शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

नेपाल र चीनबीच संयुक्त आयोग बनाउने सहमति

बुधबार, असार १३ २०८१

काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक काठमाडौंमा सकिएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपालका परराष्ट्र सचिव सेवा लम्साल र चीनका उपविदेशमन्त्री सुन वेइडोङले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । बैठकमा दुवै पक्षले द्विपक्षीय सम्बन्धका समग्र पक्षको समीक्षा गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
बैठकमा नेपाल र चीनबीच यसअघि भएका सम्झौताहरू कार्यान्वयनका लागि भएको प्रगतिको बारेमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ । दुवै प्रतिनिधिमण्डलका प्रमुखले शान्तिपूर्ण सहअस्तित्व, पञ्चशीलको सिद्धान्त, आपसी विश्वास, सद्भावना र समझदारी कायमै रहेको बताएका थिए । उपविदेशमन्त्री सुनले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा व्यापारका क्षेत्रमा सहयोग अभिवृद्धि, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका अन्य क्षेत्रमा सहयोग गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । दुवै देशका परराष्ट्रमन्त्री रहने गरी संयुक्त आयोग बनाउन नेपालले गरेको प्रस्तावमा चीन सहमत भएको छ । काठमाडौंमा मंगलबार सम्पन्न नेपाल र जनवादी गणतन्त्र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा दुवै पक्ष आयोग बनाउन राजी भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार