आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल भ्रमणमा आइपुग्दै मिस माल्टा, नेपालको पर्यटन प्रर्वद्धन हुने विश्वास

आइतबार, साउन १३ २०८१

काठमाडौँ(जस)–मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणमा आइपुग्लै छिन् । उनी सोमबार बिहान टर्सिस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छिन् । उनलाई स्वागतका लागि नेपाल पर्यटन बोर्डसमेतको अगु्वाइमा सरोकारवालाहरु विमानस्थल पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्दै आएका वेल्सका लागि नेपालको सद्भावना दूत सोम सापकोटाले जानकारी दिए ।
मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका अर्का अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए । उनीहरुको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ । नेपाली कामदारहरुको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिकै बीच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केसर्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन् । उनीहरुलाई भण्डारी र मिस माल्टामै कार्यरत सुजित बस्यालले नेपाल ल्याएका हुन् । नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्नेछन् । यस्तै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना छ ।
यस्तै मिस माल्टाको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री लगायतसँग भेटवार्ता गर्ने भण्डारीले बताए ।
हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटकहरु नेपाल भित्रने गरेका छन् । उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवालाहरुको भनाइ छ । ‘मिस माल्टाको टोली नेपाल आउँदा वा घुम्दा माल्टाका मान्छेले नेपाल घुम्ने ठाउँ रहेछ भन्ने जानकारी पाउँछन् । यो हाम्रो लागि राम्रो पक्ष हो’, भण्डारीले भने, ‘त्यसमाथि उनीहरुलाई माल्टाका सबै मिडियाले फलो पनि गरिरहेका हुन्छन् । उनीहरुले नेपालबारे डकुमेन्ट्रीसमेत बनाउने तय भएको तथा मिडियाहरुमा भ्रमणबारे चासो हुने भएपछि स्वाभाविकरुपमा माल्टामा नेपालको पर्यटनको प्रमोट गर्न सकिन्छ ।’
मिस माल्टामा कोरियोग्राफरका रुपमा नेपाली सुजित बस्यालसमेत कार्यरत छन् । उनीबाटै मिस माल्टाको टीमले नेपालबारे चासो दिएर नेपाल भ्रमण गराउन लागिएको बताइएको छ । टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किनेछ । नेपाल आउनुअघि मिस माल्टाको टीमले नेपाल भ्रमणबारे निरन्तर अपडेट दिइरहेको थियो । उनीहरुको भ्रमणले केही भएपनि नेपालको प्रचारप्रसारमा सहयोग पुग्ने पर्यटन व्यवसायीहरु समेत बताउँछन् । यसैबीच एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालसहितको केही अभियन्ताहरु यसअघि नै मिस माल्टाको भ्रमण सफल बनाउन नेपाल आइसकेका थिए । खनालले मिस माल्टा नेपाल आउनु खुसीको कुरा भएको भन्दै भ्रमण फलदायी बनाउन लागिपरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार