आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जनसवाल समाचार प्रभाव : यूएईमा बढ्दो ठगीबारे दूतावासको गम्भीर ध्यानाकर्षण, आर्थिक कारोबार गर्दा बैंकिङ च्यानलमात्र प्रयोग गर्न आग्रह

बुधबार, साउन २ २०८१

काठमाडौँ(जस)–संयुक्त अरब इमिरेट्स (यूएई) बाट विकसित देशमा रोजगारीका लागि पठाउने नाममा नेपालीले नेपालीलाई नै ठगी गरिरहेको बारे आबुधावीस्थित नेपाली दूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालबाट श्रम स्वीकृति लिई वा नलिई युएईका विभिन्न इमिरेट्समा नेपाली युवा युवतीलाई ल्याउने क्रम बढेको पाइएको दूतावासले जनाएको छ ।
यसरी ल्याइएका नेपाली युवा युवतीलाई युएईका विभिन्न ठुला कम्पनीमा काम लगाइदिने भनी प्रलोभन तथा आश्वासन दिलाएर भिजिट भिसामा ल्याउने र आर्थिक शोषणमा पार्ने गरेको गरेको पाइएको भन्दै कतिपय कन्सल्टेन्सीहरूले टिकटकमार्फत भ्रामक प्रचार प्रसार गरी युरोपलगायतका अन्य राष्ट्रहरूमा आकर्षक तलब सुविधा देखाई प्रलोभनमा नेपालीले नै नेपालीलाई गरी ठगी गर्ने गरेको पाइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘शिक्षित युवा युवतीलाई समेत युएईमा केही समयको बसाइपछि युरोप अमेरिका लगायतका राष्ट्रमा पठाइदिने भन्ने सपना देखाएर ठुलो रकम असुल गर्ने गरेको, नेपालस्थित म्यानपावरले जानकारी गराएका कम्पनीले उपलब्ध गराउने तलब तथा सेवा सुविधाहरूबारे सर्तहरू स्वीकार गरी विभिन्न म्यानपावरबाट युएईका विभिन्न कम्पनीमा काम गर्न आउने र कम्पनीमा करार सम्झौता गरी काम गर्न थालेको महिना दिन नपुग्दै सर्त बमोजिमका काम गर्न इन्कार गरी बिना सूचना कम्पनी छाडी भागी एजेन्टको प्रलोभनमा परी फसेको र नेपाल सरकारले तय गरेको भिजिट भिसाको सम्पूर्ण सर्तहरू स्वीकार गरी युएई प्रवेश पश्चात् दलालले फसाएको जस्ता गुनासाहरूप्रति यस दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।
यस्ता कार्यहरूमा ह्यूमन रिसोर्स कन्सल्टेन्सी, इजाजतवाला म्यानपावर, म्यानपावरका प्रतिनिधि बताउने तथा युएईस्थित ससाना कम्पनीका सञ्चालक र एजेन्ट समेत संलग्न रहेको बुझिएको दूतावासको भनाइ छ। यसरी अनधिकृत रूपमा विभिन्न षडयन्त्र तथा जालझेलबाट हुने ठगी तथा आर्थिक शोषणबाट बच्न युएईको कुनै पनि कम्पनीमा काम गर्न आउनु भन्दा अघि कम्पनीको बारेमा तथा कम्पनीले उपलब्ध गराउने तलब तथा सेवा सुविधाबारे राम्रोसँग बुझेर मात्र आउन दूतावासले आग्रह गरेको छ । साथै भिजिट भिसामा आउनु भन्दा अघि सो सम्बन्धी आधारभूत कुराहरूबारे स्पष्टसँग जानकारी प्राप्त गर्ने, भिजिट भिसामा वा श्रम स्वीकृति लिएर आएका व्यक्तिहरूले युरोपका विभिन्न मुलुकहरू तथा अमेरिका लगायतका अन्य राष्ट्रमा रोजगारीका लागि जाने विषयमा विद्यमान कानुन विपरीत व्यवस्था हुने भएकोले आधिकारिक निकायबाट सूचना तथा वास्तविकता बुझेर मात्र आफ्नो भिसा प्रोसेसिङ गर्न र आर्थिक कारोबार गर्दा बैंकिङ च्यानलमात्र प्रयोग गर्न दूतावासले सम्बन्धित सबैलाई जानकारी गराएको छ । अन्यथा कुनै समस्या परि श्रम शोषण, शारीरिक समस्या तथा अनधिकृत माध्यमबाट आर्थिक कारोबार गरी जोखिममा परेको खण्डमा व्यक्ति स्वयम् जिम्मेवार हुने ब्यहोरा समेत दूतावासले सम्बन्धित सबैलाई सूचित गरेको छ ।
उसो त यूएईमा बसेर अन्य तेस्रो मुलुकमा पठाउने भन्दै ठगी गर्ने धन्दामा संलग्नलाई प्रहरीले पक्राउसमेत गर्न थालेको छ । क्यानडा, पोल्यान्ड, माल्टालगायतको भिसा लगाइदिन्छु भन्दै ठग्नेमध्येका जना मुकेश सापकोटा लगायतलाई प्रहरीले पक्राउ गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले जानकारी दिए । उनले उनीहरूबाट ठगीमा कोही परेको भए रिपोर्ट लेखाउन पनि अनुरोध गरेका छन् । उनले आफूहरू दुबईमा बसेर ठगीमा संलग्नमाथि निर्मम रूपमा प्रस्तुत भइरहेको भन्दै अरू ठगीमा संलग्नहरू पनि क्रमशः पक्राउ पर्ने बताए । युएईमा ब्लु ओसियन कन्सल्टेन्सी, क्यान एक्सिस इमिग्रेसन, विजार्ड इमिग्रेसन, सिआस ग्रुप, ट्रिनिटी कन्सल्टेन्ट, युरो ड्रीम्स, प्यारागोन इमिग्रेसन, ग्लोबल एजेन्सी, जबसाइडर इमिग्रेसन, फ्लाइ भिसा इमिग्रेसन, एक्युना कन्सल्टेन्सी, बि एच आर कन्सल्टेन्सी, वेस्ट भिजन कन्सल्टेन्सी, सेन्चुरी गल्फ ओभरसिजलगायतले विकसित मुलुकमा नेपालीलाई पठाउने नाममा यस्तो धन्दा गर्दै आएको बताइएको छ ।
विभिन्न कन्सल्टेन्सीको नाम दिएर यूएईबाट युवाहरूलाई गैर कानुनी तवरले युरोप, अमेरिका, अस्ट्रेलिया आदि पुर्याउने नाममा अहिले प्रतिस्पर्धा नै बढेको छ । युएईमा युवाहरू पाउन छाडेपछि उनीहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै गैरकानुनीरूपमा नेपालबाट भिजिट भिसामा युएईमा पुर्याई त्यहाँबाट विभिन्न देश पठाउने धन्धासमेत सुरु गरेका छन् । आफूलाई रोजगार व्यवसायी बताउने यस्ता कन्सल्टेन्सीहरूले खुल्लमखुल्ला सामाजिक सञ्जालबाट रकमको आव्हान गर्ने, प्रोसेसिङ्ग शुल्क भनेर लाखौँ रकम उठाउने गरेको पाइएको छ । विगत १३ वर्षदेखि युएईमा ब्लु ओसियन कन्सल्टेन्सी चलाउँदै आएका सरोज विष्टले नेपालबाट युएईको लागि भिजिटमा आएका र श्रम स्वीकृति लिई आएका नेपालीहरूबाट माल्टालगायत युरोपका विभिन्न देश पठाउने भनी कम्तीमा एक लाख फिर्ता नहुने गरी अग्रिम रकम लिने गरेको बताए ।
भिसा नलागे पनि करिब एक लाख प्रोसेसिङ्ग खर्च बुझाउन पर्ने नियम रहेको उनले बताए । साथै अस्ट्रेलिया पठाउन सेवा शुल्क नै १० देखि १२ लाख रुपैयाँ लिने गरेको उनले बताए । दुबईमा रहेको युनिभर्सल ब्ल्यु ओसिएन कन्सल्टेन्टका सञ्चालक सरोज बिस्टले आफ्नो कम्पनीबाट १० हजार भन्दा धेरै उडिसकेको दाबी गर्दै अन्य हजारौँ भिसा प्रोसेसमा रहेको र कैयौँले एप्लाइ गरेको जनाउँदै सबैसँग एडभान्स उठाएको बताए । बिस्टले एडभान्स कामदारको विश्वास गरेर काम गर्न नसक्ने भएकोले उठाएको जनाउँदै भिसा नलागेमा उनीहरूको पैसा कटाएर फिर्ता गर्ने गरेको दाबी गरे ।
कन्सल्टेन्सीलाई कामदारको भिसा लागे पनि मान्छे उडाएको फाईदा भिसा नआएपनि भिसा प्रोसेस लगायतको नाममा जोडेर लिएको पैसा फाइदा हुने गरेको छ । पहिला नेपालमा म्यानपावर ब्यावसायमा आबद्ध बिस्टले म्यानपावर ब्यावसायमा समस्या आयपछि दुबई आएर कन्सल्टेन्सी चलाएका हुन् । बिष्टजस्तै म्यानपावर ब्याबसाय बिग्रिएका र आफै विदेश जाने चक्करमा लागेर पैसा डुबाएकाहरूले नै अहिले दुबई, कतारलगायतका देशमा धेरै कन्सल्टेन्सी चलाइरहेका छन् । विदेश जाने चक्करमा लागेर पैसा डुबाएकाहरूले कन्सल्टेन्सी नै चलाएपनि पहिला आफ्नै भिसा प्रोसेस गर्ने र भिसा लागेमा सबैको उठाएको पैसा लिएर आफै विदेश जाने गरेको धेरै उदाहरणपनि रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार