काठमाडौं(जस)–झण्डै १० महिनापछि चिनियाँ भिडियो प्लेटफम टिकटकमाथिको प्रतिबन्ध खुला भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो । प्रचण्ड नेतृत्वको सरकारले टीकटकले अस्लिलता फैलाएको निष्कर्षसहित २०८० कात्तिक २७ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । लामो छलफलपछि सरकारले अहिले फेरि प्रतिबन्ध हटाउने निर्णय गरेको हो । आवश्यक प्रक्रिया पूरा भएपछि टिकटक पुनः नियमित खुल्ने हुनेछ ।
सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचिकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने शर्त सरकारले अघि सारेको छ । साथै सरकारले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने शर्त राखेको छ ।
सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता गरेर आएको दिनदेखि प्रतिवन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । उनले सामाजिक दुर्भावना, अरुलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिवन्ध हटाइने बताए । उनले भने, ‘सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचिकरण गर्नुपर्ने, त्यो सूचिकरण गर्दा सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने । सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सूचिकरण गर्नेकुरामा हामीसँग सहमति भइसकेको छ । टिकटकले अब सञ्चालनमा आउँदा प्वाइन्ट अफ कन्ट्याक्ट तोकेर आइसकेपछि २०८० साल असोज २७ गते टिकटकमा लगाएको प्रतिवन्ध हटाउने ।’
कार्यान्वयनमा आउन उनीहरुले आफ्नो शर्तअनुसार आउुपर्ने उनले बताए । ‘हाम्रो पर्यटन प्रवद्र्धनमा टिकटकले सहयोग गर्नुपर्ने छ । डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने छ’, उनले भने, ‘सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन पनि सहयोग गर्नुपर्ने छ । नेपाली भाषाको फिल्टरिङ गरेर जे कारणले बन्द गरिएको भनिएको छ, टिकटकले मात्रै होइन, अरु सामाजिक सञ्जालले पनि भोलि गर्न नपाउने गरेर भाषामा कस्तो कस्तो प्रयोग गर्न पाउने ? सामाजिक दुर्भावना, अरुलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न भएन । त्यो नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिवन्ध खुल्छ । टिकटक जस्तै अरु सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिन, हाम्रा मुद्दामा सहयोग गर्नुपर्छ ।’
तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० साल असोज २७ गते टिकटकमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । मन्त्री गुरुङले टिकटक जस्तै अरु सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिनुपर्ने र सरकारले राखेका पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा प्रवद्र्धन गर्नेगरी सूचिकृत भएपछि मात्रै सञ्चालन गर्न पाउने जानकारी दिए । टिकटक सञ्चालनमा आउने निर्णय भएपछि मिश्रित प्रतिक्रिया आइरहेको छ।