काठमाडौं(जस)–ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको औपचारिक भ्रमणका शिलसिलामा सोमबार काठमाडौँ आइपुगेका छन् । उनी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा काठमाडौँ आइपुगेका हुन् । भ्रमणका दौरान दुई विदेश मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ ।
ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । परराष्ट्र सचिव सेवा लम्सालले साउन २१ गते ओमान गएका बेला विदेशमन्त्री अल्बुसैदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् ।
उनको बसाई सोल्टी होटलमा रहेको छ भने बिहान परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटघाट गर्नुका साथै दुई पक्षीय सम्बन्धको विषयमा छलफल हुने सचिव लम्सालले जानकारी दिइन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटघाट गरी त्यही दिन साँझ उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
नेपालमा ओमनको दूतावास खोल्ने पहल भइरहेको छ । यस्तै श्रम सम्झौताबारे पनि कुरा भइरहेको छ । यस्तो अवस्थामा ओमानबाट भएको उच्चस्तरीय भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सन् १९७७ देखि दुई देशबिच सम्बन्ध रहँदै आएको छ । तर नेपालमा ओमनको दूतावास छैन । भारतमा रहेको ओमनको दूतावासले नै नेपाललाई हेरिरहेको छ । परराष्ट्र सचिव लम्साल ओमन भ्रमणमा गएका बेला नेपालमा पनि दूतावास खोल्न आग्रह गरेकी थिइन् । ओमनमा २१ हजारभन्दा बढी नेपाली श्रमिक त्यहाँ कार्यरत छन् ।
श्रम रोजगारलगायतका विषयमा पनि दुई पक्ष बिच भेटघाट हुने बताइएको छ । दुई पक्षीय छलफलमा आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा उपयुक्त सम्भावनाको खोजीको विषयमा पनि छलफल हुने बताइएको छ । दुई पक्षबीचमा निजी क्षेत्र लगायत विभिन्न सहयोग तथा साझेदारीको बारेमा पनि कुराकानी हुने मन्त्रालयले जनाएको छ ।