बुधबार, फाल्गुन ७ २०८१
कतार,कतारका लागि नवनियुक्त राजदूत रमेशचन्द्र पौडेललाई नेपाल व्यवसायी संघ कतारले १३ बूँदे ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईको नेतृत्वमा मंगलवार नेपाली दूतावास पुगी नेपाल सरकार र नेपाली दूतावास कतारले तत्काल तथा दीर्घकालीन गर्नुपर्ने कामका बारेमा राजदूत पौडेलको ध्यानाकर्षण गराएको हो ।
कतार र नेपालको कुटनैतिक सम्बन्ध विस्तार गर्दै नेपाल र नेपालीलाई फाइदा पुग्ने काम गर्नका लागि दूतावास आफैलाई र दूतावासमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष चम्लागाईले जनसवालसङ्ग बताए ।
संघले विश्वमा प्रमुख लगानीकर्ता राष्ट्रको रूपमा चिनिएको कतारसँग कूटनैतिक सम्बन्ध स्थापित भएको करिब पाँच दशक पुग्न लाग्दा पनि लगानीमा आकर्षित गर्न नसक्नु नेपालको आफ्नै कमजोरी भएकाले नेपालका तर्फबाट आर्थिक कूटनीतिका क्षेत्रमा पहल गर्न ध्यानाकर्षण गराएको हो ।
नेपाली दूतावासले नेपालमा लगानीका लागि उपयुक्त लगानी क्षेत्र पहिचान गरेर कतारबाट नेपाल र नेपालको उत्पादनहरुलाई कतारमा ल्याउन तत्काल पहल गर्न संघले दूतावासलाई आग्रह गरेको छ ।
संघले आफ्ना १३ बूँदे ध्यानाकर्षण पढेर सुनाएपछि राजदूत पौडेलले आफ्नो कार्यकालमा सबै जायज माग तथा सुझावलाई कार्यान्वयन गर्न प्राथमिकताका साथ लाग्ने प्रतिवद्धता जनाए । राजदूत पौडेलले नेपाली व्यवसायी संघबाट धेरै राम्रा सुझाव तथा मागहरु आएको जनाउदै कार्यान्वयनका लागि दूतावासमार्फत नेपाल सरकार समक्ष पनि पहल गर्ने बताए ।
कतारमा विभिन्न व्यापार व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरू माझ आपसी सहयोग र समन्वय गर्ने, व्यवसायीक हक अधिकार सुरक्षित गर्नुका साथै नेपाल र कतारको व्यापारीक सम्बन्धलाई सुदृढ गर्ने उद्धेश्यका साथ नेपाल व्यवसायी संघ, कतार सन २०१८ मा स्थापना भएर सक्रियता पुर्वक काम गरिरहेको छ । कतार सरकारमा आधिकारिक दर्ता भई संचालनमा आइरहेको संघले अहिलेसम्म मानवीय, सामाजिक तथा आर्थिक विकासमा धेरै काम गरिसकेको छ ।
नेपालमा बैदेशिक लगानी प्रवर्धन गर्नुका साथै नेपाली उत्पादनहरुलाई बैदेशिक बजारमा प्रवर्धन गर्नका लागि नेपाल सरकार र नेपाली राजदूतावास कतारले तत्काल तथा दीर्घकालीन गर्नुपर्ने कामका बारेमा नेपाल व्यवसायी संघ कतारले महामहिम राजदूत रमेशचन्द्र पौडेलज्युलाई अनुरोधपत्र पत्र मार्फत ध्यानाकर्षण गराएको संघका महासचिव शंकरप्रसाद न्यौपानेले बताए । राजदूत पौडेलसँगको भेटमा संघका उपाध्यक्ष नरेन्द्र भाट, महासचिव शंकरप्रसाद न्यौपानेलगाएतको उपस्थिति रहेको थियो ।
नेपाल व्यवसायी संघका १३ बूँदे ध्यानाकर्षण तथा सुझावहरु :
१. ठूलो संख्यामा (हाल ३ लाख ६४ हजार) हाम्रो कर्मभूमी कतारमा रहेका नेपालीहरुको लागि स्थानीय स्तरमा एक नेपाली वैंक स्थापना हुन सकेमा आवश्यक संपूर्ण कारोवार नेपाली वैंकबाटनै हुने र नेपाली कामदार एवं व्यवसायीहरुलाई सरल हुनुका साथै राष्ट्रलाईनै फाइदा हुने हुँदा यसको सम्भावनालाई कार्यान्वयन गर्न सुझाव राख्दछौं ।
२.विदेशबाट नेपाल फर्किएका नेपालीहरु वा व्यवसायीहरुलाई नेपालमा व्यवसाय संचालनमा आकर्षित गरी स्वदेशमानै रोजगार श्रृजनाको लागि छुट्टै लगानी मैत्री कानूनको निर्माण गरी सरलता प्रदान सहित नेपालमानै उद्योग, कल कारखाना, वैंकिङ्ग, शिक्षा, स्वास्थ्य, पर्यटन तथा विद्युतीय क्षेत्रमा विदेशमा रहेका वा विदेशबाट फर्किएका नेपाली हरुको लगानीलाई प्रोत्सान गरी राष्ट्र संवृद्धिमा आर्थिक क्रान्तिको उद्धेश्यलाई सार्थकता दिन सुझाव राख्दछौं ।
३.औद्योगिक अनि व्यावसायिक सम्भावनाको लागि अत्यन्त अगाडि रहेको हाम्रो देशमा आर्थिक भारमा विप्रेषण (रेमिट्यान्स) को महत्वपूर्ण भुमिका रहेको छ । विदेशमा खर्चिएको श्रम, सीप र व्यवसायबाट आएको विप्रेषणलाई अविलम्व उपयोग गर्न सरकारले ढिलो गर्नु हुदैन । त्यसैले विदेशमा रहेका व्यवसायीहरुको लगानीलाई उचित व्यवस्थापन र सदूपयोग गर्न ठोस नीति नियम सरकारले नेपाल उद्योग वाणिज्य महासंघ लगायतका वाणिज्य निकायहरु संग समन्वय गरी सहजताका लागि नयाँ नीति तय गरोस् भन्ने सुझाव राख्न राख्दछौं । त्यसैगरी विदेशबाट सबैभन्दा धेरै रेमिट्यान्स स्वदेश पठाउनेलाई सरकारको तर्फबाट सम्मान गर्नका लागि समेत विशेष सुझाव छ ।
४.पर्यटन प्रवद्र्धन र नेपाली उत्पादनहरुलाई वैदेशिक बजार प्रवद्र्धनको लागि नेपाली राजदूतावासमा लगानी डेस्क, पर्यटनदूत र वाणिज्यदूतको मनोनयन गरी जिम्मेवारी सहित कार्य निर्दिष्ट गर्ने र उक्त कार्यको प्रभावलाई सरकारको उच्चस्तरीय निकायबाट अनुगमन गर्न सुझाव राख्दछौं ।
५.हवाई ढूवानीलाई सहज र सरल वनाउदै एयर कार्गो व्यवस्थापनलाई चुस्त साथै सुलभ बनाउनु पर्छ जसको कारण व्यवसायीहरुलाई थप व्यापार प्रती आर्कषण गर्न सकिन्छ ।
६.पर्यटक र विदेशी लगानी कर्ताहरुको पहिलो नजर एयरपोर्ट भएको कारण अध्यगमन व्यवस्थापनलाई अत्यन्त सहज अनि आगमन र गमनमा सरल गराउनु पर्छ ।
७.विदेशी वा स्वदेशी लगानीकर्ताहरुको सहजताको लागि संपूर्ण कानूनी प्रकृया र कागजातहरुमा सरलता वनाईनुका साथै आन्तरीक मन्त्रालय वा सरकारी निकायहरुको अन्तर सम्वन्ध वनाई एकीतृत गरी सवै काम एकै ठाउँबाट गर्न सकिनेको व्यवस्थापन गर्नु पर्छ जसले गर्दा संपूर्ण प्रकृया एकै ठाउँबाट पूरा गर्न सकियोस ।
८.वैदेशिक लगानीकर्ताहरुलाई आकर्षण गर्नको लागि विषेशत वैदेशिक लगानी आयकरलाई कानूनतय केही न्यून गरेमा अन्तर्राष्ट्रिय स्तरमा सकरात्मक प्रभाव पर्दछ ।
९.लगानी विषेज्ञहरुको वृहत अन्र्तक्रिया गरी स्पष्ट लगानीको क्षेत्र पहिचान र सम्भावित वजेट निर्धारण गरी सरकारको आधिकारिक वेभसाईटमा जानकारी प्रवाह गर्नुपर्छ । कतार जस्तो ९० राष्ट्रका नागरिकहरु वस्ने देशमा सरकारी स्तरबाटनै लगानी प्रवद्र्धन सम्वन्धी सेमीनार अविलम्व गरेमा लगानीको सम्भावना वढ्ने देखिन्छ ।
१०.मध्यपूर्व लगायतका लगानीकर्ता र पर्यटकहरुलाई आकर्षण गर्नको लागि तारे होटलहरुमा हलाल फुडको व्यवस्थापनदेखि पर्यटकीय क्षेत्रहरुमा पनि यसको पहूँच गराउन सकेमा मध्यपूर्वका पर्यटकहरुलाई आर्कषण गर्न सकिन्छ ।
११.कतार र अन्य विदेशी वहुर्राष्ट्रिय लगानीकर्ताहरुको सहजतालाई मध्यनजर गर्दै सरकारी स्तरबाट गर्नु पर्ने कार्यहरु जस्तै नितिगत स्थायित्व, पूर्वाधार विकास, सरल कानूनको निर्माण, लगानी र लगानीकर्ताहरुको सुरक्षा, मानव संसाधन विकासमा जोड गर्दै राजनैतिक स्थायित्व हुनु आवश्यक पर्दछ ।
१२. नेपाल जस्तो विविधतामा एकता भएको वहुसाँस्कृतिक देशमा अन्तर्राष्ट्रिय पर्यटकहरुको हव वनाउन धेरै कार्यहरु गर्न सकिन्छ । उदाहरणको लागि लुम्विनी जस्तो ऐतिहासिक ठाउँ जहाँ लाखौं पर्यटकहरुलाई स्वागत गर्न सकिन्छ उक्त स्थानमा अन्तर्राष्ट्रिय स्तरको वौद्ध महोत्सव गरी विश्वभरका लाखौं वौद्धमार्गीहरुलाई लुम्विनीमा स्वागत गर्न सकिन्छ ।
१३, कतारमा नेपाल झल्कने ‘नेपाल हाउस’ संचालन गर्न अति आवश्यक छ । नेपालको कला, संस्कृतिमात्र होइन देशबाहिर नेपाल चिनाउनका लागि नेपाल हाउस खोल्नु पर्छ ।
संघले विदेशमा रहेका नेपाली व्यवसायीहरु जसले संमृृद्ध नेपालको परिकल्पना गरेका छन उनीहरुकोे संकल्पलाई सार्थकतामा परिणत गर्नको लागि आफ्ना माग र सुझावहरुलाई यहाँले अध्ययन गरी समग्र जन्मभूमिकोे समृद्धिमा अग्र पंक्तिमा रहन सकौं भन्ने आफ्नो विश्वास र सुभेक्षा रहेको अवगत गराउन चाहेको जनाएको छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij