काठमाडौं(जस)–कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाली किसानको दीर्घकालीन समस्या समाधानका लागि रासायनिक मल आयात गर्न जीटुजी गर्न जोड दिइएको छ । हरेक वर्ष रासायनिक मलको हाहाकार भइरहेको सन्दर्भमा सस्तो र सुलभ मूल्यमा मल आयात गर्न सकिने अवस्था रहेको भन्दै सरोकारवालाले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।
तर, नेपाली पक्षको उदासीनताका कारण भ्रमणकै क्रममा यस सम्बन्धी सम्झौताले मूतरुप लिन नसक्ने देखिएपनि अहिले सैद्धान्तिक सहमतिमात्रै गरेर भएपनि अगाडि बढ्न उनीहरुको जोड छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा कतारका स्थापित व्यवसायी राजेन्द्र कुमार शर्मा (आरके) ले नेपाल र कतारबिच जीटुजीमार्फत मल खरिदको सम्झौता हुनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालमा बर्सेनि रासायनिक मलको हाहाकार हुने गरेको छ । दुई देशबिच खरिद सम्झौता हुन सकेको खण्डमा नेपाली किसानले अहिले जारी समस्याबाट मुक्ति पाउन सक्छन् ।’
यसमा नेपाली पक्षले चासो दिनुपर्नेमा जोड दिँदै उनले कतारी अमिरको भ्रमणका क्रममा मल खरिदबारे सम्झौता हुनुपर्नेमा जोड दिए । कतारले युरिया मल निर्यात गर्दै आएको छ । तत्काल जीटुजी माध्यमबाट सम्भव नहुने अवस्था रहेको खण्डमा निजी क्षेत्रबाट पनि आयातका लागि ढोका खुला गरिनुपर्नेमा व्यवसायीहरूको जोड छ ।मलका लागि जीटुजी सम्झौता हुन अहिले नसकेमा मल कारखानाका लागि नै पनि कतारसँग पहल गर्न सकिने पनि बताइएको छ । ‘लगानी सम्मेलन पनि हुन गइरहेको छ, कतारले मल कारखाना खोल्नमा लगानी गर्दा राम्रै हुन्छ’, कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
कृषि मन्त्रालयका अनुसार बुधबार हुने कतारी अमिर र प्रधानमन्त्री प्रचण्डसँगबिचको छलफलको एजेन्डामा रासायनिक मल पनि राखिएको थियो । रासायनिक मलमा नेपाल–कतार बिच जीटुजी सम्झौता हुने भनेर दुई पक्षबीच छलफल पनि भएको थियो । तर तयारी नपुगेको कारण यस पटक त्यसमा सम्झौता नहुने देखिएको स्रोतले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्द शर्माले रासायनिक मलमा जीटुजी गर्ने विषयमा केही पहिले कतारबाट एउटा पत्र आएको बताए । तर यसमा उल््लेख्य प्रगति नभएको बताउँदै उनले कतारी अमिरको भ्रमणका क्रममा पनि यसबारे चर्चा चलेपनि ठोस प्रगति हुन नसकेको उनले बताए । कृषि मन्त्रालयले भारतसँग जीटुजी सम्झौता गरिसकेको अवस्थामा अर्को थर्ड कन्ट्रीसँग तत्कालै सम्झौता नहुने उनको भनाइ छ ।
तर, रासायनिक मल उत्पादनमा कतारले राम्रो गरेकाले त्यहाँबाट जीटुजी सम्झौता गरी मल ल्याउन सके राम्रो हुने मन्त्रालयकै अधिकारीहरू बताउँछन् । यसैबीच कतारी अमिरको भ्रमणलाई मध्यनजर गर्दै कतारका स्थापित नेपाली व्यवसायीहरु नेपाल आएका छन् । उनीहरु आफ्नो मातृभूमिमा कतारी अमिरको स्वागतमा सहभागी हुन नेपाल आएका हुन् । नेपाल आउनेमा स्थापित व्यवसायीहरु आरके शर्मा, एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, नेपाली व्यवसायसी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाई, प्रोफेसर रमजान अली मियाँ, कतारका पहिलो नेपाली व्यापारी देवकाजी डंगोललगायत छन् ।
उनीहरु सरकारी तहकै निमन्त्रणमा यहाँ आउँदै स्वागतमा सहभागी भएको बताइएको छ । उनीहरु विमानस्थलमा अमिरको स्वागतदेखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा भ्रमण सफल बनाउन लागिपरेको बताइएको छ । यस्तै कतारमै विभिन्न पेश व्यवसायमा कार्यरत नरेन्द्र भाट, बुद्धिप्रसाद भण्डारी, होमनाथ शर्मालगायतका दर्जनौँ व्यक्तित्वहरु पनि नेपालमा अमिरको स्वागतका लागि आइपुगेका छन् । कतार नेपालीका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य हो भने करिब एक हजारको हाराहारीमा नेपाली व्यवयासी समेत रहेका छन् ।