काठमाडौं(जस)–नेकपा एकीकृत समाजवादी (नेकपा एस)को १० औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा हुने १० राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको सो पार्टीले जनाएको छ । नेकपा एमालेबाट विभाजित भएपनि पहिलो पटक सो पार्टीले महाधिवेशन गर्न लागेको हो ।
महाधिवेशनबाट अध्यक्ष माधव नेपालले पुनः नेतृत्वमा निरन्तरता चाएका छन् भने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले समेत इच्छा देखाएका छन् । तर, खनाल र भुसाल एक ठाउँमा रहेकाले उनीहरुमध्ये एक जना माधव नेपालसँग प्रतिस्पर्धामा उत्रने बताइएको छ । यसबारे केही दिनअघि दुई नेताबीच सहमति भएको र सहमतिअनुसार भुसाल अध्यक्षमा लड्ने सार्वजनिक भएको थियो । तर, खनालले भुसाललाई समर्थन नगरिसकेको दाबी गर्दै आएका छन् ।
नेतृत्वका लागि रस्साकस्सी हुँदै गर्दा पार्टीभित्र भने सहमतिमै नेतृत्व चयनमा जोड दिँदै आइएको छ । यही क्रममा माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउन सो पार्टीका सातै प्रदेशका अध्यक्षहरू केही दिनअघि एकमत भएका छन् । नेता सोमप्रसाद पाण्डेका अनुसार छलफलमा घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई अधिकारसहित सम्मानित नेतामा सर्वसम्मत गर्न प्रदेश अध्यक्षहरू एकमत देखिएका हुन् । सातै प्रदेशका प्रदेश अध्यक्षहरूले बिहीबार बेलुका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग छुट्टाछुट्टै छलफल गरेर सहमतिमा जोड समेत दिएका थिए । उसो त भागबण्डा मिलाउने उद्देश्यकै साथ पार्टीको बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो ।
बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ र २१ सदस्यीय पदाधिकारीमध्ये महिला एक उपाध्यक्ष अनिवार्य बनाउने निर्णय पनि गरिसकेको छ । आइतबार महाधिवेशनको उद्घाटन भएपछि बन्दसत्रमा राजनीतिक प्रतिवेदनसहित विभिन्न डकुमेन्ट पेश हुनेछ । त्यसपछि पार्टीको आगामी कार्यदिशा तय गर्दै नयाँ नेतृत्व चयन गरेर असार २० गते महाधिवेशन सम्पन्न गर्ने पार्टीको योजना छ । महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले पार्टीको नेतृत्व सहमतिमा नै टुङ्गियोस् भन्ने कार्यकर्ताहरूको चाहना रहेको बताए
‘केन्द्रीय कमिटीमा सबै दस्ताबेजमाथि व्यापक छलफल ग¥यौँ । राजनीतिक प्रतिवेदन, समाजवादी क्रान्तिको कार्यक्रम, संगठात्मक प्रस्ताव र विधान गरी सर्वसम्मत रुपमा चारवटै दस्ताबेज पारित पनि भएका छन्’, अध्यक्ष नेपालले भने, ‘सहमतिका साथ दस्ताबेज पारित गरियो भन्ने सुनेपछि कार्यकर्तामा उत्साहको लहर सृष्टि भएको छ । अब पार्टीको नेतृत्व पनि सहमतिका साथ टुङ्गो लगाइयोस् र नेताहरू मिलेर अगाडि बढुन् भन्ने चाहना रहेको हामीले सुनिरहेका छौँ ।’
यसैगरी सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र कुनै पनि गुटबन्दी नरहेको दाबी गरे । महाधिवेशनको मुखमा नेताहरूबिचको भेटलाई सामान्य रुपमा लिनुपर्ने उनले बताए । खनालले भने, ‘मलाई गुटबन्दीको कुरा आउँदैन । माधवजीले पनि गर्नुहुन्छ भन्ने लाग्दैन । कहिलेकाहीँ कमरेडहरू आएर छलफल गर्छौँ, त्यो घरमा होला, रेस्टुरेन्टमा होला । महाधिवेशनअघि यस्तो सामान्य हो । तर, यदि गुटबन्दी भएको छ भने त्यो गलत हो ।’
खनालले पार्टी लोकतान्त्रिक बाटोबाटै नेतृत्वबारे अन्तिम टुङ्गोमा पुग्ने जिकिर गरे । उनले यसबारे पाटीभित्र छलफल गरेर निष्कर्ष निकालिने पनि बताए । यस्तै महासचिव घनश्याम भुसालले पनि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनले सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गर्ने बताए । उनले पार्टीको नयाँ नेतृत्वले भत्किएको पुरानो वाम विकल्पलाई जोड्दै नयाँ विकल्पसमेत दिने जिकिर गरे ।