सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा राजीनामा

बिहिबार, चैत्र २२ २०८०

काठमाडौं(जस)–लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । नयाँ समीकरणअनुसार बहुमत नपुग्ने निश्चित भएपछि दुबै प्रदेशका मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका छन् । बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारको स्थायित्वको जरुरी रहेको बताए । ‘स्थायित्व भएन भने कुनै पनि विकास र समृद्धि अघि बढ्न सक्दैन,’ उनले भने, ‘हामी जनताकोमा ठाडो शिर लिएर जाने गरी काम गर्न सकेनौं भने औचित्य पुष्टि हुनै सक्दैन ।’
उनले हरेक प्रदेशहरुमा अस्थिरताको बादल छाएको बताए । राजनीति र संघीयतामा पनि ग्रहण लागेको भन्दै उनले संघीयता धरापमा पर्ने चिन्ता व्यक्त गरे । चौधरीले आफ्नो ११ महिने कार्यकालमा गरेका विकासका काम र सुरु गरेका प्रयासबारे पनि सदनलाई जानकारी गराएका थिए । उनले सरकारले आवधिक योजना तयार गरेको, लगानी भित्र्याउनका लागि लोरियट्स एन्ड लिडर्स शिखर सम्मेलन आयोजना गरेको, २ लाख युवालाई रोजगारी दिने गरी कार्यक्रम तयार गरेको बताएका थिए । उनले हरेक पटक मुख्यमन्त्रीको फोटो मात्र झुन्ड्याउने गरी मुख्यमन्त्री नबन्न आग्रह गर्दै उनले संघीयता बताउने गरी काम गर्न आउने मुख्यमन्त्रीलाई सुझाव दिए ।
यस्तै उनले संघीय संरचनाअनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त पनि गरे । हरेक नयाँ सरकार बन्दाको दिनदेखि नै त्यो सरकारको दिनगन्ती सुरु हुने गरेको भन्दै प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दिगो र प्रभावकारी हुन नसक्ने बताए ।यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पनि बिहीबार ने पदबाट राजीनामा दिए ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
त्यसअघि उनले विश्वासको मत लिनका लागि प्रदेश सभामा मत परीक्षण गर्ने तयारी गरेका थिए । त्यसै अनुसार दिउसो साढे तीन बजेका लागि आव्ह्रान गरिएको बैठक दुई पटक सारिएको थियो । अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीका सबै सांसदको साथ पाउने अपेक्षा मुख्यमन्त्री शाहको थियो । तर सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर सांसद कैलाश चौधरी र टीका थापा बैठकमा नभएपछि उनले राजीनामा दिएका हुन् । नागरिक उन्मुक्तिका सातै जना सांसद एक ढिक्का भएर उनलाई समर्थन गरे एक जना राप्रपा र एक जना स्वतन्त्रको गरी २७ मत पुग्ने अपेक्षामा मुख्यमन्त्री थिए ।
अब दुबै प्रदेशमा एमाले नेतृत्वको सत्ता गठबन्धनले सरकार बनाउने छ । जसअनुसार लुम्बिनीमा माओवादी केन्द्रका जोखबहादुर महराको नेतृत्वमा सरकार गठन गर्नेगरी सहमति भइसकेको छ भने सुदूरपश्चिममा भने कसको नेतृत्व पहिलो भन्नेमा सत्ता गठबन्धनमा सहमति जुटिसकेको छैन । त्यसअघि प्रदेश प्रमुखले बहुमतको सरकारका लागि आह्वान गरेसँगै प्रक्रिया अघि बढ्ने छ । यसअघि कर्णाली र गण्डकी प्रदेशमा ७ दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान भइसकेको छ । गत फागुन २१ मा केन्द्रमा नयाँ समीकरण बनेसँगै प्रदेशमा पनि सोहीअनुसार उथलपुथल भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार