सरकारले संविधानप्रदत्त अधिकार खोस्यो : सबै सहकार्य गरेर एनआरएनएको अधिकार फिर्ता गराऔ
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले गैरआवासीय नेपालीको संविधाप्रदत्त अधिकार सरकारले खोसेको आरोप लगाएका छन ।शुक्रबार नेपाल सरकारले विदेशमा बस्ने गैरआवसीय नेपाली नागरिकताप्राप्त व्यक्तिलाई एकपटकमा दश वर्षसम्मको बहुप्रवेशी गैरआवासीय भिसा निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको थियो । सरकारले अध्यादेशमार्फत गैरआवसीय नेपाली नागरिकताप्राप्त व्यक्तिलाई १० वर्षसम्म निःशुल्क भिसा दिने व्यवस्था गर्न लागेको छ।तर, सरकारको यो कदमप्रति अधिकांश गैरआवासीय नेपालीले असन्तुष्टि जनाएका छन ।
महासचिव जोशीले गैरआवासीय नेपाली नागरिकता लिएपछि नेपाल आवत–जावत गर्दा भिसा लिनुपर्ने व्यवस्था नै गलत भएको बताए ।
लगानीमा पनि विभेदपूर्ण नीति लिइएको जोशीको आरोप छ।
उनले भने, ‘विशेषगरी घरजग्गाको लगानी नीतिले नेपाल सरकार तथा राजनैतिक पार्टीहरू गैरआवासीय नेपालीहरूप्रति कति अनुदार छन् भन्ने स्पष्ट पारेको छ।’
जोशीले यि विधेकहरू परिमार्जन गर्न सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई एक ठाउँमा उभिएर दबाब सिर्जना गर्न आग्रह समेत गरेका छन् ।
जोशीले आफूहरूको लबिङ एक पटकको नेपाली सधैँको नेपाली भन्ने रहेपनि सरकारले १० वर्षका लागि निःशुल्क भिसा गर्ने भन्ने प्रावधान ल्याउनु गैरआवासीय नेपालीको चाहनाविपरीत भएको टिप्पणी गरेका हुन् ।
यता एनआरएनए केसि समुहका अध्यक्ष बद्री केसीले भने सरकारको निर्णय सकारात्मक भएको प्रतिक्रिया दिएका छन । उनले यो आफ्नो पहलबाट भएकोसमेत बताउदै आएका छन ।
नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको हो ।