सोमबार, बैशाख १० २०८१
प्रोफेसर मोहम्मद रमजान अली मियाँ
नेपाल कतार कुटनैतिक सम्बन्ध स्थापनाको करिब ४७ वर्ष पछि कतारी राजनैतिक इतिहासमा अमीरको उपाधी पाउनु हुने चौथो उच्च ब्यक्तित्त्व एवं बर्तमान राष्ट्र प्रमुख महामहिम अमिर शैख तमिम बिन हमद अल थानीको पहिलो नेपाल भ्रमणले हामी कतारबासी नेपालीलाई उत्साहित बनाएको छ।कतारका अमीर मात्रै होइन वहाँको यो भ्रमण मध्यपुर्व बाटै पहिलो राष्ट्राध्यक्षको रुपमा नेपाल भ्रमण हुँदैछ।जसले नेपालमा मध्यपुर्व एवं अरब मुलुकहरुका उच्च ब्यक्तित्त्वको निम्ति नेपाल भ्रमणको द्वार खोलिदिएको छ।लामो समयको यस प्रकारको उच्च पदस्त अधिकारीको नेपाल भ्रमणले राज्य पनि उत्साहित बनेको प्रष्ट देखिन्छ।राज्य खुशी पनि किन नहोस कतार नेपाली श्रमिककको निम्ति कतार आकर्षक श्रम गन्तव्य पनि त हो जहाँ हाल पनि करिब चारलाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन।जसले राज्यलाई वार्षिक एक खर्ब भब्दा बढी रेमिट्यान्स पठाएर राज्यको बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन।यद्यपि नेपाली पक्ष बाट भने दुई पुर्व राष्ट्रपति तथा विभिन्न पुर्व प्रधानमन्त्री र उच्च विशिस्ट पदाधिकारीहरुले विभिन्न समयमा कतारको भ्रमण गरिसकेका छन।
जहाँका नेपालीको ईमानदारिता निष्ठा र मिहिनेत तथा कडा परिश्रमले कतार आधुनिक कतारमा परिणत भएको छ।कतारको हरेक क्षेत्रमा नेपाली श्रमिकको उपस्थिति देखिन्छ।जसको मिहिनेत र इमानदारिताको साक्षी कतार स्वयं छ।यद्यपि कतारमा रहेका नेपाली श्रमिकको स्तर उन्नतिमा अझै ध्यान पुर्याउनु पर्ने देखिन्छ।उनीहरुको उद्यमशिलतालाई स्यम नेपालले पनि उपभोग गर्ने रणनीति बनाउनु पर्दछ। कतारले केही समय अगाडि मात्रै सफलता पुर्वक सन् २०२२ को बिश्वकप फुटबल फिफा सम्पन्न गरेको थियोे।यसैगरी सन् २०२४ को जनवरी महिनामा दोस्रो पटक एशिया कपको उपाधी समेत हात पार्न सफल भएको छ।स्पोर्ट्स डिप्लोमेसी बाट बिश्वमा आफ्नो विशेष पहिचान बनाउन सफल कतारले सन् २००६ को एशियन गेम सफलता पुर्वक सम्पन्न गरे पछि आफ्नो आधुनिक बिकासको खुड्किलाहरुमा सफल पाइला चाल्दै आज बिश्व माझ फरक पहिचानका साथ उभिन सफल भएको देखिन्छ।यतिमात्र होइन विश्व राजनैतिक मैदानमा बिभिन्न समयमा देखिने जटिल त अप्ठ्यारा परिस्थितिमा पनि कतारको मध्यस्थता लाई बिश्व जगतले खुलेर प्रसंशा गरेको पाइन्छ।चाहे त्यो सुडान डारफोरको मुद्दा होस वा अफगान तालिवान र पश्चिमा मुलुक बिचको द्वन्द लाई शान्ति स्थापनार्थ मत्थर पार्न गरिएको ऐतिहासिक मध्यस्थता नै किन नहोस।जसबाट विश्वको एउटा ठूलो जनसंख्याले करिब ४० वर्ष पछि शान्तिको स्वास फेर्ने अवसर पाएको छ।हाल पनि मध्यपुर्वको दन्केको आगो निभाउन कतार कटिबद्ध भैलागेको छ।जसले हरेक क्षेत्र बाट मानवताको बचाउमा आफुलाई अग्र पङ्तिमा उभ्याउन सफल भएको छ।यतिमात्र होइन विभिन्न समस्याग्रस्त मुलुक र दैवीप्रकोपले ग्रस्त देशमा कतार फण्ड फर डेभलपमेन्टको माध्यम बाट तन मन खोलेर सहयोग समेत गरिरहेको छ।कतार च्यारिटी मार्फत बिश्वको गरीबी निवारण र सामाजिक एवं मानवीय सेवाको यात्रालाई निरन्तर अगाडि बढाइरहेको छ।स्वयं नेपाल पनि माथी उल्लेखित दुवै संस्था द्वारा लाभान्वित भैरहेको छ।कतार नेपालको निम्ति असल र दुख सुखको सारथि हो भन्ने कुरालाई कुनै प्रमाणको आवश्यकता छैन।किनभने हाल सम्म कतार मात्र एउटा यस्तो मुलुक जो जहाँ कार्यरत नेपालीले नेपालमा ठुलो लगानी भित्र्याउन सफल भएका छन।चाहे त्यो निजि क्षेत्रमा होस वा सामाजिक क्षेत्रमा होस।
कतारका नेपालीको हरेक क्षेत्रमा सहयोग र सहकार्य देखिन्छ।अन्य अरब देशको तुलनामा कतारका नेपालीले आफुलाई सक्षम र सफल पनि तुल्याउन अग्रसर देखिन्छन।साथै बेजोड प्रगति पनि गर्न भ्याएका छन।यद्यपि नेपाल र कतारबीच द्विपक्षीय व्यापार भने खासै हुने गरेको छैन । कतार–नेपालबीचको व्यापारको कुरा गर्दा यो परिमाण नेपालको कुल वैदेशिक व्यापारको १ प्रतिशतभन्दा कम छ । गत आर्थिक वर्षमा नेपालले १६ खर्बको आयात गर्दा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । कतारबाट नेपालमा १३ अर्ब ३० अर्ब रुपैयाँको आयात हुँदा ११ करोड निर्यात भएको छ । नेपालको निर्यात बढाउन कतारमा भन्सार सहुलियत दिने योजना अगाडि बढाएमा नेपालको निर्यात कतारमा बढ्न सक्छ । मुख्यतः नेपालको अर्गानिक कृषि वस्तुको बजार कतार हुन सक्छ ।तथापि दुवै देशले अब आर्थिक कुटनीतिको माध्यम बाट एक अर्कालाई सहयोग गर्न जरुरी देखिन्छ।
किनभने कतारले नेपाल बाट जे जस्तो सहयोग चाहेको छ त्यो यसै पटकको अमीरको भ्रमणको बेलामा आपसी समझदारी पत्रमार्फत खुलस्त राख्नु पर्दछ भने नेपालले पनि कतारलाई आफ्नो बिकासको साझेदार बनाउन कसरत गर्नु पर्दछ।चाहे त्यो दक्ष जनशक्ति निर्यात गरेर होस अथवा कतार संगको रणनीतिक साझेदारी अपनाएर नै किन नहोस।त्यस्ता क्षेत्रहरु दीर्घकालीन लगानीका लागि कतारी लगानीकर्तालाई नेपालको कृषि, जलविद्युत्, पूर्वाधार बिकास तथा पर्यटन क्षेत्र हुन सक्छन् भने आवस्यक ऐन,कानुन, नीति नियम र कार्यशैलीमा संसोधन तथा फास्ट ट्रयाक मार्ग प्रसस्त पार्नु पर्ने देखिन्छ। यस्ता नसुहाउदा र गैर मैत्री ऐन कानुन नै हालसम्म नेपालमा कतारको लगानी का निम्ति बाधक बनेको मैले महसुस गरेको छु।यसबाहेक दीर्घकालीन रूपमा कतारी कम्पनीहरूले हाइड्रोजन ऊर्जामा लगानी गर्ने इच्छा पटक पटक राख्दै आएका छन् ।
नेपालको कुनै एउटा जलविद्युत् आयोजना पाइलट प्रोजेक्टका रूपमा लगानी गर्नका लागि यसैपल्ट अमीर समक्ष अनुरोध गर्नु पर्दछ।खेलमा समर्पित कतारी खेलाडीहरुको निम्ति नेपालको हाई अल्टिच्युट मैदान बरदान नै साबित हुन सक्छ भने कतारी पर्यटकको लागि पनि नेपाल अत्यन्तै नजिकको गन्तव्य र यस क्षेत्रमा दर्जनौं अवसर भएको देश हो।तथापि नेपालले पर्यटनको भौतिक पुर्वाधार बिकासमा विशेष जोड दिनु पर्ने पनि देखिन्छ जसको निम्ति कतारी सहयोग ठूलो सारथि हुन सक्छ।किनभने कतार स्वयं बिश्वकप समापन पश्चात पर्यटन बिकासमा लागेको छ।यहाँका उच्च हिम शृङ्खलाको आरोहण कतारी रोजाईमा परेको बिषय पछिल्ला आरोहीहरुको सफलताले छर्लङ्गै पारेको छ।नेपालको उजाड बनेको उर्वर जमिन कतारको फुड सेक्युरिटीको मुद्दालाई सम्बोधन गर्न निक्कै फलदायी साबित हुने कुरामा कुनै मतभिन्नता नहोला।जलबायु परिवर्तन तथा यसबाट निम्तिरहेको भ्यानक संकट लाई परास्त गर्न नेपाल र कतारले सहकार्य गर्न सक्ने प्रचुर सम्भावना समेत रहेको छ।
अन्ततः यी सबै बिषयमा सम्बन्धित क्षेत्रका बिज्ञ संगको परामर्शमा यस्ता बिषयलाई प्राथमिकतामा राखेर अध्ययन अनुसन्धान पश्चात कतार संग सहयोग लिन नेपाल चुक्नु हुँदैन।किनभने यी हाम्रा साझा विषय हुन र हामी एक अर्काको परिपुरक जस्तै भैसकेका छौँ।तसर्थ कतारका अमीरको भ्रमणको बेलामा नेपालले आफ्ना बिषय र हालसम्म हल हुन नसकेका पक्षलाई दरिलो तरिकाले उठाउनु पर्दछ भने कतारको नेपाल संगको आशा अपेक्षा लाई पनि सम्मान ढंगले सम्बोधन गर्ने तर्फ लाग्नु नै हामी दुई देशको मित्रतामा आयाम थप्नु हो ।
(लेखक प्रोफेसर मोहम्मद रमजान अली मियाँ बिगत १० वर्ष देखि राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायको संयोजकको रुपमा कार्यरत हुनुहुन्छ)
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij