काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा पहिलोपटक नेपाल आउँनेदा उनको स्वागातार्थ कतारमा रहेका नेपाली तथा व्यवसायीहरु स्वदेश आएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार अपरान्ह नेपाल आएका कतारी राजाको भ्रमणमा खुशी व्यक्त गर्दै स्वागत गर्नका लागि उनीहरु जुटेका थिए ।
नेपाली व्यवसायी संघ, कतारले सिनामंगलको कार्गो अफिस अगाडि, गैरआवासीय नेपाली संघ, कतारले माइतिघरमा र कतारका लागि नेपाली पर्यटनदूत आरके शर्माले नयाँ बानेश्वर चोकमा छुट्टाछुट्टै स्वागत द्वार निमार्ण गरेका छन् ।

कतारमा कर्मथलो बनाइरहेका नेपालीहरुले आफ्नो देशको राजा जन्मभूमीमा आउदा खुशीको सीमा नै नरहेको बताएका छन् । उनीहरुले दुई देशबीचको सम्बन्ध विस्तार हुनुका साथै कतारबाट धेरै फाइदा लिन सकिने हुँदा यो अवसरको सदुपयोग गर्नुपर्ने जनाउँछन् ।
कतारमा सफल व्यवसायीको पहिचान बनाएका आरके शर्मा कतारका लागि नेपाली पर्यटनदूत समेत हुन् । उनी कतारी राजाको नेपाल भ्रमणबाट धेरै लाभ लिन सक्नु पर्ने तर्क राख्छन् । उनका अनुसार लामो समयदेखि कतारमा खाद्य सामग्री त्यसमा पनि जैविक सामग्री यूरोपलगायतका देशबाट आउँछ । त्यसको सट्टामा अब हामीले कृषिजन्य अर्गानिक उत्पादन यो बेलामा सम्झौता गरेर कतारमा बिक्री गर्न सक्नुपर्ने बताउँछन । नेपालको पानी र अर्गानिक खाद्यान्न कतारको चुल्होमा पु¥याउन सकिने शर्मा बताउछन ।
यस्तै कतार एयरलाइन्सलाई कार्गोमा ५० प्रतिशतसम्म छुट गरिदिनुस् भनेर अनुरोध ग¥यौँ भने पनि त्यसमा सफलता मिल्न सक्ने शर्मा बताउछन । अहिले विश्वका शक्तिशाली देशहरु स्वच्छ ऊर्जातर्फ आकर्षित भएका छन् । आगामी दिनमा मध्यपूर्वका राष्ट्रलाई पनि स्वच्छ ऊर्जा, साहसिक पर्यटन र डेटा अर्काभिङलगायत सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आकर्षित गर्न सकिने शर्माको भनाई छ ।
मध्यपुर्वको महत्वपुर्ण शक्ति राष्ट्रको प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपाल सरकारले पनि कतारका राजाको सम्मानमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय नै गरेको छ ।
अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तार हुने नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लागाईले बताएका छन् । राजाको भ्रमणका लागि हिजो राति स्वदेश आइपुगेका चम्लागाई आज विहानै स्वागत गेट बनाएको स्थल सिनामंगलमा भेटिए ।
केही दिनयता एशियाली देशको औपचारिक भ्रमणमा निस्केका कतारी अमिर फिलिपिन्स र बंगलादेशको भ्रमण सकेर त्यतैबाट दुई दिनका लागि नेपाल आउन लागेका हुन् ।
यो भ्रमण मध्यपुर्व बाटै पहिलो राष्ट्राध्यक्षको रुपमा नेपाल भ्रमण हुँदैछ । जसले नेपालमा मध्यपुर्व एवं अरब मुलुकहरुका उच्च ब्यक्तित्वको निम्ति नेपाल भ्रमणका लागि सकारात्मक सन्देश दिने कतारमा लामो समयदेखि सरकारी निकायसँग नजिक भएर काम गरिरहेका प्रोफेसर मोहम्मद रम्जान अलिमियाको भनाई छ ।
कतार नेपालीहरुका लागि आकर्षक श्रम गन्तव्य हो, जहाँ हाल पनि करिब चारलाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन । ‘कतारले श्रमिकदेखि कम्पनी चलाउने मालिकसम्म बनायो’ युवा व्यवसायी अब्दुल वासिद भन्छन्–‘कर्मभूमीका राजा जन्मभूमीमा पहिलो पटक आउँदा हाम्रो खुशीको सीमा नै छैन ।’
एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट पनि राजाको भ्रमणका लागि स्वदेश आइपुगेका छन् । माइतिघरमा भेटिएका भट्टले स्वागतद्वारको अवलोकन पछि भने –‘ कतारका राजाको नेपाल भ्रमण कतारमा कार्यरत झण्डै चारलाख नेपालीको गौरवको विषय हो, अझ नेपालको परराष्ट्र मन्त्रालयले एनसीसी कतारलाई निमन्त्रणा गर्नु अर्को गर्वको विषय हो ।’
कतारमा श्रमिक हुँदै सफल व्यवसायी बनेका राज रेग्मी पनि कतारका राजाको नेपाल भ्रमणबाट उत्साहित भएका छन् । उनी भन्छन्–‘ लाखौ नेपालीलाई कतारले सवल र सक्षम बनायो अव दुई देशबीच श्रम कुटनीति, आर्थिक र परस्पर सम्बन्ध स्थापना गरेर फाइदा लिन सक्नुपर्छ ।’

नेपालका राष्ट्रपतिदेखि प्रधानमन्त्री र उच्च विशिष्ट पदाधिकारीहरुले पटक पटक कतारको भ्रमण गरिसकेका भए पनि कतारको राजाको भ्रमण नेपालमा पहिलो पटक हुन लाग्दा धेरै आशा तथा अपेक्षा बढेको छ । पटक पटकको निमन्त्रणापछि बल्ल राजाको भ्रमण तय हुँदा कतारमा रहेका ४ लाख नेपालीको पक्षमा मात्र नभएर नेपालको विकासमा ठूलो सहयोगको अपेक्षा गरिएको छ ।
नेपालीको पसिना आधुनिक कतार निमार्णमा सिंचित भएको छ । कतारका विकासमा नेपालीहरु हरेक क्षेत्रमा साक्षी मात्र छैनन् प्रत्यक्ष संलग्न पनि भएका छन् । नेपालीहरुको इमानदारिता, मिहिनेत तथा कडा परिश्रमलाई कतारले नजिकबाट बुझेको छ ।
कतारको राजाको नेपाल भ्रमणलाई एक दिन सार्वजनिक विदा घोषणा गरेर मात्र होइन, कतार र नेपालबीचको सम्बन्ध थप मजबुद बनाउदै आजसम्म नेपालीले कतारीभूमीमा बगाएको पसिनाको मुल्य उठाउन सक्नुपर्छ । कतारी राजालाई खुशी बनाउँदै कतारमा रहेका ४ लाख नेपाली र नेपालमा रहेका नेपालीका लागि अर्थपूर्ण बनाउन चुक्न हुँदैन । अनि मात्र अमिरको नेपाल भ्रमण सार्थक बन्नेछ ।
