आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अत्यधिक गर्मीले पर्सा र बाराका विद्यालय तीन दिन बन्द

बुधबार, जेष्ठ २८ २०८२

वीरगञ्ज, २८ जेठ । अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन्।

पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए।

‘अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जेठ २८ देखि ३० गतेसम्म तीन दिन गर्मी बिदा दिने निर्णय गरेका छौंँ,’ उनले भने, ‘असार १ गतेदेखि भने विद्यालय सञ्चालन गरिनेछ।’ नगरपालिकाले बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन कार्य स्थगन गरिएको जनाएको छ।

त्यस्तै, पर्सासँगै जोडिएको छिमेकी कलैया उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीको कारणले तीन दिन बिदा दिने निर्णय गरेको छ।

कलैया उपमहानगरका नगर शिक्षा शाखा प्रमुख राजीवकुमार यादवले अत्यधिक गर्मीको कारणले महानगरअन्तर्गतका केही विद्यालयमा अध्ययरत विद्यार्थीहरूमा समस्या देखिएकाले जेठ २८ देखि ३० गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बताए।

उपमहानगरका अनुसार असार १ गतेदेखि भने विद्यालय निर्वाध रूपमा सञ्चालन हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार