आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रधानमन्त्रीसहित २१ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : मन्त्रीहरुमा सुन मोह, आफन्तको नाममा सम्पत्ति

मंगलबार, जेष्ठ ८ २०८१

काठमाडौं(जस)– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा रहेका दुई जनाबाहेक सबैको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार प्रधानमन्त्रीसहित २१ जनामन्त्री तथा राज्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानको भने सम्पत्ति विवरण सार्वजनिक भएको छैन । उनीहरु जनता समाजवादी पार्टी नेपाल विभाजन भएर मन्त्रिपरिषद् पुर्नगठन हुँदा हालैमात्रै मन्त्री बनेकाले विवरण सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ ।
तर, प्रधानमन्त्रीले आफू मन्त्री भएयता डेढ दर्जन पटक मन्त्रिपरिषद् पुर्नगठन र विस्तार गर्दासम्म हालसम्म कसैको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको थिएन । सम्पत्ति विवरण नै सार्वजनिक नगरी यो बीचमा कतिपय मन्त्री बिदा नै भइसकेका छन् । मन्त्रिपरिषद्का सदस्यले २ महिनाभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएपनि लुकाएर राखिएको थियो । केही साताअघि रास्वपाका मन्त्रीहरुले आफूहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न पत्र नै पठाएपछि भने प्रधानमन्त्री कार्यालय सबैको सम्पत्ति विवरण सार्वजनिक गर्न बाध्य भएको बताइएको छ ।
सम्पत्ति विवरणअनुसार एकाधबाहेक अधिकांश मन्त्रीहरु धनी र विलासीसमेत देखिएका छन् । कतिपय मन्त्रीहरुको अथाह सम्पत्तिमात्रै होइन सुन र चाँदीमा पनि उस्तै मोहन देखिएको छ । यस्तै केही मन्त्रीले आफ्नो नाममा सीमित घरजग्गा र सेयर राखेर आफन्तको नाममा बढी राख्ने गरेको पनि पाइएको छ । सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रचण्डले देखाएका हुृन् । यस्तै स्वर्गीय पत्नी सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उनले जनाएका छन् ।
यस्तै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख गरेका छन् । यस्तै राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखाएका छन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बा १०च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि उनले सम्पत्ति विवरणमा राखेका छन् । सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको सम्पत्ति रहेको छ ।
जनकपुर उपमहानगरपालिकामा ४२०० वर्गमिटर जग्गा, साँढे २ तले घर, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना, २ दाम १ पैसा जग्गा र त्यसमा रहेको साढे २ तले घर रहेको छ । यस्तै श्रीमती जुली कुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ बिघा, ३ कट्ठा जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कट्ठा जग्गा रहेको छ । यस्तै रघुवीरको नाममा धनुषामा १ बिघा १५ कट्ठा जग्गा रहेको छ ।
यस्तै नगदतर्फ २ करोड २५ लाख रुपैयाँ सम्पत्ति रहेको छ । सुन ४३ तोला, चाँदी १५० केजी रहेको छ । ७ थान औँठी, ३ थान सिक्री, ३ जोडी कानमा लगाउने र २ जोडी चुरा रहेको छ । यस्तै जुली महतोको नाममा गुडविल फाइनान्समा ५ लाखको शेयर, महिला लघुवित्त संस्थामा रु १ करोडको शेयर, कर्पाेरेट बैंक वीरगञ्जमा २ करोड ५० लाखको शेयर रहेको छ । यस्तै धनुषाको क्षिरेश्वरनाथ नपामा ३३ बिघा, सबैला नापामा ३९ बिघा १४ धुर जग्गा र मिथिला बिहारी नपामा १० कट्ठा जग्गा रहेको छ ।
यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् । यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् । यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ । यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।
यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालसँग करोडौँको चलअचल सम्पत्ति रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार अर्यालकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर रहेको छ । यस्तै उनको र अम्बिका केसीको नाममा १२ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । धादिङको गजुरी, काठमाडौँको नागार्जुन र लमजुङको राइनासमा उनको जग्गा रहेको हो । उक्त जग्गा व्यापार र निजी कमाइबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र हिरा १० तोला रहेको छ । सबै सुनचाँदी र हिरा व्यापारबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै अर्यालको विभिन्न बैंकमा नगद मौज्दात, सेयर र गाडी सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार