आइतबार, फाल्गुन २७ २०८०
राजेन्द्र कुमार (आरके) शर्मा
अध्यक्ष, एनआरएनए
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) सन २००५ मा देखि गैरआवासीय नेपाली संघमा आवद्ध छन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सल्लाहकारबाट सुरु भएको उनको यात्रा, आईसिसि सदस्य, मध्यपूर्व संयोजक हुँदै आईसिसि सचिव, आईसिसि उपाध्यक्ष र हाल (२०२३–०२५)को लागि अध्यक्षसम्म पुगेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्माले गैर आवासीय नेपाली संघ शुद्धीकरणको लागि हाल आफ्नो लडाई जारी रहेको बताउँदै आएका छन । नेपालमा भएको सत्ता समीकरण परिवर्तनले संघभित्र शुद्धीकरणको जारी लडाईलाई कुनै असर नपर्ने उनको भनाइ छ । सरकारमा कांग्रेस, माओवादीको गठबन्धन भत्किएर एमाले,माओवादीको नयाँ गठबन्धन बनेपछि एनआरएनएमा जारी विवादमा के कस्तो असर पर्ला भन्ने आँकलन भैरहेको छ । तर, अध्यक्ष शर्मा आफू राजनीति भन्दा पनि सामाजिक कामका लागि एनआरएनएमा लागेकोले यसको पवित्र उद्देश्यमा कहिल्यै घात नगर्ने बताउँछन् ।
शर्मा कतारका लागि नेपालको पर्यटन सदभावना दूतसमेत हुन । सन १९९९ मा पढ्ने र रोजगारी गर्ने सिलसिलामा नयाँ दिल्ली पुगेका शर्मा कामको सिलसिलामा सन २००३ मा कतारको राजधानी दोहा पुगेका थिए । अर्कै प्रयोजनका लागि दोहा पुगेका शर्माले एउटा निर्माण कम्पनीमा अकाउन्टेन्ट पदबाट जागिर सुरु गरे । सन २००४ मा सोही कम्पनीमा लगानी गरेर उनी उद्यमी बने । सन २००४ बाट सुरु भएको शर्माको उद्यमशीलताको यात्रा विस्तारै फैलँदै हाल अमेरिकासम्म पुगेको छ । शर्माको कम्पनीले सन २०२२ मा सम्पन्न विश्वकप फुटबल खेल भएको रंगशाला निर्माण गर्ने अवसर पायो । हाल उनले विश्वभरका हजारौं कामदारलाई रोजगारीसमेत दिइरहेका छन । यिनै विभिन्न विषयवस्तुमा केन्द्रित रही शर्मासँग कतारमा उनकै कार्यालयमा जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगालेले लिएको अन्तरवार्ताको सम्पादित अंश :
यहाँ कतार कहिले पुग्नुभयो ?
म सन २००२ को अन्त्यतिर कतार आइपुगेको थिए ।
तपाईँ जाँदा कतार कस्तो थियो अहिले कस्तो बनेको छ ?
म सँधै भन्ने गर्छु । कतार मेरो लागि युनिभर्सिटी हो । धेरै पेशाकर्मी र राजनीतिज्ञहरूका लागि पनि युनिभर्सिटी हो । त्यहाँ म छिर्दै गर्दा भर्खरै विकास सुरु हुँदै गरेको थियो । त्यहाँको सरकारले त्यतिखेर भिजन (दृष्टि) सेट गर्यो र त्यसलाई समयमै कार्यान्वयन पनि गर्यो । मैले हेर्दा कतारको विकासमा योगदान दिने प्राकृतिक स्रोतहरू हुन् । पेट्रोलियम पदार्थ–ग्यास, डिजेल र पेट्रोल । उहाँहरूले ती प्राकृतिक स्रोतहरूको अधिकतम उपयोग गरेर आफ्नो राष्ट्रलाई सबैभन्दा विकसित र नागरिकलाई सबै भन्दा धेरै शिक्षित धनी बनाउनुका साथै अबको तीस वर्ष पछि कतारलाई कहाँ उभ्याउने त्यो योजना बनाए । हामीहरूले त्यो नजिकबाट देख्न सक्यौँ । कतारले फिफा वल्र्डकप २०२२ सफलतापूर्वक सम्पन्न गर्यो । इतिहासमा सबै भन्दा पहिलो पटक सम्भवत सानो देशको रूपमा कतारले यो विश्वकप सफलतापूर्वक सम्पन्न गरेको हो भन्ने मेरो बुझाइ छ । त्यसैले कतार आफैँमा एउटा गतिशिल राष्ट्र हो । विकासमा अघि बढिरहेको कतारले विश्वमा विकास के हो ? सुशासन के हो ? भन्ने राम्ररी बुझेको सम्मानित राष्ट्र कतार हो ।
कतारलाई अवलोकन गरी हेर्दा हामी नेपालीको वर्तमान स्थितिबाट विकास नेपालमा हाम्रै पालामा सम्भव छ भनेर सफलता पाउन सक्छौँ जस्तो लाग्छ त ?
