शुक्रबार, असार १५ २०८१
जनसवाल संवाददाता
काठमाडौं । यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा निराशाजनक देखिएको छ । नतिजाअनुसार उत्तीर्ण हुने भन्दा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या घेरै छ । यसले शिक्षा क्षेत्रमा गुणात्मक सुधार जरुरी रहेको सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०८० सालको एसईईको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै नतिजाबारे जानकारी गराएका हुन् । उनको अनुसार परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना थिए । यस्तै पुरुष २ लाख ३३ हजार २७० जना थिए । जसअनुसार पुरुष १ लाख १४ हजार ४८ र महिला १ लाख २८ हजार २५७ जना गरी कुल २ लाख ४२ हजार ३१३ जना अनुत्तीर्ण (एनजी) भएका हुन् ।
नतिजा अनुसार उत्तीर्ण हुने विद्याथीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् । यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपीए २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् । नतिजाअनुसार ५२.१४ प्रतिशत अनुत्तीर्ण हुँदा ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा महिला र पुरुषबाहेक अन्य समूहका ४ जना उत्तीर्ण भएका छन् । यस्तै ८ जना फेल भएका छन् । बोर्डका अनुसार जीपीए २.४० देखि २.८०, जीपीए २.८० देखि ३.२०, जीपीए ३.२० देखि ३.६० र जीपीए ३.६० देखि ४.०० ल्याएर १÷१ जना गरी ४ जना उत्तीर्ण भएका हुन् । परीक्षा दिएका १२ जनामध्ये ८ जना भने अनुत्तीर्ण भएको बोर्डले बिहीबार जनाएको छ । परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शर्माले बताए ।
यस्तै बोर्डले विभिन्न १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द भएको पनि जनाएको छ । नतिजाअनुसार दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, इलामका २, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ । यस्तै रौतहटका १, महोत्तरीका ३९, खोटाङका ३, धनुषाका ४, सर्लाहीका ६, सत्तरीका १५४ र भोजप्ुरका १ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको हो । विषयगत आधारमा अंग्रेजीको १, गणितको ६७, नेपालीको ४, विज्ञानको १४, सामाजिकको ५, ऐच्छिक गणितको ७१, अर्थशास्त्रको १३, जनसंख्याको ७, वातावरण विज्ञानको २, स्वास्थ्य शारिरीकको ३, प्राविधिक विषयको ७ र सबै विषयको २६ जनोका परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।
नतिजाअनुसार कोशी प्रदेशबाट सहभागी कुल ७५ हजार ९८८ परीक्षार्थीमध्ये ३९ हजार ८९५ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् । यसैगरी मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक्षार्थीमध्ये ४२ हजार २८६ जना, बागमती प्रदेशबाट ९९ हजार ८७२ जना परीक्षार्थीमध्ये ३३ हजार ८४२ जना अनुत्तीर्ण भएका छन् । यसैगरी गण्डकी प्रदेशबाट कुल ४० हजार ५२६ जना परीक्षार्थीमध्ये २० हजार २७५ जना, लुम्बिनीबाट ८० हजार ३२७ जना परीक्षार्थी सहभागी भएकामा ४९ हजार २२४ जना फेल भएका छन् । यसैगरी कर्णालीबाट ३५ हजार ३४ जना परीक्षार्थीमध्ये २० हजार ३८० जना र सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन् ।
यसैबीच एसईईको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । बिहीबार सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी आएको छ । जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले बताए । एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।
के भन्छन् शिक्षाविद् र सरोकारवाला ?
माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा राम्रो नभएको त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. विष्णुप्रसाद पोखरेलले बताए । २०७० सालमा भर्ना भएको १०÷११ लाख विद्यार्थीमध्ये ०८० सालमा साढे चार लाखले परीक्षा दिएर ४७ प्रतिशत पास हुनुलाई देशको शिक्षा राम्रो छ भन्न नसकिने उनको भनाइ छ । सरकारले सामुदायिक विद्यालयमा शिक्षण सिकाइ प्रक्रियामा लगानी नै नगरेको उनको आरोप छ ।
सरकारले भौतिक संरचनातिर मात्रै ध्यान दिएको भन्दै उनले शिक्षकको पेशागत वृत्तिविकास र तालिमतर्फ ध्यान दिन आग्रह गरे । शिक्षाको गुणस्तर सुधारका लागि प्रक्रियामा लगानी गर्न आवश्यक रहेको उनको भनाइ छ । प्रा.डा.नन्दबहादुर सिंहले राजनीतिक दलहरुले विद्यालय र विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउने कार्य जारी रहेसम्म शिक्षा क्षेत्रमा सुधार नहुने ठोकुवा गरे । ‘मुख्य तीनवटा राजनीतिक दलहरुले शिक्षा क्षेत्र र विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउन जुन दिनसम्म रोकिँदैन, त्यहाँसम्म नेपालको शिक्षा यस्तै हुन्छ,’–उनले भने ।
प्रा.डा.सिंहले नेपाली कांग्रेसका शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले साहस गरेर राष्ट्रिय सहमति गरेर विद्यालय र विश्वविद्यालयभित्र संगठन बनाउने कुरा अन्त्य गर्नुपर्ने बताए । साथै, सामुदायिक विद्यालयको आधिकांश शिक्षक र प्रधानाध्यापकले विद्यालयमा राम्रोसँग नपढाएको उनको आरोप छ ।
उच्च माध्यामिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले ५२.१३ प्रतिशत विद्यार्थी फेल भएको अवस्थामा देशको शिक्षा प्रणाली र नतिजालाई राम्रो मान्न नसकिने बताए । उनले अघिल्लो वर्षको एसईई नतीजालाई पनि आफूले नराम्रो नै भनेको बताए । अघिल्लो वर्ष मिडियाहरुले ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको भनी समाचार लेखेपनि त्यो यथार्थ नरहेको उनको भनाइ छ । अघिल्लो वर्ष २ लाख १३ हजार विद्यार्थी गणित विषयमा नै फेल भएको उनले बताए । सिलवालले अघिल्लो वर्ष सरकारले ४ जीपीए आउनेको संख्या सार्वजनिक नै नगरेको बताए ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले संविधानले माध्यामिक तहसम्मको शिक्षा निःशुल्क हुने भनेपनि कार्यान्वयन नभएको बताए । उनले अहिलेको रिजल्ट ठीकै रहेको बताए । उनले नीति निर्माता र सिकाउने मान्छेहरुले अपराध गरेको बताए । केही समयअघि नीति निर्माताहरुले विद्यार्थीहरुले फेल भएको कारण आत्महत्या गरे, अब फेल नभन्ने भनेर ग्रेडिङ सिस्टमको सुरुवात गरिएको बताए । यो वर्ष फेरि फेल भनिएको भन्दै उनले विद्यार्थीहरुलाई फेरि आत्महत्या गर भनेको हो ? भन्दै प्रश्न गरे ।
नेपालमा २० वर्षको शिक्षाको ट्रेण्ड पटक–पटक परिवर्तन भइरहेको उनको भनाई छ । कतिपय विद्यालयमा विषयगत शिक्षक नभएको, घरमा पढ्ने वातावरण नभएको कारण नभएको पनि राम्रो रिजल्ट नआएको बताए । एन–व्याब्सनका सचिव विष्णु पराजुलीले उनले रिजल्ट राम्रो नआउनुको पछाडि विविध कारण रहेको बताए । उनले विद्यालयमा विषयगत शिक्षक नहुनु, व्यवस्थापन राम्रो नहुनु, राज्यले राम्रो लगानी गर्न नसक्नुलगायतका विषयहरु नतिजा कमजोर हुनुको प्रमुख कारण रहेको बताए । सबैभन्दा पहिला शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताए । आफूहरु नेपाललाई शैक्षिक हब बनाउने कुरामा प्रष्ट रहेको बताउँदै उनले स्पष्ट नीति नहँदा र सरकार र मन्त्री परिवर्तन भएसँगै नीतिपनि परिवर्तन हुँदा शिक्षा क्षेत्र स्थिर बन्न नसकेको बताए ।
सीबीएम कलेजका प्रिन्सिपल एवं सीए सुमन न्यौपानेले कूल बजेटको लगभग १२ प्रतिशत बजेट शिक्षामा लगानी गर्दापनि नतिजामा सुधार नआएको बताए । राज्यले बजेट शिक्षा क्षेत्रमा फालेपनि नतिजामा सुधार नआएको उनको भनाइ छ । आफू निजी विद्यालयको सञ्चालक पनि रहेको बताउँदै उनले सो विद्यालयको रिजल्ट शतप्रतिशत रहेको दाबी गरे । प्रायः निजी विद्यालयहरुको रिजल्ट ९० प्रतिशतभन्दा माथि रहेको उनको भनाइ छ । सरकारी विद्यालयहरुको रिजल्टमा सुधार आउन नसकेको उनले भनाइ छ । तर, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विगतको तुलनामा नतिजा समग्रमा राम्रो रहेको दाबी गरे । एनजी आउने ट्रेण्ड घट्नुका साथै ग्रेडेड विद्यार्थी बढेको उनको भनाइ छ । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले सुधार गर्नुपर्ने विषयमा सरकार गम्भीर रहेको बताए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij