काठमाडौं(जस)–लक्ष्मी सनराइज क्यापिटल लिमिटेड शिवशंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडले जारी गर्न लागेको आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । शिवशंकर हाइड्रोले सर्वसाधारणका लागि रु सय अंकित दरका २५ लाख कित्ताले हुन आउने रु २५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्दैछ । सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।
शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रालि र जय गणेश इन्भेष्टमेन्ट प्रालि एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । जसले मुख्यतया जलविद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।
हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट),बुंगल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलविद्युत कम्पनीहरुमा लगानी गरेको छ । उल्लेखित कम्पनीहरुमध्ये पहिलो तीन कम्पनीहरु सञ्चालनमा आईसकेको र प्राथमिक सेयर निष्काशनको प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण सेयर निष्काशन पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५ करोड पुग्नेछ ।