आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, विपद्का बेला सरकार गम्भीर नबनेको गुनासो

बुधबार, असार २७ २०८१

काठमाडौं(जस)–अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट मंगलबारसम्म ८० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मौसमजन्य विपद्मा परी पाँच जना बेपत्ता तथा ९७ जना घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विपद्मा फसेका ५३ जनाको उद्धार गरिएको छ ।
बाढीका कारण एक सय ६१ घर डुबानमा परेका छन् । एक सय ३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार सात सय ६४ घर परिवार विस्थापित भएका छन् ।
यस्तै विदका घटनामा १० करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिराका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ । बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट रु १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
‘सरकार सदनप्रति उत्तरदायी नहुनु दुःखद’
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको आकस्मिक समयमा उनले देशभर बाढीपहिरो र डुबानबाट मंगलबारसम्म ८० जनाको निधन, ६ जना बेपत्ता र ८६ घाइते भएका तथा अर्बाैंको क्षति भएको बताए ।
सांसद लेखकले बाढीपहिरो र डुबानबाट भएको क्षतिका बारे पत्रपत्रिका पढेर सदनमा सुनाउनुपरेको उल्लेख गर्दै सरकारले यस सम्बन्धमा स्पष्ट पार्न नसक्नु दुःखद भएको बताए । उनले भने, “सरकारले विश्वासको मत लिने तयारी गरिरहेको छ । यसमा सरकारले ३० दिन पूरै लिओस् कुनै आपत्ति छैन् तर सरकार हुँदासम्म सदनप्रति उत्तरदायी हुनपर्यो ।”
सांसद लेखकले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाका काममा लाग्न आग्रह गरे । उनले कञ्चनपुरलगायत जिल्लामा बाढीपहिरो र डुबानबाट प्रभावित जनता घरबाहिर बस्नुपरेको बताउँदै तत्काल सहयोग गर्न सरकारको ध्यनाकर्षण गराए ।
विपद्का बेला सरकार थप गम्भीर बन्नुपर्छ
प्रतिनिधिसभाका सांसदहरूले मुलुकभर बाढी, पहिरो र डुबानका कारण उत्पन्न विपद्का बेलामा सरकार थप गम्भीर बन्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उनहरूले विपद्बाट प्रभावित जनताको उद्धार र राहतका लागि सरकारले उचित ध्यान नदिएको टिप्पणी गरे ।
सांसद मेटमणि चौधरीले १८ महिनामा पाँच पटक विश्वासको मत लिनुपर्ने अवस्थाको मूलकारण नेतृत्व नै भएको बताउँदै शीर्ष नेताहरूले अब देश र जनताको समृद्धिबारे छलफल गर्नुपर्ने बताए । उनले भने, “बेरोजगारी र गरिबी घटाउने समाचार कतै छैन्, भ्रष्टाचारका विषयमा सबै तैँ चुप मै चुपको अवस्थामा छन् । यही गोलचक्करमा फसेर मुलुक बर्बाद बनाउने वा नयाँ तरिकाले सोच्ने? गम्भीररूपमा सोचौँ ।” सांसद रोशन कार्कीले अविरल वर्षापछि देशमा उत्पन्न अवस्थाका बारेमा गृहमन्त्रीले सदनमा आएर जानकारी दिनुपर्ने माग गरे । उनले भने, “अहिले विपद्का बेलामा जनताको सहयोगमा लाग्ने हो, गृहमन्त्री कहाँ छन् ? अहिलेको अवस्थाबारे सदनलाई जानकारी चाहियो ।”
सांसद अब्दुल खानले २२ प्रतिशत जनसङ्ख्या शिक्षाबाट वञ्चित रहेका र मधेस प्रदेशका आठ जिल्ला साक्षर हुनै बाँकी रहेको बताऐ । यसबारेमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । खानले रोजगारीका लागि धेरै युवा विदेशीनुपरेको तर्फ ध्यानाकर्षण गराउँदै प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भनेर संविधानमा गरिएको मौलिक हकको व्यवस्था कार्यान्वयन गरिनुपर्ने बताए ।
सांसद दयालबहादुर शाहीले वर्तमान प्रधानमन्त्रीले कांग्रेस र एमालेसँग मिलेर सरकार बनाइसक्नुभएकाले अब दुई ठूला पार्टी मिलेर सरकार बनाउँछौँ भन्दा हच्किनुनपर्ने बताए । सांसद बिजुला रायमाझीले देशभर अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको अवस्थामा गृहमन्त्रीको ध्यान त्यसप्रति नभएको भन्दै दुःख व्यक्त गरिन । सांसद पूर्णबहादुर तामाङले निर्माण व्यवसायीले निर्माणसम्पन्न गरेका कामको अझै भुक्तानी नपाएकाबारे सरकारको ध्यानाकर्षण गराए ।
बाढी पहिरोपीडितको तत्काल उद्धार गर्न सांसदको माग
सांसदहरूले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको क्षतिबारे सदनमा जानकारी गराउन सरकारसँग माग गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि काम गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको आकस्मिक समयमा उनहरूले देशभर बाढी, पहिरो र डुबानबाट मंगलबारसम्म ७४ जनाको निधन भएको, छ जना बेपत्ता भएको र ८६ घाइते तथा अर्बाै रकम बराबरको क्षति भएको जानकारी जानकारी गराए ।
सांसद नारायणप्रकाश साउदले देश अहिले बाढी, पहिरो र डुबानको चपेटामा परेको र कञ्चनपुरमा पनि ठूलो बाढी आउँदा धनजनको क्षति भएको बताए । बाढी पहिरोबाट चार बालबालिकाको मृत्यु भइसकेको उल्लेख गरे । सांसद साउदले सरकार समक्ष पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि माग गरे । उनले महेन्द्र राजमार्ग अवरुद्ध भएको बताउँदै बाढी नियन्त्रण गर्न सरकार सजग रहनुपर्ने उल्लेख गरे । तटबन्ध निर्माणमा सरकारले ध्यान नदिएको टिप्पणी गर्दै उनले धेरै नदीहरूले बस्तीमै ठूलो असर गरेको बताए ।
सांसद महेन्द्रराय यादवले अविरल वर्षाले देशभर बाढीपहिरो, डुबानको ठूलो असर परेको बताउँदै तराई र सर्लाहीमा धेरै ठूलो क्षति भएको जानकारी गराए । उनले भने, “राहत, पुनःस्थापनका काम केही हुन सकेको छैन । यसको मुख्य कुरा भनेको चुरे नै हो । चुरे विनाशका कारण तराइको भूमि मरुभूमिका परिणत हुदै गएको छ । यसको संरक्षण आवश्यक छ ।”फरक प्रसंगमा उनले यही असार १७ गते नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता समीकरण र संविधान संशोधनमा सहमति भएका उल्लेख गर्दै संविधान संशोधन गर्दा सर्वपक्षीय छलफल गरेर मात्र गर्न आग्रह गरे ।
सांसद रुपा जोशी चौधरीले देश बाढी पहिरोले आक्रान्त भएको बेलामा सुदुरपश्चिमको कैलाली र कञ्चनपुर पनि अछुतो नरहेको बताइन । उनले कतिपय ठाउँमा १० देखि १५ दिनसम्म पनि पानीको निकास हुन नसक्ने स्थिति रहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन । उनले सरकारले पूर्वानुमान गरेर यसरी हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्ने गरी काम गर्नुपर्ने बताइन । सांसद रामकृष्ण यादवले देश अहिले राजनीतिक संक्रमणकालको अवस्थामा रहेको बताउँदै यस बीचमा जनताका समस्यामा सरकारको उचित ध्यान जान नसकेको बताए । उनले सरकारसँगै राज्यका निकाय पनि चलायमान भएर बाढी पहिरोको पीडितको उद्धारमा लाग्नुपर्ने बताए ।
सांसद पूर्णबहादुर घर्तीमगरले गए राति पहिरो जाँदा रुकुममा धेरै धनजनको क्षति भएको जानकारी गराउँदै बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनस्थापनको माग गरे । साथै घाइतेहरूको उपचारको माग गर्दै उनहरूको शीघ्रस्वास्थय लाभको कामना गरे । सांसद गङ्गा कार्कीले गौरीशङ्कर गाउँपालिका–९ सीमीगाउँ, रोल्वालिङ, च्छोरोल्पा पदमार्गमा आएको भीषण बाढी र पहिरोका कारण धेरै क्षति पु¥याएको जानकारी गराइन । सांसद मोहन बस्नेतले सिन्धुपाल्चोकमा पनि बाढीपहिरोले निकै असर पुर्याउको जानकारी गराउँदै यस्तो विपद् परेको बेलामा सम्बन्धित सांसदलाई जिल्लामा जाने व्यवस्था मिलाउनुपर्ने र गयल हुने व्यवस्था नगर्न अनुरोध गरे । उनले सिन्धुपाल्चोकको एक हाइड्रोपावरमा काम गर्ने दुई व्यक्तिको मृत्यु भएको छ । मृतकको परिवारको बच्चालाई पढाउने र एउटालाई रोजगारीको व्यवस्थाका लागि आफूले पहल गर्ने जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित समाचार