आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर

मंगलबार, असार १२ २०८१

काठमाडौं(जस)–‘लिटिल बुद्ध’ का नामले चर्चित रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहरिएका छन् । सोमबार (सोमबार) सर्लाही जिल्ला अदालतले बमजनलाई दोषी ठहर गरी सजाय निर्धारणका लागि अर्को पेसी तोकेको छ । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बमजनलाई दोषी ठहर गर्दै असार १७ मा सजाय निर्धारणका लागि पेसी तोकेको छ ।
बमजनविरुद्ध बालयौन दुरुपयोगमा नाम थर परिवर्तित २२ जिल्ला बस्ने (क १) को छोरी वर्ष १८ की परिवर्तित (क) को जाहेरी परेको थियो । हत्या र यौनहिंसाका आरोपित बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत पुस २४ गते बुढानीलकण्ठस्थित गत एक घरबाट पक्राउ गरेको थियो ।
बमजनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बमजनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । बमजन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । पछिल्लो समय भने बमजन सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनी बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए । ब्युरोको टोलीले उनलाई पक्राउ गर्न ४ असार २०७७ मा छापा मारेको थियो । तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए ।
प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको आश्रममा छापा हानेको थियो । प्रहरीले त्यहाँ बेपत्तामध्येका एक हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशंका गरेको थियो । प्रहरीले करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट भेटेको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि थप प्रमाण फेला परेको छैन ।
२०७५ पुस ९ मा पीडितहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बमजनबाट बेपत्ता पारिएकाको खोजीमा सरकारले तत्परता देखाउनुपर्ने माग राखेका थिए । पत्रकार सम्मेलनमा नुवाकोट म्यागङ गाउँपालिका–३ देउरालीकी गंगामाया तामाङले २०६८ सालमा बमजनको आश्रममा गएकी आफ्नी साइँली बहिनी हराइरहेको बताएकी थिइन्  । हेटौंडाका महेन्द्र वाइबाले २०७२ चैत १४ गते बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल त्यसपछि हराएको बताएका थिए । हेटौंडाकै वीरबहादुर रुम्बाकी छोरी फूलमाया २०६८ मा बाराको हलखोरिया जंगलमा तपस्यारत भनिएका बमजनबाट प्रभावित भएपछि उनकै पछि लागेकी थिइन् । तर, उनी पनि सम्पर्कमा नरहेको पीडित परिवारको भनाइ छ । बमजन २४ पुसमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । लामो समय लुकेर बसेका उनलाई पक्राउ गर्न प्रहरीले निकै कसरत गर्नु परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार