मंगलबार, बैशाख ११ २०८१
काठमाडौं । लामो गृहकार्यपछि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार दुईदिने नेपाल भ्रमणमा आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा मध्यपूर्वको सानो तर विकसित देश कतारका राजा पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । उनको भ्रमणलाई बहुआयामिक कोणबाट महत्वका साथ हेरिएको छ । कतारका अमिरको भ्रमणबाट नेपालले धेरै फाइदा लिनसक्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता आरके शर्माको भनाइ छ । कतारका प्रतिष्ठित व्यवसायी समेत रहेका उनले कतारबाट नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने अवस्था रहेको बताए । शर्माले कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर भएको उनले प्रतिक्रिया दिए ।
लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरूलाई विश्वास दिलाउन सक्ने उनको विश्वास छ । अध्यक्ष शर्माले नेपालमा जलविद्युतको ठुलो सम्भावना रहेकाले जलविद्युतमा पनि कतारको लगानी ल्याउन सक्नुपर्ने धारणा राखे । कतारले पछिल्लो दशकमा प्रविधिको क्षेत्रमा गरेको विकाशको मोडल नेपालमा लागू गर्न सके धेरै फाइदा हुने उनको भनाइ छ । कतारमा गएर व्यवसाय गर्ने पहिलो नेपाली देबकाजी डंगोलले कतारबाट नेपालमा लगानी भित्र्याउन धेरै क्षेत्र रहेको भन्दै यसमा सरकारी तबरबाट पहलकदमी लिनुपर्ने धारणा राखे ।
यसबारे उनले शनिबार नै प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर आवश्यक विषय सुझाएका थिए । उनीसँगै भेटका लागि शर्मासहितका सरोकारवाला पनि बालुवाटार पुगेका थिए । कतार विश्वका धेरै देशमा लगानी गरेर सफल भएको देश हो । कतारलाई कुकिङ ग्यासको उत्पादनको लागि लगानी लगाउन आग्रह गर्नुपर्ने शर्माको भनाइ छ । आगामी वैशाख १६ र १७ गते गर्न लागेको नेपालको लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरूलाई विश्वास दिलाउन सक्ने भन्दै शर्माले सरकारले कतार सरकारसँग इगर्भरमेन्टमार्फत काम गरिरहेकाले टेक्नोलोजी ट्रान्सफरको सहयोग लिनसक्ने धारणा राखे ।
‘कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर हो । कतार पछिल्लो दुई दशकमा जुन किसिमले विश्वसामु फिफा जस्तो फुटबलमा विश्व कप गर्न सफल भयो । कतारमा विगत २० वर्षदेखि विकासमा सहकार्य गरिरहेको हुँदा कतारसँग नेपालका पाँच लाख घरधुरीसँग जोडिएको थियो’, उनले भने, ‘अहिले ३ लाख ५० हजार बढी परिवारसँग जोडिएको छ । कतारका उद्योगमा काम गर्न दक्ष कामदार पठाउन सकेको भए अझ राम्रो रेमिट्यान्स आउन सक्ने थियो । नेपालीहरूको आर्थिक अवस्था अझ माथि उकासिन सक्ने थियो ।’
शर्माले अगाडि भने, ‘यो भ्रमण मध्यपूर्वका राष्ट्र प्रमुखको रुपमा पहिलो भ्रमण भएकाले पनि गौरवपूर्ण रहेको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा उहाँ आउँदै गर्दा कतारले विश्व बजारमा गरेको लगानीको सन्दर्भमा हेर्दा नेपालमा पनि लगानीकोे श्रीगणेश हुन्छ भन्ने लागेको छ ।’ कुनै आयोजना तत्काल नै सुरु नभए पनि आगामी दिनमा लगानीका लागि भ्रमणपछि ढोका खुल्ने उनको विश्वास छ । लामो समयदेखि नेपाल र कतारको कुटनीतिक सम्बन्ध रहेको भन्दै उनले संयुक्त राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय मञ्चमा पनि दुवै देश एकै ठाउँमा उभिएको धारणा राखे ।
शासनका हिसाबले हेर्ने हो भने नेपालले सिक्ने भनेको ‘भिजन विथ एक्जुकेशन प्लान’ हो । नेपालका नेताहरुमा पनि सोच छ तर कार्यान्वयनको पाटोमा समस्या छ । कतार सरकारले भने दुवै बिषयलाई सकारात्मक रुपमा अगाडि बढाएकोे छ ।
शर्माका अनुसार कतारले अगाडि बढाएका विज्ञान प्रविधिको क्षेत्र महत्वपूर्ण छ । दक्ष जनशक्ति उत्पादनको विषय पनि उत्तिकै महत्वपूर्ण छ । ‘अब नेपालले कतार सरकारले कतारसँग दक्ष जनशक्ति उत्पादनमा सहकार्य गर्नुपर्छ’, उनले जोड दिँदै भने, ‘हवाई उद्योग, विज्ञान प्रविधि, ऊर्जा, चिकित्सा शिक्षाका विषय पनि उत्तिकै महत्वपूर्ण हुन जान्छ । हामीले आफूसँग नभएका विषय र क्षेत्रलाई नै अगाडि बढाउनुपर्छ । इमान्दारिता र लगनशीलता नै कतारबाट खास अर्थमा सिक्नुपर्ने विषय हुन् भन्ने लाग्छ ।’
नेपालबाट ठूलो संख्यामा नेपाली कामदार विदेश गएका छन् । उनीहरुले विप्रेषण मात्रै नभई विभिन्न खालका सीप पनि सिकेका छन् । कतारबाट पनि यस्तो सिप सिकेर धेरै नेपाली फर्किरहेका छन् । अमिर पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेको थियो । त्यसको तयारी पनि सुरु भइसकेको थियो । तर अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।
यस्तै सम्झौताका मस्यौदाहरू आदान प्रदान भइसकेको मन्त्रालयले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुने बताइएको छ । यस्तै कूटनीतिक कर्मचारीलाई तालिम दिने विषयमा पनि सम्झौता हुने भएको छ । कतार प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ । कतारबाट नेपालमा आउने सहयोग ‘कतार फन्ड फर डेभलपमेन्ट’ (क्यूएफएफडी)मार्फत आउने बताइएको छ । नेपालमा यस फन्डबाट यसअघि कुनै सहायता आएको थिएन । यो फन्डबाट विकास निर्माणमा सहयोग सुरु भएपछि नेपालमा पनि कतार दाता राष्ट्रको रूपमा दर्ज हुने बताइएको छ ।
सम्झौतापछि कतारले नेपालमा लगानी गर्ने बाटो खुल्ने मन्त्रालयका अधिकारीहरुको भनाइ छ । अधिकारीहरुका अनुसार विभिन्न नौ वटा सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ । कतारको तर्फबाट पहिलो पटक ऐतिहासिक रुपमा हुन लागेको यो हाइलेभलको भ्रमणले कतारले नेपाललाई महत्व दिएको रुपमा हेरिएको छ । यस्तै यसमा नेपालको तर्फबाट निरन्तर भएको कूटनीतिक पहल र त्यहाँस्थित राजदूतावासले गरेको पहलकदमीले पनि मूर्तरुप लिएको छ । कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले कतारी अमिरको भ्रमणका लागि निरन्तर पहल गर्दै आएका थिए । उनले राजदूत भएर गएदेखि नै भ्रमण गराउनका लागि पहल गर्दै आएका थिए । सरकारी तहबाट चरणबद्ध रुपमा भएको पहलकदमीले अहिले सार्थकता पाएको उनले प्रतिक्रिया दिए ।
यसैबीच अमिरको नेपाल भ्रमण सँगै प्यालेइटाइनी समूहबाट अपहरणमा परेका नेपाली विपिन जोशीको विषय पनि चर्चामा छ । नेपालले जोशीको रिहाइका लागि यसअघि पनि पटक पटक कतार सरकारसँग आग्रह गर्दै आएको छ । कतारले इजरायल र प्यालेस्टायनबीच युद्धको मध्यस्तता समेत गर्दै आएको नाताले नेपालले कतारमार्फत पहल गरिरहेको हो ।
प्रधानमन्त्री प्रचण्डले अमिर शेखसँग छलफल गर्ने एजेण्डाको पहिलो नम्बरमा नै विपिनको रिहाइको विषय रहेको प्रधानमन्त्री निकट सूत्रले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा आयोजित कार्यक्रममा समेत प्रधानमन्त्रीले कतारका राजासँग आफूले विपिनको रिहाइका लागि गम्भीर रूपमा कुराकानी गर्ने बताएका थिए । विपिनका आमाबुवालेसमेत प्रधानमन्त्री प्रचण्डलाई भेटेर छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरिसकेका छन् । यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि कतारका राजा अमिर शेखसँग विपिनका बारेमा कुरा गर्ने प्रतिबद्धता उनको परिवारसँग गरेका छन् । कतारका राजा नेपाल आउने निश्चित भएसँगै विपिनका आमाबुवाले राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेका थिए ।
भेटेमा आफूहरूले कतारका राजा अमिर शेख तमीमसँग विपिन रिहाइको कुरा गरिदिन आग्रह गरिएको विपिनका दाजु किशोर जोशीले जानकारी दिए । प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले विपिनको रिहाइका लागि कतारका राजासँग कुरा गर्ने विश्वास आफूहरूलाई दिलाएको उनको भनाइ छ । उसो त परिवारले नै समेत कतारका राजालाई भेट्ने इच्छा राखेका छन् । यद्यपि त्यो अहिलेसम्म सम्भव भएको छैन । नेपालमा उच्चस्तरीय भेटवार्तापछि अमिर बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
स्वागतमा राष्ट्रपति विमानस्थल पुग्ने, आज सार्वजनिक बिदा
कतारी अमिरको स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने तय भएको छ । अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । ‘कतारी राजालाई स्वागत गर्न राष्ट्रपतिज्यू आफैँ विमानस्थल जानुहुने भएको छ । उहाँले विमानस्थल पुगेर स्वागत गर्नुहुनेछ ।’
विमानस्थलमा कतारी अमिर अवतरणसँगै स्वागत र गार्डअफ अनर दिने कार्यक्रम छ । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले अमिर नेपाल आउन लागेको आधिकारिक घोषणा गरेको थियो । उनको भ्रमणको नेपाली पक्षबाट सबै तयारी पूरा भइसकेको छ ।
नेपालमा रहँदा अमिर शेखले राष्ट्रपति पौडेलसँग भेटवार्ता पनि गर्नेछन् भने राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको समेत आयोजना गरेका छन् । यस्तै अमिरले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अमिर बुधबार स्वदेश फर्किनेछन ।
उनको भ्रमणको क्रममा नेपाली सेनाले विशेष सुरक्षा प्रदान गर्नेछ । उनलाई नेपाली सेनाले नै तीन तहको सुरक्षा दिने छ भने त्यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको पनि सुरक्षा दिने छ । उनको भ्रमणकै अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा समेत दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij