काठमाडौं(जस)–पार्टीभित्रको बेथिति र कमीकमजोरीबारे बोल्दा रास्वपाका महामन्त्री कारबाहीमा परेका छन् । महामन्त्री मुकुल ढकाल साधारण सदस्यमात्रै रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट हटाइएका हुन् । रास्वपा निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका ढकाललले केही साताअघि पार्टी गम्भीर समस्यामा रहेको भन्द्रै देशका विभिन्न जिल्ला घुमेर रिपोर्ट तयार गरेका थिए ।
उक्त रिपोर्टमा सभापतिको कमजोरीका साथै पार्टीभित्रसमेत गम्भीर कमजोरी रहेको उल्लेख गरेपछि पार्टीभित्र उनको घेराबन्दी भएको थियो । साथै उनले आफ्नो प्रतिवेदन सार्वजनिकको माग गरेपनि नेतृत्वले आनाकानी गरेको थियो । यसैबीच अघिल्लो साता बसेको बैठकमा उनलाई आफ्नो कुरा राख्नबाट बञ्चित गरिएपछि उनले मुखमा कालोटेप बाँधेर विरोध गरेका थिए । उक्त विरोधपछि पार्टीले उनलाई अशोभनीय अर्कत गरेको आरोप लगाउँदै साता दिनका लागि निलम्बन गरेकोमा मंगलबार बसेका केन्द्रीय समिति बैठकले भने साधारण सदस्य कायम गर्दै अन्य पदबाट भने निलम्बनको निर्णय गरेको हो ।
असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो । सोही बमोजिम केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
‘केन्द्रीय समितिको छलफलका आधारमा ढकालबाट पार्टीको आचारसंहिताको दफा ४ को (१) को क, ख, च, प र फ एवम् दफा चार २ को (४), दफा (५) को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख ग र घ समेतको उल्लङ्घन भएको ठहर तथा सोबाट पार्टीलाई पुगेको क्षति समेतलाई विश्लेषण गर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६को (३) बमोजिमको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो’, उनले भने । बैठकको निर्णयमाथि पुनरावेदन गर्न ३५ दिनको समय दिएको छ ।
झाका अनुसार पार्टी विधानको धारा ५७ बमोजिम आफूमाथिको कारबाही चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा ढकालले पुनरावेदनका लागि निवेदन दिन सक्ने छन् । यस्तै ढकालले आफू सभापति रवि लामिछानेको क्लबबाटमात्रै निष्काशित भएको प्रतिक्रिया दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न भने नरोकिने बताए । ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन’, उनले कारबाहीको निर्णयलगत्तै बताए । उनले बाँकी धारणा बुधबार सार्वजनिक गर्ने पनि बताए । मोरङको विराटनगर–३ दुधफारम पूर्वका स्थायी बासिन्दा ढकाल सानैदेखि केही गर्ने हुटहुटी भएका व्यक्ति थिए । उनका बुबा–आमा र दाइ अमेरिकामा बस्छन् । आमाबुबा दुवै सरकारी जागिरे थिए । मध्यम परिवारको ढकाल परिवारलाई सामान्य खर्चका लागि चिन्ता थिएन । उनले सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।
काठमाडौँबाटै एसएलसीमा उत्कृष्ट नम्बर ल्याएर उत्तीर्ण गरेका उनले प्लस टु भने ह्वाइट हाउस स्कुलबाट गरेका हुन् । एमबीबीएस अध्ययनकै क्रममा ३६ घण्टासम्म काम लगाएको भन्दै उनले आन्दोलन गरेका थिए । त्यहीँबाट उनमा विद्रोही चेत पलाएको थियो । २०७२ सालको भूकम्पपछि उनकै नेतृत्वमा नुवाकोटमा सुमना श्रेष्ठसहितको टोलीले भत्किएको स्कुल बनाएको थियो । यस्तै उनले रवि लामिछानेको टिममा रहेर कालिकोटको रास्कोट अस्पताल निर्माणको काम पनि गरेका थिए । एमबीबीएस गरिसकेपछि उनमा घाँटीको क्यान्सर (थाइरक्सिन) भएको थियो । मेडिसिटी अस्पतालमा अप्रेसनमार्फत क्यान्सरको सफल उपचार गरेर उनी राजनीतिक पार्टी निर्माण अभियानमा लागेका थिए । कुनै बेला विवेकशील साझा पार्टीका सदस्यसमेत रहेका उनी छुट्टै पार्टी निर्माणमा जुटेका थिए । त्यसका लागि उनले उपयुक्त पात्रको रुपमा रवि लामिछाने भेटेका हुन् । लामिछानेसँग उनी रास्कोट अस्पताल निर्माणदेखि नै नजिकिएका थिए ।