शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

अधिकांश उपमहानगरपालिकाको बजेट घोषणा

हर्क साम्पाङले किन ल्याउन सकेनन् बजेट ?

मंगलबार, असार १२ २०८१

काठमाडौँ(जस)–देशका ११ उपमहानगरपालिकामध्ये अधिकांशले निर्धारित समयभित्रै बजेट घोषणा गरेका छन् । कोशी प्रदेशमा २, मधेसमा ३, बागमतीमा १, लुम्बिनीमा ४ र सुदूरपश्चिममा एक गरी ११ उपमहानगरपालिका रहेका छन् । सुनसरीको धरान उपमहानगरपालिका निर्धारित समयमा बजेट ल्याउन असफल बनेको छ । । उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले बजेट आउन नसकेको बताए । ‘बजेटको प्रक्रिया पुरा नगरी नगरसभाको मिति घोषणा भयो । त्यसपछि बजेट आउन सकेन,’ उनले भने । धरानमा हर्क साम्पाङ मेयर रहेका छन् । उनका अनुसार बजेट सिमा निर्धारण समितिको बैठकले बजेटको सिमा निर्धारण गरेर बजेट तर्जुमा समितिमा पठाउने, त्यसपछि विषयगत समितिमा गएर बजेट ब्रेक डाउन गर्ने र तर्जुमा समितिले नगर कार्यपालिकामा लाने, नगर कार्यपालिकाले पास गर्ने कुनै पनि प्रक्रिया सुरु भएको छैन । ‘बजेट निर्धारण समितिमै बजेट रोकिएको छ । त्यो समितिको संयोजक नगरप्रमुख हुनुहुन्छ,’ उपप्रमुख बेघाले भने, ‘संवैधानिक व्यवस्था अनुसार सोमबार बजेट ल्याउनु पर्ने हो त्यसको जिम्मेवारी नगर प्रमुखज्यूले लिनुपर्छ ।’
बजेटको सिमा निर्धारण समितिको बैठक बस्न नसक्नुको कारण खुलाउँदै बेघाले दिएको जानकारी अनुसार नगर प्रमुख हर्क साम्पाङले प्रमुख प्रशासकीय अधिकृतलाई निलम्बन गरेर बजेट सिमा निर्धारण समितिको बैठक डाकेका थिए । त्यो बैठक अवैधानिक भएको भन्दै उपप्रमुखसहित समितिको बैठकमा सहभागी भएनन् । त्यसपछि प्रमुख प्रशासकीय अधिकृतसहित सहभागी भएर छलफल सुरु गरेको भएपनि बजेटको सिमा फाइनल नभइकन समय गुज्रियो । बेघाले यसको जिम्मेवारी नगरप्रमुख साम्पाङले नै लिनुपर्ने बताए ।
यसैगरी जीतपुरसिमरा उपमहानगरले आगामी आर्थिक वर्षका लागि २ अर्ब १० करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । एमाले वडाध्यक्षहरूको विरोधका बाबजुद उपमहानगरले सोमबार नीति तथा कार्यक्रम पास गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । उपमहानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा ५७ करोड ३ लाख रुपैयाँ कमको बजेट ल्याएको हो । उपमहानगरले विगतको घाटा बजेटलाई कटौती गरेर वास्तविक बजेटमात्रै विनियोजन गरेको नगरप्रमुख पौडेलले जनाए । चालु आर्थिक वर्षका लागि २ अर्ब ६७ करोड ५३ लाख रुपैयाँको बजेट ल्याइएको थियो । जसमा चालुतर्फ १ अर्ब २४ करोड ५५ लाख र पुँजीगततर्फ १ अर्ब ४३ करोड ५२ लाख ४४ हजार विनियोजन गरेको थियो ।
नगरप्रमुख पौडेलले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा आर्थिक विकासको लागि कृषि, सामाजिक विकास, पूर्वाधार विकास अन्तर्गत ठुला र बहुवर्षीय योजनालाई प्राथमिकता दिने उल्लेख छ । यसैगरी शैक्षिक प्रशासनिक पर्यटकीय शहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पुर्वाधार समृद्ध कलैयाको आधार भन्ने नारा सहित कलैया उपमहानगरको १३ औ नगरसभा सम्पन्न भएको छ ।
नगरसभामा उपप्रमुख रौषन परविनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उपप्रमुख प्ररविनले आर्थिक वर्ष २०८१÷०८२ को लागि १ अर्ब ५१ करोड ९१ लाख ३३ हजारको बजेट प्रस्तुत गरेकी छन् । अगामी साउनदेखि लागु हुने सो बजेटमा चालु खर्च तर्फ ३४ करोड ५९ लाख ३३ हजार र पुँजीगत खर्चतर्फ ५३ करोड ६२ लाख , समपुरक खर्चतर्फ १ करोड विनियोजन गरिएको छ । आव २०८१÷०८२ को अनुमानित आय तर्फ नेपाल सरकार समानीकरण अनुदान २५ करोड ५२ लाख, ससर्त अनुदान ५४ करोड ४४ लाख, ससर्त अनुदान पुँजीगत तर्फ ६ करोड ५१ लाख, समपुरक अनुदान १ करोड,समानीकरण अनुदान १ करोड ९५ लाख ८८ हजार, प्रदेश सरकारको ससर्त अनुदान १ करोड २५ लाख लगायत रहेको छ । अन्य राजस्व बाँडफाँड, जनसहभागिताबाट प्राप्त गतवर्षको अल्या गरी अगामी वर्षको अनुमानित आय १ अर्व ५१ करोड ९१ लाख ३३ हजारको विवरण सार्वजनिक गरिएको छ ।
यसैगरी मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ४३ करोड ८० लाख ७१ हजारको बजेट सार्वजनिक गरेको छ । नगरसभा बैठकमा हेटौँडाका उपप्रमुख राजेश बानियाँले चालु आवको तुलनामा ४६ करोड ७२ लाख २० हजार रुपैयाँ अर्थात १६ दशमलव ०७ प्रतिशत कम बजेट प्रस्ताव गरेका हुन् । उपप्रमुख बानियाँले राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूलता, सङ्घ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण आगामी आवमा बजेटको आकार घटाइएको बताए ।आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकारको अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ छ ।
यसैगरी धनगढी उपमहानगरपालिकाले २ अर्ब १८ करोड ८२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको बैठकमा उपप्रमुख कन्दकलाकुमारी रानाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाखको बजेट प्रस्तुत गरेकी हुन् । बैठकले नगरप्रमुख गोपाल हमालले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख रानाले प्रस्तुत गरेको बजेट पारित गरेको छ । उपमहानगरले आगामी वर्षका लागि ल्याएको बजेट चालू वर्षको भन्दा २५ करोड ७४ लाख रुपैयाँले बढी हो । आगामी आर्थिक वर्षका लागि चालूतर्फ एक अर्ब २० करोड १५ लाख र पुँजीगततर्फ ९८ करोड २६ लाख विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिएकी छन् ।
यसैगरी लुम्बिनी प्रदेशका चार वटा उपमहानगरपालिकाले पनि बजेट ल्याएका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि १ अर्ब ५० करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । सोमबार नगर सभाको १५औँ अधिवेशनमा नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेका हुन् । यो बजेट चालू आर्थिक वर्षको भन्दा करिब ३५ करोड कम हो ।आगामी आर्थिक वर्षमा २३ वटै वडाहरुका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले यसबर्ष दुई अर्बभन्दा बढीको बजेट ल्याएको छ ।
उपमहानगरका उपप्रमुख स्यानी चौधरीले सोमबार आर्थिक बर्ष २०८१र०८२ का दुई अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँया बराबरको बजेट सार्वजनिक गरिन् । उपमहानगरले सबैभन्दा धेरै बजेट शिक्षामा र कम बजेट पशुतर्फ विनियोजन गरेको छ । कुल बजेटको ३०।५७ प्रतिशत अर्थात ६३ करोड ४२ लाख ४९ हजार रुपैँया बजेट शिक्षामा छुट्याएको छ । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१र८२ का लागि रु दुई अर्ब ४२ करोड ७७ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूर्वाधार, कृषि, शिक्षा, सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिएको छ ।
नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक हुमाकुमारी डिसीले सोमबार पन्ध्रौँ नगरसभामा आगामी बजेट सार्वजनिक गरिन । घोराहीले चालु आवभन्दा रु २६ करोड ९४ लाख १८ हजार बढीको बजेट ल्याएको छ । चालु आवका लागि उपमहानगरले रु दुई अर्ब १५ करोड ८३ लाख बजेट विनियोजन गरेको थियो । कूल विनियोजित रकममध्ये सङ्घ सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु ८२ करोड ९७ लाख ५८ हजारमध्ये रु ११ करोड ६३ लाख २० हजार अर्थात १४ दशमलव ०२ प्रतिशत पुँजीगत खर्च र रु ७१ करोड ३४ लाख ३८ हजार अर्थात ८५ दशमलव ९८ प्रतिशत चालु खर्च रहेको छ । यसैगरी बुटवल उपमहानगरपालिकाले भने २ अर्ब ९९ करोडको बजेट ल्याएको छ । यस्तै बाँकी जनकपुर र इटहरी उपमहानगर भने बजेट ल्याउने क्रममा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार