सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नागरिक उन्मुक्तिको लफडाले सुदूरपश्चिममा अन्योल

शनिबार, बैशाख १ २०८१

काठमाडौं(जस)–नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादले सुदूरपश्चिम प्रदेशमा अन्योल देखिएको छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेको भएपनि सरकार बन्न निर्णायक रहेको नाउपाभित्रको बेमेलले एमाले नेतृत्वको सत्ता गठबन्धन र विपक्षी गठबन्धन कसैले पनि दाबी गर्न सक्ने अवस्था नरहेको हो । सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीलाई नै नयाँ सरकारको नेतृत्वको लागि अघि सारिएको बताइएको छ । तर, रेशम चौधरी कांग्रेसलाई सहयोग गर्ने पक्षमा रहेका छन् भने विवादकै कारण पार्टी गम्भीर संकटतर्फ फस्न पुगेको अवस्था छ । यहीबीचमा अध्यक्ष रञ्जिता श्रेष्ठले कारबाहीको डण्डा समेत चलाउन थालिसकेकी छन् ।
श्रेष्ठले शुक्रबार संसदीय दलका नेता घनश्याम चौधरीलाई बर्खास्त गरेकी थिइन् । नाउपा अध्यक्ष श्रेष्ठले चैत्र २५ गते सोमबार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गर्दै यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकोले हटाइएको बताएकी छन् ।
घनश्यामको ठाउँमा कैलाश चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारी तोक्ने निर्णय गरिएको उनले सभामुखलाई पठाएको पत्रमा उल्लेख छ । यसअघि उनले आफ्नै पति एवम पार्टीका संरक्षक रेशम चौधरी पक्ष रहेको भन्दै सांसद इन्दिरा गिरीलाई पद मुक्त गरेकी थिइन् । तर, श्रेष्ठले घनश्यामलाई गरेको कारबाहीको पत्र कार्यान्वयन भइनसकेको बताइएको छ । घनश्याम चौधरीको सांसद पद र उनको संसदीय दलको नेताको पद हालसम्म यथावतै रहेको पाइएको हो । उनलाई थप कारबाही स्वरूप ३ महिनाको लागि सांसदबाटै निलम्बन गरिएको भनिए पनि उनको पद कायमै रहेको सभामुख भीम बहादुर भण्डारीले जानकारी दिए ।
सभामुख भण्डारीले भने, ‘नाउपा अध्यक्ष श्रेष्ठको पत्र नै स्पष्ट छैन । सांसद पदबाट निलम्बन गरेको हो कि, पार्टीबाट निलम्बन गरेको हो स्पष्ट छैन । ा निलम्बनको कुरा पार्टीसँग जोडिने भएकोले हामीसँग सम्बन्धित छैन । हामीलाई जानकारीसम्मको लागि हो, जुन सचिवालयमा दर्ता भएको होला । यसमा हाम्रो निर्णय केही हुँदैन । सांसद पनि घनश्याम नै हुन् । दलको नेता पनि आजसम्म उनै हुन् ।’ यस्तै गिरीले पनि आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर समेत गरिसकेका छन् । गिरीको कारबाही अब के होला भन्ने जिज्ञासामा सभामुख भण्डारीले आफूबाट गर्ने काम भइसकेको र त्यसबारे अदालतमा समेत रिट दायर भइसकेकोले थप टिप्पणी नगर्ने बताए ।
फागुन २१ मा नयाँ सत्ता गठबन्धन बनेपछि पार्टी संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष श्रेष्ठबिच सरकारमा जानेबारे मतभिन्नता बढेपछि उग्र रूप लिएको हो । नाउपाको विवादकै बिच कांग्रेसका मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकार भने ढलेको छ । सरकार ढलेसँगै चैत २३ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको थियो । प्रदेश प्रमुख नजिर मियाँले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आज आइतबार बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्यलाई आह्वान गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीभित्र विवाद मिलेमा उसकै नेतृत्वमा सरकार बन्ने बताइएको छ । त्यसका लागि केन्द्रमा एमाले, माओवादी लगायतका दलहरुबीच सहमति बनिसकेको बताइएको छ । कांग्रेसले भने नाउपा एकमतले सहयोग नगर्दासम्म मत पुर्याउन सक्ने अवस्था छैन । उसो त नाउपाभित्रको विवादलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत केही दिनअघि दुवै पक्षलाई बोलाएर छलफल गरेका थिए । प्रधानमन्त्री कार्यालययमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीलाई छुट्टाछुट्टै बोलाएर प्रचण्डले छलफल गरेका हुन्। उनीहरूलाई आपसमा मिल्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिएको बताइएको छ । सो क्रममा पार्टीभित्रको विवादको बारेमा रञ्जिता र रेशमले आ–आफ्नो कुरा राखेका थिए । दुई साताअघि पार्र्टी कार्यालयमा विवाद उग्र बन्दा दुई पक्षबीच हात हालाहालकै अवस्था बनेको थियो । टीकापुर आन्दोलनबाट उदाएको पार्टी सत्ता संघर्षका कारण नराम्ररी फसेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार