आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

छ वटा मन्त्रालयसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, भने–घाटामा जाने उद्योग चलाउन बल नगरौँ

बिहिबार, भाद्र ६ २०८१

काठमाडौँ । सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरुबाट बिफ्रिङ लिने कामलाई तीव्र बनाएका छन् । यसअघि ५ वटा मन्त्रालयसँग ब्रिफिङ लिएका ओलीले बुधबार थप एक मन्त्रालयसँग ब्रिफिङ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा ब्रिफिङ लिएका हुन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायतका पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरे । ‘साना साना लगानीमा धेरै कृषिमा आधुनिकीकरण र स्टार्टअप उद्योगहरू खोलेर बेरोजगारीलाई रोजगारी दिन सकिन्छ । उत्पादन बढाएर आयात विस्थापन गर्न सकिन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ । डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ ।’
उनले मद्यमान र ध्रुमपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सृजना गर्ने र समाजलाई सभ्य तथा स्वास्थ्य बनाउने खालका उत्पादनमा जोड दिन आग्रह गर्दै उद्योगहरूका नाममा भएका बेथिति रोक्न र राम्रा काम गर्नेलाई संरक्षण गर्न निर्देशन दिए । उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको छलफलमा प्रधानमन्त्री ओलीले खनिज र पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् कार्यलाई निरन्तरता दिँदै यसका आधारमा विकास गर्न सकिने उद्योगको योजना ल्याउन आग्रह गरे । यसअघि प्रधानमन्त्री ओलीले शिक्षा, सञ्चार, पर्यटन, स्वास्थ्य, कृषि मन्त्रालयसँग सम्बन्धित विषय र सुधारका योजनाका विषयमा सम्बन्धित मन्त्री र सचिवसँग बेग्ला बेग्लै ब्रिफिङ लिएका थिए ।
यसैबीच सरकार सय दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने तयारीमा जुटेको छ । बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यसचिव लीलादेवी गड्तौलाले सबै मन्त्रालयहरुले आफू र आफू मातहतका निकायबाट १०० दिनभित्र गर्ने कामका योजना बनाएको र ती योजनालाई छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिएकी हुन् ।
उनले भनिन्, ‘अहिलेको सरकारले सय दिन भित्रमा गर्ने काम के–के हुन भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याइँदैछ ।’ साथै, उनले गत वर्षको तुलनामा यस वर्ष बजेटमा कार्यक्रमहरु पनि कार्यान्वयन हुने र छुट्याईएको बजेट पनि खर्च हुने दाबी गरिन् । उनले भनिन्, ‘बजेटको बारेमा मलाई केही थाहा छैन् । मुख्य सचिवले क्याबिनेटको मात्र हेर्ने हो । बाँकि सम्बन्धित मन्त्रालय नै गर्ने हो । पदमा पुगे भन्दैमा जे पाए बोलेर हिड्न हुँदैन । यहाँ आफ्नो काम केही नभन्ने अर्काको काममा धेरै चासो राख्ने प्रवृत्ति देखियो । अब गत वर्षभन्दा यस वर्ष पक्कै पनि बजेटमा कार्यक्रमहरु पनि कार्यान्वयन हुन्छन् । बजेट पनि खर्च गर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार