काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रवास एसिया समितिको परामर्श बैठकमा अधिकांश उपस्थितले नेतृत्वमाथि नै प्रश्नै प्रश्न उठाएका छन । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी, विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच भएको जुम बैठकमा प्रवास समितिका नेताहरूले प्रश्नै प्रश्न उठाएका हुन । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको पहिलो सरकारले केही गर्न नसकेपनि दोस्रो र तेस्रो कार्यकालमा धेरै काम गरेको बताए ।
बैठकमा उपस्थित एक पदाधिकारीका अनुसार अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने विषय स्थायी समिति बैठकले नै खारेज गरेको र आएका सुझावलाई समेटेर केन्द्रीय समिति बैठकमा पेस गर्ने प्रतिबद्धता जनाएका थिए ।
पहिलो सरकारमा केही गर्न नसकेपनि मध्य पहाडी राजमार्ग हामीले बनायौं । मदनभण्डारी राजमार्ग हाम्रै पालामा बनेका हुन प्रचण्डले बताएका थिए । किसानलाई ३० हजार छुट दियौं । दोस्रो कार्यकालमा देशलाई लोडसेडिङ मुक्त गर्यौँ । तेस्रो कार्यकालमा सुशासनको आँधिबेहोरी ल्यायौं’, प्रचण्डको भनाइ उदृद्ध गर्दै ती पदाधिकारीले भने, ‘सबैको सुझावलाई समेटेर केन्द्रीय समिति बैठकमा दस्तावेज पेस गर्छु । पार्टीभित्र सुझाव आउनु राम्रो हो । एमालेले भष्ट्रचारीलाई जोगाउन सरकारको नेतृत्व गरिरहेको छ । अहिले पार्टीको निसाना एमालेमै रहेको प्रचण्डले बताएका थिए ।’
उक्त बैठकमा उपाध्यक्ष एवं प्रवास समितिका इन्चार्ज पम्फा भुसालले सरकारबाट पार्टी बाहिरिँदा माओवादीको इमेज ह्वात्तै बढेको, जनलहर सिर्जना भएको बताएकी थिईन ।
बैठकमा उपस्थित एक सदस्यका अनुसार उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउन नभइ एकताबद्ध बनाउन र नेतृत्व विकास गर्न फरक मत राखेको विचार व्यक्त गरेका थिए । साथै, संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका थिए । बैठकमा प्रवास सहइन्चार्ज ओम शर्माले भुसाल इन्चार्ज भएर आएपछि समिति एकताबद्ध भएर काम गरिरहेको धारणा राखेको ती सदस्यले जानकारी दिए ।
राम्रो काम गरे अध्यक्षलाई समर्थन छँदै छ । पार्टीभित्र फरक मत राख्दैमा आत्तिन पर्दैन । सचिवालय खारेज गर्नुपर्छ । यथास्थितिमा पार्टी चल्दैन । पार्टी रुपान्तरणसहित जनतामा जानुपर्यो’, सहइन्चार्ज शर्माको भनाइबारे ती सदस्यले बताए ।
एशिया प्रवास समितिका संयोजक शनिकुमार ओलीले पार्टीमा चुन्ने र चुनिने प्रक्रिया थालनी गर्नुपर्ने तथा उनले युवाहरुलाई पार्टीमा ठाउँ दिनुपर्ने धारणा राखेका थिए । ओलिले पार्टीले सरकार छाडेर राम्रो काम गरेको ओलिले बताए । सहसंयोजक हरि नेपालीले जनयुद्धमा लागेका धेरै योद्धाहरु खाडी मुलुकमा रहेकाले उनीहरुलाई फर्काउन पार्टीले नयाँ नीति तथा कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए । बैठकमा सचिव भवानी पन्तले पार्टीभित्र गुटबन्दीको अन्त्य हुनुपर्ने र प्रवासका समस्यामा नेतृत्वको ध्यान जानुपर्ने सुझाव दिए।
अर्का केन्द्रीय सदस्य डिबी क्षत्रीले पार्टी बैठक श्राद्ध गरेजस्तो नभएर व्यवस्थित गर्न आवश्यक रहेको जनाउदै धेरै सुधार ल्याउनु पर्ने बताए । केन्द्रीय सदस्य डा भूपालमान श्रेष्ठले जनता निरास भएकाले युवाहरुलाई समेट्न नेतृत्वले नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए ।
बैठकमा केही सदस्यले पार्टी महासचिवले नै गुटबन्दी गरेको भन्दै प्रश्न उठाए । नेताहरूले सरकारमा हुँदा राजदुत नियुक्त नगरेको, भएका राजदूत पनि अन्यलाई दिएको, सरकारमा रहँदा आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि पोखेका थिए । अब पुरानै तरिकाले पार्टी नचल्ने भन्दै सच्चिएर अगाडि बढ्नुपर्ने उनीहरूको सुझाव रहेको थियो ।
बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्निप्रसाद सापकोटा, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेल र शक्ति बस्नेत लगायत नेताहरू समेत सहभागी रहेका थिए ।