काठमाडौं(जस)–सरकारले देशमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको तथ्यांकसहितको विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको १० महिनाको अवधिमा १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अघिल्लोे वर्षको सोही अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स आप्रवाह बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भएको छ । यससँगै यस अवधिमा ९ अर्ब २ करोड डलर रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।
यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३ लाख ७४ हजार ८८७ छ । यस्तै पुन श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो स्वीकृति लिनेको संख्या ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ थियो । यस हिसावले वैदेशिक रोजगारीमा जाने नेपालीको तथ्यांक घटेको देखिन्छ । पहिलो पटक श्रम स्वीकृति लिएर विभिन्न २० देशमा नेपाली श्रमिक गएको तथ्यांकले देखाएको छ । त्यस्तै सोही अवधिमा दुई लाख ३७ हजार ८९३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । त्यसरी पुनः श्रम स्वीकृति लिने समेत विभिन्न २० देशकै लागि रहेका छन् ।
जसअनुसार वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा बढी यूएईमा रहेका छन् । जहाँ पछिल्लो १० महिनामा १२८.२ प्रतिशतले बढेको देखिन्छ भने मलेसियामा ६२.४ प्रतिशतले घटेको देखिन्छ । चालु आर्थिक वर्षको १० महिनामा एक लाख २ हजार ८४४ नेपाली वैदेशिक रोजगारीका लागि यूएई गएका छन् । त्यस्तै मलेसियामा ७४ हजार ७०७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै साउदी अरेबियामा ५८ हजार २५८, कतारमा ३४ हजार २०२, कुवेतमा २४ हजार ४८८, साउथ कोरियामा १० हजार ९८८, रोमानियामा ८,९१९, जापानमा आठ हजार ७२०, माल्दिभ्समा चार हजार ८३१, साईप्रसमा चार हजार ४११, माल्टामा चार हजार ३७१, बहराइनमा तीन हजार ८०७, ओमानमा दुई हजार ३९८, पोल्याण्डमा एक हजार ५५५, जोर्डन एक हजार ५८ जना नेपाली वैदेशिक रोजगारीका लागि गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै इजरायल १०३, टर्की ९० जना, अफगानिस्तान २७, लेबनान १३ र अन्य विभिन्न मुलुकमा २८ हजार ६४२ जना नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका छन् ।
बैंकका अनुसार विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले बढेको छ । १० महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार २०८० असार मसान्तको तुलनामा २६.२ प्रतिशतले विदेशी विनिमयको सञ्चिति बढेको हो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थियो । जुन, २०८१ वैशाख मसान्तसम्मको अवधिमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको हो । यो ४ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढीको वृद्धि हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड थियो । जुन, २०८१ वैशाख मसान्तसम्ममा आइपुग्दा २४.२ प्रतिशतले बढेर १४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालमा रहेको कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड थियो ।
२०८१ वैशाख मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २८ प्रतिशतले बढेर १७ खर्ब २२ अर्ब २ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ विदेशी विनियमको सञ्चिति थियो । २०८१ वैशाख मसान्तसम्ममा आइपुग्दा २ खर्ब २० अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यो १३.८ प्रतिशतको वृद्धि हो । नेपालमा रहेको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ । २०८०÷८१ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात धान्न सक्छ । यस्तै १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने समेत राष्ट्र बैंकले जनाएको छ ।
२०८१ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायकसँगका अनुपात क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत छन् । २०८० असार मसान्तमा यी अनुपात क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत थियो । बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । यस्तै आयात २.४ प्रतिशत, निर्यात ३.६ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेको छ । यसबाहेक नेपाल सरकारको खर्च रु.१०५६ अर्ब ८९ करोड र राजस्व परिचालन रु.८३१ अर्ब ९३ करोड रहेको छ । यस्तै विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ । यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.८ प्रतिशतले बढेको भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२ प्रतिशत रहेको पनि तथ्यांकमा उल्लेख छ ।