजरायलको राजधानी तेल अभिभस्थित नेपाली दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थान आसपासमै रहन भनेको छ । आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं’, दूतावासले भनेको छ । गएको बिहीबार राति इजरायलले इरानमा हवाई आक्रमण गरेको थियो । त्यसपछि यी दुई देश लगातार आक्रमण–प्रत्याक्रमणमा उत्रिएका छन्। तनाव बढ्दै जाँदा दुवै देशमा ठूलो जनधनको क्षति भएको छ ।
जारी युद्धमा इजरायलका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको नेपाली दूतावासले जनाएको छ । यो स्थितिमा इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका निम्ति लगातार अध्यावधिक निर्देशन जारी गरिएको पनि दूतावासले जनाएको छ । त्यहाँ शैक्षिक संघसंस्थासहित अत्यावश्यकबाहेकका कार्यालय बन्द रहने र सभा÷भेला नगर्न समेत निर्देशन जारी गरिएको छ । दूतावासले स्थानीय सुरक्षा ‘प्रोटोकल’ को पालना गर्न पनि आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार, हाल इजरायलमा पाँच हजार ५०० र इरानमा १२ देखि १५ जनासम्म नेपाली नागरिक छन् । इजरायलमा कुनै अप्ठ्यारोमा परेमा तेल अभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ९७२५३५३६०७४८ र तृतीय सचिव सञ्जयकुमार शाहलाई ९७२५४५५८२०७७ मोबाइल नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।