काठमाडौं(जस)–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ३८ लाखभन्दा बढी यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कुल २८ हजार ८२ उडान–अवतरणमार्फत ३८ लाख २७ हजार ३११ यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार सन् २०२४ को १० महिनामा जसमध्ये २१ लाख ४६ हजार १८७ यात्रु बाहिरिएका छन् भने १८ लाख ४६ हजार १८७ यात्रु भित्रिएका छन् ।
‘सन् २०२४ को अक्टोबरसम्म ३८ लाखभन्दा बढी यात्रुले बाह्यतर्फको उडान सेवा लिएका छन्’, उनले भने, ‘अक्टोबरमा मात्रै गत वर्षभन्दा ६० हजारभन्दा बढी यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन् ।’ सन् २०२३ को अक्टोबरमा चार लाख ६२ हजार २४० यात्रुले ओहोरदोहोर गरेका थिए भने सन् २०२४ को सोही अवधिमा पाँच लाख आठ हजार ११६ यात्रुले हवाई सेवा लिएका छन् । अहिले विमानस्थल विस्तारको काम जारी रहेकाले अर्को वर्ष थप उडान र यात्रुको सङ्ख्यामा थप बढोत्तरी हुने उनले बताए । विमानस्थलमा अन्तर्राष्ट्रिय पार्किङ वे, ह्याङ्गर निर्माण र समानान्तर ट्याक्सी वे विस्तारको काम तीव्र गतिमा अगाडि बढेको जानकारी दिँदै हाल राति १० बजेपछि हुँदै आएका छ वटा उडान बन्द भए पनि हवाई यात्रुको सङ्ख्या भने यथावत् नै रहेको उनको भनाइ छ ।
प्राधिकरणका अनुसार सन् २०२४ को जनवरीमा दुई लाख पाँच हजार ६५, फेब्रुअरीमा तीन लाख ९५ हजार ३७४, मार्चमा चार लाख ५४ हजार ६८९, अप्रिलमा चार लाख ५० हजार ४५२, मेमा पाँच लाख एक हजार ६६, जुनमा तीन लाख ६३ हजार ५९१, जुलाईमा तीन लाख ५६ हजार ४४, अगस्टमा तीन लाख ५८ हजार ३८८, सेप्टेम्बरमा दुई लाख २७ हजार ५५३, अक्टोबरमा पाँच लाख आठ हजार ११८ यात्रुले बाह्यतर्फको हवाई सेवा लिएका छन् ।अन्तर्राष्ट्रियतर्फ यस वर्ष सबैभन्दा बढी यात्रु बोक्नेमा कतार एयर रहेको छ । कतार एयरवेजले करिब १९ सय उडान–अवतरणमार्फत पाँच लाख यात्रु बोकेको छ । दोस्रो नम्बरमा रहेको नेपाल वायु सेवा निगमले २३ सय ८० उडान अवतरणमार्फत करिब पाँच लाख यात्रु बोकेको छ । पछिल्लो समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत समेत विदेश उठान हुँदै आएको छ । यसरी विदेसिनेमा भ्रमण, अध्ययनसहितका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो दिन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,१०,६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९,९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ११३,३९७ र ४९,२९७ रहेको थियो । यस आधारमा श्रमिक पनि निकै बाहिरिइरहेका छन् । राष्ट्र बैंककै तथ्यांकअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई रु.४०७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।