काठमाडौं(जस)–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध झण्डै २४ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा आयोगले आइतबार विशेष अदालत काठमाडौंमा २३ करोड ७५ लाखको मुद्दा दायर गरेको हो । आम्दानी र खर्चको हिसाब गर्दा पौडेलको आर्जन अस्वाभाविक देखिएको आयोगको आरोपपत्रमा छ ।
गत माघ १० मा पक्राउ उनी र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अझै आयोगको हिरासतमा छन् । सुनिल पेमेन्ट गेटव र गैरकानुनी सम्पत्ति आर्जन आरोपको अनुसन्धानका लागि पक्राउ गरिएका हुन् भने विकल विकलमाथि ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोप छ । विकलविरुद्ध आइतबार नै आयोगले छुट्टै मुद्दा दायर गरेको छ ।
सुनिलविरुद्ध आयोगद्वारा दायर यो दोस्रो भ्रष्टाचार मुद्दा हो । गत असोजमा दायर राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) स्थापनामा अनियमितताको मुद्दामा उनलाई विशेष अदालतले गत शुक्रबार दोषी ठहर गरेको थियो । कसुर निर्धारणका लागि भने अदालतले वैशाख २५ गतेका लागि पेसी तोकेको छ । सुनिल पौडेल २०६१ जेठ २० मा सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्रशासकीय अधिकृत पदमा करारमा नियुक्त भई २०६२ माघ २८ सम्म कार्यरत थिए । २०६५ असार १२ मा केन्द्रमा उनी पुनः करार सेवामा नियुक्त भएका थिए, यसटक पद थियो कम्प्युटर इन्जिनियर । २०७५ साउन २० सम्म केन्द्रका विभिन्न पदमा करारमा कार्यरत रहेका उनलाई सरकारले सोही वर्ष साउन २१ मा केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
२०७८ चैत २४ सम्म सोही पदमा कार्यरत र त्यसको भोलिपल्ट नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा नियुक्त भएका थिए । जागिरमा उनको पदावधि, तलबभत्ता, सेयर खरिदबिक्री आम्दानी, बैंकको ब्याज, बचतलगायतले जम्मा १ करोड १९ लाख २४ हजार ८ सय ४६ रुपैयाँ वैध आय आर्जन गरेको देखिएको आयोगको विज्ञप्तिमा छ । उक्त अवधिमा उनको जम्मा २४ करोड ९४ लाख ७१ हजार १ सय ७१ रुपैयाँ खर्च तथा लगानी देखिँदा २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैया बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत खुलेको नदेखिएको आरोपपत्रमा छ ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अमेरिकी पीआर लिएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पद लिएको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दायर गरेको हो । उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।