सोमबार, बैशाख १० २०८१
काठमाडौं(जस)–नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आइतबार सम्पन्न भएको छ । शनिबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको बैठक आइतबार १५ बुँदे समसामयिक प्रताव पारित गर्दै सम्पन्न भएको हो । बैठकको अन्तिम दिन उपमहासचिव विष्णु रिमालले सचिवालयले तयार पारेको १५ बुँदे समसामयिक प्रस्ताव वाचन गरेका थिए । प्रस्तावलाई हलले ताली बजाएर अनुमोदन गरेको थियो । एमालेले आफ्नो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा एकीकृत समाजवादीका बीचमा नयाँ सत्ता समिकरण निर्माण गर्ने सम्झदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गर्दै त्यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
त्यसैगरी ५ दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत आजको मुख्य समस्याहरूलाई समाधान गर्नेगरी तालिकाबद्ध रूपमा काम गर्न सरकारलाई पनि सुझाव दिइएको उपमहासचिव रिमालले बताए । विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रूपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने संकल्प पनि एमालेले गरेको छ । अत्यन्त असहज र प्रतिकुल अवस्थामा पार्टीलाई यस बिन्दुसम्म ल्याई पु¥याउन कुशलतापूर्वक अगुवाइ गर्ने अध्यक्ष केपी शर्मा ओलीलगायत १० औँ महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिलाई बैठकले विशेष धन्यवाद ज्ञापन गरेको छ ।
‘यो बैठक विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रूपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने संकल्प गर्दछ । अत्यन्त असहज र प्रतिकूल अवस्थामा पार्टीलाई यस विन्दुसम्म ल्याई पु¥याउन कुशलतापूर्वक अगुवाइ गर्ने कमरेड अध्यक्ष केपी शर्मा ओलीलगायत १० औँ महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिलाई यो बैठक विशेष धन्यवाद ज्ञापन गर्दछ’, पारित प्रस्ततवमा भनिएको, ‘आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा सबै कमरेडहरुलाई हार्दिक आह्वान गर्दछ ।’
बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनसहित ६ वटा प्रतिवेदन पेस भएका थिए । ती प्रतिवेदनमा आइतबार समूहगत छलफल गरेर सामान्य संशोधनसहित पारित गरिएको छ ।
बैठकको समापन गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दसौँ महाधिवेशनयता पार्टीले गरेका काम कारबाही र आगामी दिनमा गर्नुपर्ने कामहरूबारे बस्तुनिष्ठ समीक्षा गर्न परिषद् बैठक सफल भएको बताए । उनले परिषद् बैठकले गरेका निर्णयहरू पार्टीका लागि मार्गदर्शक बन्न सक्ने भन्दै यो बिचमा एमालेले थालनी गरेका कामहरूलाई एमालेले गर्नसक्ला भनेर प्रश्न गरेपनि थालेका कामहरू सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताए ।
बैठककै बीच अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपनि आइतबार उनी अनुपस्थित रहे । रुघा, खोकी लागेकाले घरमै स्वास्थ्य लाभ गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ । उनको अनुपस्थितिमा सनराइज हलमा भएको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षता गरे । शनिबारको बैठकमा भने ओलीले सम्बोधनसहित प्रतिवेदन पेश गरेका थिए । प्रतिनिधि परिषद्को आइतबारको बैठकमा ६ वटा समूह बनाइएको थियो । समूहमा शनिबार पेश भएका राजनीतिक, सांगठनिक र केन्द्रीय निकाय (लेखा, कानुन, अनुशासन आयोग र सल्लाहकार परिषद्) हरूको प्रतिवेदनमाथि छलफल भएको थियो । एमालेको प्रतिनिधि परिषद्को बैठकमा २ हजार ४५४ जना प्रतिनिधि सहभागी थिए ।
यसैबीच एमालेले पार्टी निर्माणमा देखिएका १३ वटा समस्यालाई समाधान गर्न २० बुँदे कार्ययोजना अघि सारेको छ । महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनमा यस्तो कार्ययोजना अघि सारिएको हो । २०७८ सालमा सम्पन्न विधान महाधिवेशनबाट पारित सङ्गठनात्मक प्रस्तावले पार्टी निर्माणमा देखिएका समस्याहरूलाई सूत्रबद्ध गर्दै त्यसको समाधान गर्न निर्देशन दिएको थियो । तिनै समस्या समाधानका लागि एमालेले २० बुँदे कार्ययोजना अघि सारेको हो ।
एमालेले देखेका समस्यामा पार्टी नेता कार्यकर्ताहरूमा अध्ययन र प्रशिक्षणको कमी, पार्टी सदस्यताको मापदण्ड पालनमा समस्या, ठुला आकारका कमिटी सञ्चालनमा समस्या, वैधानिक व्यवस्थाअनुसार अधिवेशन आयोजना र व्यवस्थापन, दक्षिणपन्थी अवसरवाद, सङ्गठनात्मक अराजकता र गुटबन्दीको अवस्था, गैर–भौगोलिक क्षेत्रका कामको संयोजनमा समस्या, पार्टी कार्यकर्ताको मूल्यांकन समस्या, पहिचानको मुद्दामा केन्द्रित हुने समस्या, दोहोरोपनाको समस्या, काठमाडौँ उपत्यकाको हकमा पार्टी कामको व्यवस्थापनको समस्या, परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या, जनसंगठनको प्रभावकारी कार्यविभाजन अभाव र आदर्श र व्यवहारबिच भिन्नता रहेका छन् ।
यी समस्याबाट गुज्रिरहेको पार्टी संगठनात्मक कामलाई व्यवस्थित गर्न राष्ट्रिय महाधिवेशनले २० बुँदे कार्ययोजना अघि सारेको थियो । ती कार्ययोजनाअनुसार वैचारिक स्पष्टता, बुझाइ र गराइमा एकरूपता, राज्य संरचना सापेक्ष पार्टी संगठनको निर्माण, नीति र विधि निर्माणमा केन्द्रित महाधिवेशनको आयोजना, सकारात्मक सोच र व्यवहारको विकास रहेका छन् ।
त्यसैगरी विधिसम्मत पार्टी सञ्चालन, पार्टी सदस्यता विस्तार र गुणस्तरमा वृद्धि, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताका विरुद्ध वैचारिक सङ्घर्ष, आर्थिक सामाजिक विकासमा अगुवाइ गर्ने पार्टी निर्माण, जनसंगठनहरूबिच घनिष्ठ सम्बन्ध, पार्टी जिवनको सिर्जनात्मक प्रयोग, असल आचरण र जीवनशैलीको विकास, जनसम्बन्ध विस्तार र विकास, सामाजिक र सामुदायिक संगठनमा पार्टी नेतृत्व स्थापित, समग्र प्रवासको काम व्यवस्थापन, संसदीय क्षेत्र,सरकार र पार्टी कामको संयोजन एमालेको कार्ययोजनामा समेटिएका छन् । यी कामहरू गरिरहेको दाबी गरेको एमालेले अनुशासन आयोगको रिपोर्टमा भने यस विपरीतका गतिविधि मौलाएको उल्लेख छ ।
केन्द्रीय अनुशासन आयोगको रिपोर्टमा केन्द्रीय नेताहरुकै कारणले पार्टीभित्र गुटगत गतिविधि बढेको र गुटको श्रोत नै केन्द्रीय नेता रहेको उल्लेख छ । प्रतिनिधि परिषद् बैठकमा आयोगका अध्यक्ष केशवप्रसाद बडालले प्रस्तुत गरेको प्रतिवेदनमा केन्द्रीय नेताबाहेक प्रदेश र जिल्ला तहका केही नेताहरूले समेत कार्यकर्ताको झुण्ड निर्माण गरेर गुटबन्दीलाई प्रश्रय दिएको उल्लेख छ । ‘गुटगत गतिविधिको स्रोत मुख्य गरी केन्द्रीय नेताहरू भएको देखियो’, प्रतिवेदनमा भनिएको छ, ‘प्रदेश र जिल्ला तहका केही नेताहरूले समेत कार्यकर्ताको झुण्ड निर्माण गरेको देखियो ।’
यस्तै अधिवेशनका क्रममा प्रतिवेदनहरूमा साझा दृष्टिकोण हुँदाहुँदै पनि खासगरी नेतृत्व चयन गर्ने सवालमा अधिकांश प्रदेशहरूमा कतिपय केन्द्रीय नेताहरू समूहगत रूपमा विभाजित भएको देखिएको उल्लेख छ । ‘सार्वजनिक रूपमा गुटको विपक्षमा देखिए तापनि कतिपय नेताहरूले आन्तरिक रूपमा गुट निर्माण गर्ने र सञ्चालन गर्ने गरेको पाइयो’, बडालको प्रतिवेदनमा भनिएको छ, ‘यस्तो गुट वैचारिक नभई आत्मकेन्द्रित रूपमा भएको देखियो ।’
पार्टी संगठनात्मक कामलाई व्यवस्थित पार्न महासचिव पोखरेलको प्रतिवेदनमा २० वटा कार्ययोजना अघि सारिएकै अवस्थामा अध्यक्ष केपी शर्मा ओलीले जनआधारित कार्यकर्ता पार्टी निर्माणका ६ वटा समस्या पहिचान पनि गरेका छन् । अध्यक्ष ओलीले पहिचान गरेका ६ वटा समस्याको समाधान गर्न प्रतिनिधि परिषद् बैठकमा सहभागीहरूको जवाफ मागिएको छ । यसैगरी एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ ।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसमा प्रतिनिधिहरुले सहमति जनाएका हुन् । पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij