आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

रिद्धि सिद्धिलाई निशानामा पार्ने प्रयास : जर्तीमा घोटाला, कालिगडलाई पारिश्रमिक घटाउन दबाब

बिहिबार, असार १४ २०८१

जनसवाल संवाददाता
काठमाडौँ । सुनमा बढेको भन्सार दर वृद्धि, सुनचाँदी व्यवसाय क्षेत्रमा देखिएको विकृतिलगायतका लाग्नुपर्नेमा यस क्षेत्रका व्यवसायीहरु आफूमै अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको पाइएको छ । खुला र प्रतिस्पर्धी बजारमा व्यवसायीले उपभोक्तामैत्री नीति ल्याउँदै बजारलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा केही व्यवयायी व्यक्ति लक्षित गतिविधिमा केन्द्रीत रहेको पाइएको हो ।
त्यसमा पनि कुनै अमुल व्यापारीको विरोधमा केही व्यवसायीहरु सडकमा आएर नाराबाजीमा उत्रिएका हुन् । यसरी उनीहरु सडकमा उत्रिएपछि उपभोक्ता र उपभोक्तावादीहरुले सिन्डिकेट र एकाधिकारलाई अस्वीकार गर्ने भन्दै विरोध गरेका छन् । ‘कालीगढ बचाउ अभियान’ को ब्यानरमा केही व्यापारी र कालीगडहरुले श्री रिद्धिसिद्धि ज्वेलर्सविरुद्ध समेत नाराबाजी र आन्दोलन गरेका हुन् । रिद्धि सिद्धिले जर्ती खारेज गर्दै ७ प्रतिशत ज्यालामात्रै लिने भनेपछि आफूहरुलाई धक्का पुग्ने भन्दै उनीहरु आन्दोलित बनेका हुन् । हालसम्म जर्तीको नाममा उपभोक्ताबाट ठुलो रकम घोटाला गर्दै आएका व्यवसायीले अहिले यो लिन नपाउने स्थिति रिद्धि सिद्धिले सिर्जना गर्न खोजेपछि आक्रोशित बनेको बताइएको छ ।
यहीबीचमा राजधानीको विशालबजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सलाई देखाएर केही सुनचाँदी व्यवसायीले सुनका गहना बनाउने कालिगडहरूलाई नै पारिश्रमिक घटाउन दबाब दिएको पाइएको छ । नेपाल राष्ट्रिय सुनचाँदी कालिगड सङ्घले एक विज्ञप्ति जारी गर्दै रिद्धि सिद्धि ज्वेलर्सलाई देखाएर अन्य केही व्यवसायीले सुनचाँदीको गहना बनाउने कार्यमा खटिएका कालिगडलाई पारिश्रमिक घटनाउन दबाब दिएको पाइएको जानकारी दिएको हो ।
‘रिद्धि सिद्धिको व्यवसायीक अफरको नाममा अन्य केही व्यवसायीहरूले सोझा सीधा कालिगडहरूलाई प्राप्त गर्दै गरेको पारिश्रमिकलाई घटाउन दबाब दिइरहेको बृहत् गुनासो यस संघलाई आएको हुँदा त्यस्तो प्रकारको पारिश्रमिक घटाउने दबाब नदिन हुन सम्बन्धित व्यवसायी सबैलाई यस संघ हार्दिक अनुरोध गर्दछ’, अध्यक्ष अर्जुन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघको आधिकारिक निर्णयविना व्यवसायी तथा कालिगड बचाउ नामक अभियानमा आफ्नो संस्थाको नाम र छाप समेत राखेर दुरुपयोग गरिएको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाइएको छ । यस्तै रिद्धी सिद्धी ज्वेलर्सको व्यवसायीक अफरका बारेमा असार ११ गते संघको सिङ्गो कार्यसमिति र रिद्धी सिद्धि ज्वेलर्स र ज्वेलर्स हाउसका संचालक नरेन्द्र कुमार गुप्ताबिच औपचारिक बैठक हुँदा रिद्धि सिद्धी ज्वेर्लसको तर्फबाट हाल कालिगडहरूले खाइपाइ आएको वा प्राप्त गर्दै गरेको सेवा सुविधा वा पारिश्रमिकमा एक रुपैयाँ पनि घटिबढी नगरेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
