काठमाडौं(जस)–सरकारले हचुवाको भरमा राजदूत सिफारिस गरेको आरोप लागेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागबण्डाका आधारमा ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सिफारिस भएकामध्येका एक सुशील प्याकुरेलले सरकारले आफूसँगको परामर्श बिनै दक्षिण कोरियाको राजदूतमा सिफारिस गरेका भन्दै असन्तुष्टि पोखेका छन् । उनले आफ्नो नाम राजदूतबाट फिर्ता लिन औपचारिक रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
प्याकुरेलको यो पत्राचारपछि सरकारको आलोचना भएको छ भने देशको प्रतिष्ठासँग जोडिएको विषयमा समेत अपरिपक्व निर्णय गर्ने काम सरकारबाट भएको भन्दै आलोचना भएको हो । प्याकुरेलले आइतबार जारी गरेको विज्ञप्तिमा सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पत्र दर्ता गराइसकेको उल्लेख छ । ‘आजै (आइतबार) प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु’, उनको विज्ञप्तिमा उल्लेख छ, ‘यसबिच मलाई बधाई, शुभकामना दिँदै मप्रति सद्भाव प्रकट गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु ।’
असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आफूलाई दक्षिण कोरियाको राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको जानकारी सञ्चारमाध्यममार्फत पाएको पनि उनको विज्ञप्तिमा दाबी गरिएको छ ।
‘मैले प्रस्ट शब्दमा उल्लेख गर्ने पर्छ, मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केत समेत दिइएन । राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु’, उनको विज्ञप्तिमा भनिएको छ ।
राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको उनले बताए । शुक्रबार पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गर्ने निर्णय भएको थियो । त्यस्तै, अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल र डेनमार्कका लागि सुम्निमा तुलाधर राजदूत सिफारिस भएका थिए ।
यसैगरी डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, नेत्रप्रसाद तिमल्सेना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरेबियाका लागि राजदूत सिफारिस भएका थिए । यसअघि सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोटाबाट राजदूत भएकालाई फिर्ता बोलाउने निर्णय गरेको थियो । अहिले पनि राजदूत राजनीतिक भागबण्डाका आधारमा सिफारिस भएका हुन् । जसअनुसार एमाले, माओवादी र जसपाको कोटाबाट राजदूत सिफारिस भएको एक नेताले जानकारी दिए ।
राजदूत सिफारिस विवादमा समेत तानिएपछि अब सरकारले यसबारे थप छलफल गरेर प्याकुरेललगायतका विषयमा निर्णय लिने एक नेताले जानकारी दिए । ती नेताका अनुसार अहिले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विदेशमा रहेको र उनी फर्किएपछि क्याबिनेट बैठक राखेर आवश्यक निर्णय गरिने छ । श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन शनिबारमात्रै इरानतर्फ प्रस्थान गरेका थिए । मन्त्री श्रेष्ठ असार १२ गते स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।