आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेट, मोदीलाई नेपाल भ्रमणको निम्तो

मंगलबार, भाद्र ४ २०८१

काठमाडौं(जस)–चार दिनको भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । भारत भ्रमणका लागि आइतबार दिल्ली पुगेकी उनले सोमबार साँझ साढे ७ बजे नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट गरेकी हुन् । भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् । भेटपछि मन्त्री राणाले भनिन्, ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’
परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन् । उक्त भेटवार्तामा रहेका एक परराष्ट्रका अधिकारीले राणाले निमन्त्रणा हस्तान्तरण गरेको जानकारी दिए । भेटमा प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच करिब आधा घण्टा कुराकानी भएको थियो । उक्त शिष्टाचार भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री राणासहित भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिष्टर काउन्सिलर द्रौपदा सापकोटा थिइन् ।
भारतको तर्फबाट उक्त शिष्टाचार भेटमा भारतको तर्फबाट मोदीसहित, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव थिए । परराष्ट्र स्रोतका अनुसार ओलीले यसपटक प्रधानमन्त्री भएपछि आफू पहिला भारत जानेभन्दा पनि भारतबाट प्रधानमन्त्री मोदीलाई पहिलो नेपालमा स्वागत गर्ने र त्यसपछि मात्र नयाँ दिल्लीको भ्रमण गर्ने योजना बताएका छन् । ‘त्यही योजनाअनुसार परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको नेपाल भ्रमणको निमन्त्रणा मोदीलाई हस्तान्तरण गरेकी हुन्,’ परराष्ट्रका ती अधिकारीले भने ।
भेटपछि मोदीले नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । ‘भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील र बहुआयामिक साझेदारी छ। हाम्रो विकास साझेदारीमा निरन्तरताको आशा छ’, मोदीले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् । यस्तै राणाले मोदीसँग नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको जानकारी दिइन् ।
यसैगरी भारतको औपचारिक भ्रमणका क्रममा सोमबारै नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस. जयशङ्करबीच सोमबार दिउँसो नयाँ दिल्लीमा भेटवार्ता भएको छ । उनीहरुबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ ।
मन्त्री डा. राणालाई भारतीय विदेशमन्त्री एस जयशङ्करले स्वागत गरेका थिए । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन् । यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा. राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार