बिहिबार, बैशाख १३ २०८१
काठमाडौं(जस)–कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण सम्पन्न भएसँगै कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकाल बिहीबार पत्रकारमाझ उत्साहित ढंगले प्रस्तुत भए । भ्रमण सफलपश्चात आफ्नो भूमिका बढेको महसुश गरेको बताएका उनले आफ्नो कार्यकालमा यससम्बन्धी बाँकी काम पूरा गराउन पहलकदमी लिने प्रतिबद्धता जनाए । उनले कतारसँगको श्रम सम्झौतासम्बन्धी विषय छलफलमै रहेकाले छिट्टै नतिजा निस्कने विश्वास पनि व्यक्त गरे । ढकालसँग सोही क्रममा गरिएको कुराकानी :
कतारी अमिरको नेपाल भ्रमणलाई कसरी हेर्नुभएको छ ?
नेपालका सम्माननीय राष्ट्रपतिको निमन्त्रणामा यही २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालमा राजकीय भ्रमण सफल रूपमा सम्पन्न गर्नुभएको छ । म राजदूतमा नियुक्त हुने क्रममा संघीय संसद्, संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्य योजनाको दोस्रो योजनामा कतारका अमिरको नेपाल भ्रमण गराउन पहलकदमी लिने भनेको थिएँ । त्यसका लागि राजदूत भएपछि दुई वर्षको अवधिमा पाँच पटकसम्म अमिरसँग भेट्ने अवसर मिल्यो । भ्रमणका लागि पटकपटकको अनुरोध पछि मिति तय गरिएको हो ।
विभिन्न परिवेशले तोकिएको मिति नोभेम्वर ६–७ २०२३ का लागि स्थगन भएतापनि अरब देशहरूबाट पहिलोपटक ऐतिहासिक रूपमा भ्रमण भएकाले सबैका लागि अपूर्व खुशीको अवसर हो । सफल भ्रमणपश्चात् कतारलाई विकास साझेदार मित्र राष्ट्रका रूपमा अगाडि बढाउनका लागि मैले आगामी दुई वर्षलाई अवसर र चुनौतीको रूपमा लिएको छु र मलाई विश्वास छ, नेपालका तर्फबाट गरिएका अपेक्षाहरू अधिकाश मेरै कार्यकालमा पूरा गराउन प्रतिबद्ध रहने छु ।
कतारी अमिरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरुलाई कसरी लिनुभएको छ ?
भ्रमणका अवसरमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र कतार सरकार तथा कतार च्याम्बरका बिचमा एकआपसमा सहयोग आदान प्रदान गर्ने गरी आठवटा समझदारी तथा सम्झौता भएका छन् । दुई देशबीच संस्कृति तथा कला, शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान, युवा तथा खेलकुद, नेपालको महान्यायाधिवक्ता र कतारको सरकारी अभियोजन (कसैको उपर फौजदारी मामिला चलाउने काम) बिच समझदारी भएको छ । यस्तै कुटनीति तालिम तथा शिक्षा, राष्ट्रिय समाचार समिति र कतार न्युज एजेन्सी बिच समाचार आदान प्रदानको सम्झौता, नेपाल उद्योग वाणिज्य महासंघ र कतार च्याम्बर लगानी सम्बन्धि पुनः समझदारी, नेपाल उद्योग वाणिज्य महासंघ र जोइन्ट विजनेश काउन्सिल, कतार समझदारी भएका छन् ।
तर, श्रम सम्बन्धी सम्झौतामा घरेलु कामदार र समय सापेक्ष कामदारका सेवा सुविधाहरू परिवर्तन गर्नुपर्ने भएकाले हाल हुन सकेको छैन । यो विषय हाल छलफलका क्रममा रहेकाले हुन नसकेको र दुवै पक्षको प्रयासमा नेपालको हितमा हुने गरी आपसी छलफलबाट सकेसम्म छिटो टुङ्गो लगाइने छ । नेपालका लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित रूपमा हुन नसकेको अवस्थामा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय उडानका लागि कतार एयरलाइन्सको उडान गर्नका लागि अनुरोध गरिएको छ । सो सम्बन्धमा कतारको तर्फबाट उत्सुकतापूर्वक लिइएको छ ।
कतार इन्भेस्टमेन्ट अथोरिटिको एसिया क्षेत्र हेर्ने चिफ इन्भेस्टमेन्ट अफिसरसँग अन्तिममा मसँग भएको छलफल अनुसार सकेसम्म छिटो कतारमा बैठकको आयोजना गरी दुवै विमानस्थललाई पर्यटकीय विमानस्थलको रूपमा उडान सुचारू गर्न प्रयास गर्ने छलफल भएको छ । नेपालका तर्फबाट लगानीका लागि कृषि, उर्जा, पर्यटन, होटल लगायत विभिन्न क्षेत्रका लागि अनुरोध गरिएकोमा कतारको तर्फबाट कृषि, उर्जा र पर्यटन क्षेत्रका लागि लगानीका सम्भाव्यताहरू अध्ययन गर्न संयुक्त समिति निर्माण गर्ने र त्यसका आधारमा लगानी गर्न पहल गर्ने कतारका तर्फबाट भनिएको छ ।
राजालाई नेपाल भ्रमण गराउने क्रममा कठिनाइहरु पनि केही उत्पन्न भयो कि ?
अघि पनि भनेँ, म राजदूत हुने बेलामा संसदको संसदीय सुनुवाइ समितिमा नियमअनुसार पेश गर्नुपर्ने कार्ययोजनामा मैले उक्त कार्ययोजनाको दोस्रो बुँदामा कतारबाट राज्य प्रमुखको उपस्थिति नेपालमा बनाउने लक्ष्य राखेको थिएँ । आज मेरो कार्ययोजनाको दोस्रो बुँदा पुरा भएको छ। पहिलो पटक मैले अमिरलाई भेट्दा, मेरो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रम थियो । त्यसबेला मैले नेपाल भ्रमणको निमन्त्रण दिएको थिएँ । तर, अमिरले २०२२ मा व्यस्त भएको तर २०२३ मा प्रयास गर्ने जवाफ दिनुभएको थियो। मलाई २०२३ मै भ्रमण हुने विश्वास थियो । तर, अन्तर्राष्ट्रिय घटनाक्रमका कारणले त्यो सम्भव हुन सकेन । अहिले भ्रमण भएको छ भने त्यो अत्यन्तै फलदायी भएको छ ।
यसैगरी भ्रमणको पहलका क्रममा मलाई एकदमै बढी सहजीकरण भयो । प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरू लगायतले एकदमै ‘इन्करेज’ गर्नुभयो । कतारका अमिरलाई नेपाल भ्रमण गराउनु एकदमै राम्रो हुन्छ भनेर मलाई हौसला दिइरहनुभयो । जसले गर्दा पनि निकै उत्साहित थिएँ ।
अर्कोतिर परराष्ट्रमन्त्रीज्यू लगायतले पनि निकै सहयोग गर्नुभयो । म नियुक्त भएर गएपछि परराष्ट्रमन्त्रीका रुपमा आउनुभएका नारायण खड्का, एनपी साउद र नारायणकाजी श्रेष्ठबाट पनि निकै सहयोग मिल्यो । सबै क्षेत्रबाट मलाई मेरो काममा सहयोग नै मिलेको थियो ।
कतारले नेपाललाई उच्च प्राथमिकतामा राख्नुको कारण के हो ?
३० औँ वर्षदेखि नेपालीहरू कतारमा काम गरिरहेका छन् । उनीहरूलाई आफ्नो समृद्धिमा नेपालीहरूको ठुलो योगदान छ भन्ने लागेको छ । जहिल्यै भेट हुँदा कतारमा काम गर्ने नेपाली र कतारको जनसङ्ख्या बराबर छ भन्ने कुरा उहाँहरुले गर्नुहुन्थ्यो । हाम्रा नेपालीले गरेको योगदानका कारण कतार निकै सकारात्मक थियो ।
दोस्रो कुरा, नेपाल विश्वका दुई शक्तिशाली देशको बिचमा छ । नेपालको असंलग्न परराष्ट्र नीति छ । अन्तर्राष्ट्रियस्तरमा नेपालले उठाउन गर्ने मुद्दा र कतारले उठान गर्ने मुद्दा मिल्दा रहेछन् । हामीले भोटिङ गर्ने ठाउँमा कतारको पनि त्यही खालको हुने रहेछ । धेरै कुरामा समानता छ । उठान गर्ने मुद्दाहरूसमेत उस्तैउस्तै रहेछन् ।
पछिल्लो समय नेपालले उठान गर्दै आएको विषय जलवायु परिवर्तनको हो । कतारको हकमा पनि जलवायु परिवर्तनको मुद्दा प्रमुख बनेको छ । हाम्रोमा अहिले गर्मी बढिरहेको छ भने कतारमा चिसो बढिरहेको छ । क्लाइमेट चेन्जको असर त सबैलाई परिरहेको छ । यसको असर नेपाललाई मात्रै नभइ हामीलाई पनि पर्छ भनेर कतार यो विषयमा गम्भीर देखिन्छ । नेपाल पर्यटनको लागि राम्रो गन्तव्य मुलुक हो भन्ने बुझेका छन् । कतारको राजपरिवारबाट हिमाल आरोहण पनि भइसकेको थियो । त्यस्तै, खाद्य सुरक्षाबारे पनि कतार सचेत देखिन्छ । नेपाल उच्च सम्भावना भएको देश हो भनेर बुझेका छन् । नेपाल जलस्रोतमा धनी, प्राकृतिक सम्पदामा समेत सम्पन्न देश हो भन्ने बुझेका छन् । यी लगातयका विविध कारणले नेपाल कतारको प्राथमिकतामा परेको देखिन्छ ।
निकै महत्वका साथ हेरिएको नेपाल–कतारबीचको श्रम सम्झौता अब कहिले हुन्छ ?
धेरैको जिज्ञासा घरेलु कामदारसम्बन्धी सम्झौता किन भएन भन्नेखालको रहेको छ । सो सम्बन्धमा म के स्पष्ट पार्न चाहन्छु भने हामी लामो समयदेखि कतार र नेपालबीचको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने परिस्थितिमा पुगेका छौँ । किनकी बजारको मूल्य धेरै माथि पुगेको छ । तत्कालीन अवस्थामा श्रमिकका लागि गरिएको न्युनतम, सेवा, सर्त र सुविधाहरु परिवर्तन गर्नुपर्ने अवस्था भएको छ । अर्कोतर्फ पहिलो पटक कतारले घरेलु कामदार नेपालबाट लैजाने इच्छा राख्यो । जसका कारण हामीले उक्त समझदारीअघि व्यापकरुपमा छलफल गर्नुपर्ने र त्यसबारेपछि पछुताउनु भन्दा केही समय ढिलो भएपनि सार्थक परिणाम दिनेतर्फ हामी लागेका हौँ । नेपाली कामदारको पक्षमा हुनेगरी निष्कर्षमा पु¥याउनुपर्ने भएकाले हाललाई निरन्तर छलफल गरी टुंग्याउने गरी यस पटक सम्झौता हुन नसकेको हो । सम्झौता जतिसक्दो छिटो हुन्छ ।
सम्झौतालाई कार्यान्वयन गर्ने मामिलामा यहाँको भूमिका के हुन्छ ?
जुन प्रकारले जे जे कुराहरु छलफलमा आएका तर कतिपय कुरा नटुंगिएका पनि छन् । म नेपालको प्रतिनिधित्व गर्ने एउटा राजदूतको हिसाबले कतारसँग समन्वयकारी भूमिका निर्वाह गरी नेपालको हितमा हुनेगरी आगामी दिनमा ति कुराहरु बारम्बार उठाउँदै जाने मैले सोच गरेको छु । मेरो त्यो कर्तव्य र जिम्मेवारी पनि हो । भ्रमण सफल पश्चात आफ्नो भूमिका बढेको महसुस गरेको छ। मेरो कार्यकालमा बाँकी काम पूरा गराउन पहलकदमी गर्नेछु ।
कतारी राजाको भ्रमणमा काठमाडौँमात्रै सीमित हुनुभन्दा बाहिर पनि गएको भए राम्रो हुन्थ्यो कि भन्ने प्रश्न पनि छ नि ?
यसमा के हो भने कतिपय कुराहरु हामीले कार्यक्रमको मोडल तय गर्दा दुईटा देशको आफ्नो आफ्नो प्राटोकल छ, त्यो प्राटोकललाई मध्यनजर गरी हामीले सबै कुरा पूरा गरेका छौँ । उहाँहरुको तर्फबाट गुनासो रहने अवस्था छैन । किनभने दुबै पक्षको समझदारीबाट के के कामहरु गर्ने भन्ने टुंगिएको हो । दुईटैको प्रोटोकलको कारणले पर्यटकीय क्षेत्रलगायतको भ्रमण नभएको हो ।मलाई जहाँसम्म लाग्छ, अमिरबाट कुनै पनि गुनासो गर्ने बाटो हामीले राखेको छैन । अमिर नेपाल आउँदा विभिन्न पर्यटकीय स्थल घुमाउँ भन्ने नै थियो । यद्यपि यहाँहरुलाई थाहा छ मध्यपूर्वमा नै एकप्रकारको अशान्तिको वातावरण छ । जसमा विश्व शान्तिका लागि कतारको सरकार अथवा अमिरको तर्फबाट समन्वयकारी भूमिका खेल्दै आइएको छ। हामीले उहाँको तीन दिनको समय अपेक्षा गरेका थियौँ । तर, उहाँहरुको व्यस्तताको कारणले छोटो भ्रमण भयो र यसपटक यो सबै सफल भएन ।
कतारको अमिरको भ्रमणका क्रममा हात्ती लैजाने भनिएको थियो, यसले कसरी मूर्तरुप पाउला ?
नेपालका तर्फबाट एक जोडी हात्ती उपहार दिनका लागि केही महिना अगाडिदेखि विभिन्न कार्यहरू र छलफल भइरहेको हो । अन्तर्राष्ट्रिय कानूनको पालना गरेर मात्र दिनुपर्ने भएकाले कागजी प्रक्रिया टुंगिन बाँकी छ । आगामी दिनहरूमा उपहार प्रदान गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएपश्चात् उक्त प्रक्रिया पूरा हुने छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij