सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

इमानदार नेतृत्वको खाँचो 

मंगलबार, माघ १ २०८१

–दीपक सुवेदी ‘विप्लव’ / २५० वर्ष अगाडिदेखि सार्वभौम राष्ट्रको रूपमा चिनिएको देश नेपालमा विश्वकै सर्वोच्च शिखर सगरमाथा छ । शान्तिको प्रतीक भगवान् गौतम बुद्धको जन्म पनि यही देशमा भयो । हिमालै हिमाल र मन्दिर नै मन्दिरले भरिएको देशमा जल र जडीबुटीको सम्भावना पनि उस्तै प्रचुर छ । हिमाल, पहाड, तराई गरी बाँडिएको, ३०–३५ मिनेटको फरक ठाउँमै फरक फरक मौसम भएको नेपाल किन विकास हुन सकेन ? कतिपय दोस्रो विश्वयुद्ध पछि नामकरण भएका देश भन्दा पनि कमजोर अवस्थामा रह्यो ? भष्टाचार र अनियमितताले चुर्लुम्म डुबेको देश नेपाल कर्मचारीतन्त्र र विभिन्न ठाउँमा सिन्डिकेटले गुज्रिएर कहिने माथि उठ्ने ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति फराकिलो बनाउन किन भएन ? प्रश्नको सूची लामो छ । सरकारले विदेशी बहु प्रतिष्ठित कम्पनीहरू नेपालमा आउने वातावरण बनाएको देखिँदैन । यस्तै विदेशीहरुलाई लगानी भित्र्याउन खुकुलो नीति र प्रोत्साहन पनि गरेको देखिँदैन । सँगै हामीले रोजेको राज्य व्यवस्थामा सरकारले निजी क्षेत्र र उद्यमी नागरिकहरूलाई काम गर्ने अनुकूल वातावरण बनाइएको देखिँदैन । तर देश निर्माणका लागि विदेशी लगानी भित्र्याउन राज्यले आवश्यक नीति, नियम तर्जुमा गरिदिने र सहजीकरण गरिदिनुपर्ने आजको आवश्कता हो ।
नेपालको राजनीतिक अस्थिरता कायमै रहनु तथा स्वार्थको राजनीतिक समीकरणका आधारमा बनेको सरकार कहिल्यै पनि सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध नेपाल निर्माण हुन सक्दैन । सर्वसाधारण जनताले सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध नेपालको चाहना राखेपनि त्यो पुरा हुन सकेको छैन । नेपालको आर्थिक इन्डिकेटरहरु निरन्तर घट्दो क्रममा रहेको परिस्थितिमा रोजगारीको समस्या पनि उस्तै छ । जसका कारण दैनिक करिब १२०० देखि १५०० सम्म नेपाली बिदेसिनुपर्ने बाध्यता रहेको छ । अधिकार र सुधारिएको व्यवस्थाका नाममा नेपालमा विभिन्न समयमा विभिन्न किसिमका आन्दोलन तथा जनआन्दोलन भए । जसको नतिजास्वरुप व्यवस्था त बदलियो तर अवस्था परिवर्तन हुन सकेको छैन । निरङ्कुश राजतन्त्र हुँदा होस् वा जहानियाँ राणाशाही, निर्दलीय पञ्चायती व्यवस्था हुँदा होस् वा बहुदलीय संसदीय लोकतन्त्र वा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र–कुनै प्रणालीले पनि देशलाई सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध नेपाल बनाउने बनाउनतर्फ अग्रसर नहुनु दुःखको कुरा हो ।
यसका लागि हाम्रो नेतृत्व कहाँ चुक्यो । यहाँ भन्न खोजेको के हो भने विश्वका कतिपय नेताहरूकै पहलमा देशले सफलताको शिखर चुम्यो । प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने अमेरिकी प्रणालीमा जर्ज वासिङ्टन, अब्राहम लिङ्कन, फ्राकलिन डी रुजबेल्ट जस्ता दर्जन बढी सफल र असल राष्ट्रपतिको उदय भयो । अर्कोतिर संसदीय प्रणालीबाट बेलायतका वेष्टन चर्चिल, भारतका जवाहरलाल नेहरू, सिंगापुरका लि क्वान यु र न्युजिल्याण्डकी ज्यासिन्डा अर्डन जस्ता नेता उदाए । एकदलीय कम्युनिस्ट प्रणालीबाटै किन नहोस् चीनमा देङ सियाओ पिङ उदयले आधुनिक चीन बन्न सफल भयो । बुझ्नुपर्ने कुरा के हो भने व्यवस्थाका साथसाथै राजनीतिक नेतृत्वको दृढ इच्छाशक्ति पनि मूल जिम्मेवार विषय हो । कुनै पनि देशमा संविधान अनुसार सुशासनको संस्कार चलाउने अधिकार भएको प्रमुख व्यक्ति भनेकै सरकार प्रमुख हो । सरकार प्रमुख वा शासकले देशको सुशासन चलाउन र अर्थतन्त्र विकास गर्न दह्रो कडा अडान लिन सक्नुपर्छ । तर हाम्रा सरकार प्रमुखले देश र जनताका पक्षमा के गरे भन्ने समीक्षा जरुरी छ । विभिन्न इतिहासले हामी सबैलाई र विशेष गरी २०४६ देखि२०८१ सरकारको नेतृत्व गरिरहेका र सरकारको हालीमुहाली गरिरहेका नेता र तिनका राजनीतिक दलका नेतामाथिको प्रश्न हो यो ।
दक्षिण कोरियाका पार्क चुङ्ग हि, सिङ्गापुरका ली क्वान–यिउ, मलेसियाका महाथिर महम्मद, चीनका तङसियाओ–फिङ, इजरायल लगायत एसियाली देशहरूले छोटो समयमा गरेको अर्थतन्त्रको द्रुत विकासका नमुना हेर्ने र त्यसलाई काँटछाँट गर्ने तथा देशको आवश्यकता अनुसार अनुसरण गर्नुपर्नेमा त्यसो गरेको देखिँदैन । यस्तै दक्षिण अफ्रिकाका नेल्सन मण्डेला लगायत विभिन्न देशका १९४५ पछिका द्रुत विकासतर्फ फड्को मारेका देशहरू क्यानडा, अमेरिका, जापान, अस्ट्रेलिया , बेलायत लगायत बिकसीत देशको प्रगति हाम्रो नेतृत्वले देखेका र महसुस गरेकै हुनुपर्छ । यसतर्फ बौद्धिक समूह, मानवअधिकारवादी, सञ्चार क्षेत्र सबैले दबाब दिँदै देशलाई कायापलट गराउने नेतृत्व तयार गर्न आवश्यक छ । यदि बेलैमा सही नेतृत्व नआउने र जनस्तर र सरोकारवालाबाटै खबरदारी नहुने हो भने नेपाल देश बन्ला र जनतामा समृद्धि आउला, सुखी र खुसी जीवन बिताउँला भन्ने आशा आशामै सीमित नहोला भन्न सकिन्न । नेपाल बनाउन स्थिरता दिने राजनीतिक व्यवस्था र दूर दृष्टि नेताको आवश्यकता छ । खाली बिपी कोइराला, गणेशमान, किशुनजी, मदन भण्डारी, पुष्पलाल भन्दै भजन गाइरहने र देश बनाउन सिन्को पनि नभाँच्ने प्रवृत्ति अँगाल्ने होइन, देश बनाउनका लागि इमानदार र सक्षम नेतृत्व अहिलेको आवश्यकता हो ।
सुवेदी गैरआवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति कान्तोका उपसंयोजक हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार