विराटनगर, २७ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति पनि एमालेबाटै बनेको बताएकी छिन् ।
उनले अन्य वामपन्थी र साना दलले साथ दिँदा पनि कांग्रेसले राष्ट्रपति निर्वाचनमा सर्वसम्मत बनाउन नचाहेको गुनासो गरिन्।
मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘मान्छेहरू पार्टी छोड्छन्। म चाहिँ त्यस्तो व्यक्ति हो जहाँ जन्मे, हुर्किएँ आजसम्म एउटै लाइनमा छु, पहिलेदेखि नै वामपन्थी आन्दोलनमा लागियो। त्यसको पनि एउटा खास धार, एउटा संगठन हामी आयौं, अहिलेसम्म पनि। म राष्ट्रपति हुँदासम्म पनि नेकपा (एमाले) ले प्रस्ताव गरेर अरु वापमन्थी र अरु क्षेत्रीय पार्टीहरुले समेत समर्थन गरेर म देशको राष्ट्रपति भएको हुँ।’ उनले थपिन्, ‘राष्ट्रपतिको निर्वाचनमा पनि अहिले जुन गठबन्धन छ, नेकपा (एमाले) र नेपाली कांग्रेसको, नेपाली कांग्रेसले कहिले पनि मलाई भोट दिएन। बरु माओवादीहरुलाई दियो, सभामुखहरुको चुनावमा, अरु प्रसंगहरुमा। तर लोकतान्त्रिक पार्टी भन्ने नेपाली कांग्रेसले मलाई चाहिँ भोट दिएन। राष्ट्रपति त एक जना हुने हो, जित्ने स्थिति थिएन, सर्वसम्मत गराउँदाखेरि के हुन्थ्यो र ? पार्टीगत रुपमा हेर्दा खेरि त म जुन पार्टीबाट जन्में, हुर्कें र यो स्थानमा पुगें। त्योभन्दा फरक त सोच्न सकिने कुरा भएन।’
‘जनताको आकांक्षा बुझ्न म लागेको छु। म देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन।’
सञ्चारकर्मीले तपाईं पूर्व आउँदा काठमाडौंतिर किन भूइँचालो जान्छ भनेर प्रश्नमा उनले भनिन्, ‘पूर्वमा म दुइटा कार्यक्रमको सन्दर्भमा आएको हो। पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय स्तरको कार्यक्रम थियो, त्यसको सन्दर्भमा म आएको हुँ। अर्को चाहिँ हाइस्कुलका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका थिए। मलाई पनि रुचि थियो उहाँहरूले बोलाउनुभयो र आएँ। चिनजान ठूलै छ, समाजका अरु अरु क्षेत्रहरुमा पनि चिनजान हुन्छ। जनताको आकांक्षा बुझ्न म लागेको छु। म देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन।’
उनले आफूले कुनै गुटगत राजनीति नगरेको बताइन्। उनले भनिन्,‘मैले कुनै व्यक्तिगत आकांक्षा राखेको त छैन। म चाहिँ राष्ट्रिय आकांक्षा पूरा गर्न जहाँ जसरी हुन्छ त्यो काम गर्ने हो।’