काठमाडौं(जस)–सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौराको अवसरमा राजधानीको टुँडिखेलमा एक कार्यक्रमका आयोजना गरिएको थियो । गौरा पर्व मनाउनकै लागि आयोजना गरिएको सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नमिठो अनुभूति भएको छ । कार्यक्रममा सहभागी एक समूहले ओलीको विरोध गर्दै चर्को नाराबाजी गरेपनि अवस्था असहज भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
एक समूहले बालेन शाह र नयाँ पार्टीको समर्थन गर्दै ओलीविरुद्ध चर्को नाराबाजी लगायो भने कार्यक्रममा उपस्थित ओलीसहितलाई अलमल देखिए । नाराबाजी गर्ने समूहले पुराना राजनीतिक दलले देशलाई निकास दिन नसकेको गुनासो समेत गरेका थिए । सोही आवेग र सत्तामा बसेर केही पनि नगरेको तर्क उनीहरुको थियो ।
नाराबाजी गरिरहेका युवाहरूले ढुंगा हान, बालेनलगायत शब्द पनि उच्चारण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी पनि उपस्थित थिए । आफूमाथि यस्तो व्यवहार भएपछि प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए । प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्चिमबाट सुरु भएको गौरा पर्व नेपालको मौलिक पर्व भएको उल्लेख गरे । साथै कांग्रेस सभापति देउवाले दर्शकदीर्घाबाट होहल्ला भएपछि गौरा पर्वको कार्यक्रम विथोल्न खोजिएको भन्दै असन्तुष्टि जनाए । ‘तपाईंहरू जति कराउनुछ कराउनुस्, लाज पनि छैन गौरा पर्वको कार्यक्रम विथोल्ने?,’ देउवाले भने, ‘यही हो नेपालको चलन? बदमासहरू ।’ धेरै मानिस गौरा पर्व मनाउन र गौरा खेल्न टुँडिखेलमा आएको तर केहीले विथोल्न खोजेकोले त्यसलाई जनताले ठिक पार्ने देउवाले बताए ।