तर रिद्धिसिद्धि नै लाई देखाएर केही व्यवसायीहरूले सोझा सिधा कालिगडहरूलाई प्राप्त गर्दै गरेको पारिश्रमिकलाई घटाउन दबाब दिइरहेको पाइएकाले यसो नगर्न सचेत गराइएको विश्वकर्माले जानकारी दिए । कालिगडहरूलाई थिचोमिचो, दबाबमा पारी कालीगढ कालिगढबिचको आपसी भाइचाराको सम्बन्धमा खलल पुरÞ्याउने, दरार बढाउने र त्यसको फाइदा व्यवसायीले लिने जस्ता क्रियाकलाप नगराउन हुन सङ्घले सबैसँग अनुरोध गरेको छ । यस्तै नेपाल सुनचाँदी रत्न तथा आभूषण सङ्घले पनि बजार व्यवस्थापन, भन्सार वृद्धिदर, ऐन, कानुन (निर्देशिका), कालिगड पारिश्रमिक लगायतका समस्याहरूमा महासंघहरुले चरणबद्ध रूपमा सम्बन्धित निकायसँग छलफल तथा वार्ता गरिरहेको स्पष्ट गरेको छ ।
महासंघका अध्यक्ष किसान सुनारले विवादका विषयमा छलफल गरी छलफलबाट नै समस्याको समाधान हुने भन्दै यसमा गम्भीर बन्न पनि आग्रह गरेका छन् । सम्बन्धित सङ्घ तथा महासङ्घको विज्ञप्तिका बिच बुधवार राजधानीमा व्यवसायी तथा कालिगड बचाउ नाममा प्रदर्शन गरिएको हो । उनीहरूले राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा लगाइएको कर वृद्धिको विरोध गर्नुका साथै रिद्धि सिद्धिको विरोध समेत गरेका हुन् । उनीहरूले सुनचाँदी पसलहरूसमेत बन्द गराएका थिए । प्रदर्शनका क्रममा केही आन्दोलनकारीले रिद्धि सिद्धिमाथि तोडफोड समेत प्रयास गरेपनि प्रहरीले रोकेको थियो । सबै सुनचाँदी पसल बन्द हुँदा रिद्धि सिद्धि भने खुलै थियो ।
रिद्धि सिद्धिका सञ्चालक नरेन्द्र गुप्ताले आफूहरूले १२ प्रतिशत ज्यालाजर्तीलाई घटाएर ७ प्रतिशतमा झारेको र यो आम उपभोक्ताको हितमा भएको बताए । उनले अब पनि जर्तीको नाममा उपभोक्ताबाट रकम असुल गर्न नहुने भन्दै जति लिने हो ज्यालामा मात्रै शुल्क लिने गरी तोकिनुपर्नेमा बताए । उनले असार १५ सम्म रिद्धि सिद्धिले ७ प्रतिशत ज्यालामै सुनका गहना दिने र त्यसपछि पनि जर्तीको भने कुनै शुल्क नलिने बताए । यो निर्णयको अन्य केही व्यवसायी तथा कालीगडको नामबाट विरोध यो निर्णय सबैले लागु गर्नुपर्नेमा गुप्ताले जोड दिए । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी व्यवसायमा केही समस्या रहेको भए सबै पक्षसँग छलफलका आधारमा निकास निकालिने बताए । यसबाहेक भन्सार दर वृद्धिलगायतको विषय गम्भीर रहेकाले यो समस्या समाधानका लागि महासंघको तर्फबाट पहल भइरहेको पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार