तिलु शर्मा पौडेल
दोहा कतार / सन् २००३ मा कतारमा स्थापित म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) कतारको आयोजनमा रमाइलो तिज कार्यक्रम-२०२४ सम्पन्न भएको छ l कतारदेखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको मोनाले विगत ३ वर्षदेखि हरितालिका तिजको अवसर पारेर रमाइलो तिज कार्यक्रमको गर्दै आइरहेको छ l मोनाले यस पटक म्याग्देली भेला, सम्मान तथा तेस्रो रमाइलो तिज कार्यक्रम –२०२४ सङ्घका अध्यक्ष राजु पौडेलको सभापतित्व तथा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो l
कार्यक्रमलाई बिधिबत रूपमा ब्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रिय गान सहित अगाडी बढाइएको थियो l शुक्रवार प्लाजा मलमा रहेको सेन्चुरी रेस्टुरेन्टको सभा हलमा सम्पन्न कार्यक्रमका लागि साङ्गीतिक प्रस्तुति दिन नेपालबाट कतार सम्म आएकी म्याग्देली चेली तथा राष्ट्रिय ख्याति प्राप्त लोक तथा दोहोरी गायिका निरुता पुनले धमाका मच्चाइन l उनले आफू जीवनमा पहिलो पटक साङ्गीतिक प्रस्तुति दिन कतार आएको बताउँदै आयोजक प्रति आभार व्यक्त गरिन l पुनले तिज गीत हेर न मै राम्रो छैन र, सालैजो, घुम्ती घुम्ती रोड लगायत आधा दर्जन गीतहरू गाइन l कतारमा रहेकी म्याग्देली थाली नृत्यङ्गना यमुना पटेल, सृजना घताने, यजु सेवाले आफ्ना नृत्य पेस गरे l देवी कँडेल र पटेलले दिदी भाइको कथामा आधारित रहेर तिज गीतमा पेस गरेको गीति नाटक आकर्षणको केन्द्र बनेको थियो l
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फगामीले कतारमा रहेका सबैले आफ्नो श्रम स्वीकृति चेक गर्न र समयावधि सकिएको र नवीकरण गर्न असहज भएमा आफूलाई सम्पर्क गर्न अनुरोध गरे l उनले प्रवासमा हुन् सक्ने भवितव्य प्रति लक्षित गर्दै श्रम र इन्सुरेन्स श्रमिकका लागि अति महत्त्वपूर्ण रहेको बताए l कार्यक्रम मार्फत मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोषको आजीवन र संरक्षक सदस्यता प्रमाण पत्र वितरण समेत गरिएको थियो l आफ्नो शुभकामना मन्तव्य राख्दै कोषका अध्यक्ष विक्रम कार्कीले कोषको आजीवन र संरक्षक सदस्यता खुल्ला रहेको बताउँदै अक्षयकोषमा आबद्ध भई अक्षयकोषसँगै हातेमालो गरी सामाजिक कार्यमा पाइला बढाउन अनुरोध गरेका थिए । विशेष गरी कतारमा रहेका म्याग्देली चेलीबेटीहरूलाई समेटेर कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा समिति संस्था तथा व्यक्तिहरूलाई निमन्त्रणा गरिएको थियो l

महिला विभाग संयोजक टिका माया रोकाले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभापति पौडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरे l संस्थामा प्रत्यक्ष जोडिन नसके पनि संस्थाको फेसबुकमा जोडिन आग्रह गर्दै हरेक दुखमा मोना कतार सदैव साथ रहने बताए l कार्यक्रम अक्षयकोष र महिला विभागको आयोजना तथा मोना कतारको सांस्कृतिक विभाग र खेलकुद विभागको सह–आयोजनमा सम्पन्न भएको हो l नेपालबाट आमन्त्रित गायिका पुनलाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान पत्रले सम्मान गरिएको थियो भने मोना कतारका खेलाडीहरूलाई खादा र कार्यक्रममा प्रस्तुति दिने अन्य कलाकारलाई नगद पारिश्रमिक सहित सम्मान गरिएको थियो l