नेपाल छिट्टै विकासमा जान्छ भन्ने कुरो मलाई लागिरहन्छ । जुन गतिमा आर्थिक क्रान्तिमा देश जानुपर्ने थियो त्यसमा नगएकोले चिन्ता छ । तर कहिलेकाहीँ हामी अलिकति बढी चिन्तित हुन्छौँ कि जस्तो पनि लाग्छ । हामी अर्थतन्त्रका प्यारामिटर वा मापकहरूको अवलोकन गर्छाैं । त्यतिखेर असन्तोष गरिहाल्नुपर्ने छैन । हालसालै हामीले केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको रिपोर्ट हेर्यौ । वैदेशिक मुद्रा सञ्चितिजस्ता मापकहरूको स्थिति हेर्दा चिन्ता गरिहाल्नुपर्ने अवस्था छैन । अरु धेरै कुरामा सूचकहरू राम्रै देखिएपनि मुख्य कुरा हाम्रो अर्थतन्त्र उपभोगमा आधारित भयो । कन्जुएबल त्यो पनि आयात इम्पोर्टमा आधारित भयो । त्यो भनेको बारी बाँझै तरकारी विदेशको खाने अवस्था हो ।
अर्काे कुरा यो वर्षमा १५ खर्ब रेमिट्यान्स भित्रिन्छ । ७० प्रतिशत कन्ज्युएबल आइटममा खर्च हुन्छ । त्यसमा पनि ५० प्रतिशत आयात गरी ल्याइएको आइटममा मात्र खर्च हुने भयो । चार जनामा एक जना विदेशमा गएको परिवारका तीन जनाले कुटो कोदालो लिएर अन्न आफै उब्जाउन सक्नुपर्ने थियो त्यो गरिएन । विलासिताका वस्तुमा नभएपनि कम उपयोगको वस्तुमा धेरै खर्च गरिने गरिएको छ त्यो गलत भएको छ । रेमिट्यान्सबाट आएको रकमको उपयोग कृषि क्षेत्रको उत्पादन बढाउन खर्च गर्नुपर्ने थियो । बाँझो बारीमा फलफूल र तरकारी मध्यपूर्वका क्षेत्रमा निर्यात गर्न सकिने अवस्था पैदा गर्न सक्नुपर्थ्यो र पर्छ । यसबाट आयातलाई विस्थापन गर्न सकिने अवस्था निर्माण गर्न ढिला भइसकेको छ । सफा ऊर्जा बढाउनुपर्छ ।
भारतसँग भएको १० हजार मेगावाटको बिजुली बिक्री सम्झौतालाई बढाउँदै लग्नुपर्छ । त्यसबाट अहिलेको भन्दा ३० प्रतिशत जीडिपी बढ्न सक्छ । सन २०४७ मा भारत विश्वको नम्बर वन वित्तीय फाइनान्सको अवस्थामा जाने भनी प्रतिवेदनहरूमा पाइन्छ । त्यसैगरी चाइनाको पनि आफ्नै प्लान छ । मलाई लाग्छ विभिन्न प्रतिवेदनहरूले चाइना र इन्डिया टप फाइभमा पर्छन । यस्तो अवस्था बन्यो भने यो दुई तीन दशकसम्म रहने अवस्था बन्ने मलाई लाग्छ । चाइनाले एआई जस्ता प्रविधिसँग तालमेल मिलाएर अगाडि बढिरहेको छ । यी दुई देशबीचमा नेपाल छ । दुई देशका पर्यटक चाहेर नचाहेर आउने भनेको नेपाल नै हो । चाइना इन्डियाको उद्योग नेपालमा विस्तार हुँदै जाने मलाई लाग्छ । अव बिकास कसैले रोकेर रोकिदैन । समग्रमा हेर्दा नेपालको स्थिति नराम्रो छैन । हाम्रै पालामा विकास हुन्छ र हामीले नै विकास देख्न सकिन्छ । हामीले कतै न कतै जुन लय समात्नुपर्ने हो त्यो समात्न नसकेकाले अलि बढी चिन्तित भएका छौँ । यसका लागि सम्बन्धित र सम्मानित निकायलाई खबरदारी गर्नुपर्ने पनि जरुरी छ ।
तपाई कतार आउँदा कस्तो सपना थियो ?
म कतार आउँदा मेरो छोरीलाई बोर्डिङ स्कूलमा पढाउन सकौँ भन्ने थियो । आमाबुबा दमको बिमारी थिए उहाँहरुलाई राम्रो उपचार गर्न सकौँ भनी यी दुईटा सपना बोकी कतार पुगेको थिएँ । सानोतिनो जागिर र ट्राभल्स एजेन्सीको बक्यौता उठाउन पनि पुगेको थिए । बक्यौता उठाउने कामले कतार पुगेको बेला एकाउन्टेन्टको जागिर पनि पाएको थिएँ । पछि त्यही कम्पनीमा अनरसिप लिँदै अगाडि बढेँ । संघर्ष गर्नुपर्ने अवस्था सबै ठाउँमा रहेको छ । जापान जानुस कि अमेरिका जहाँ पनि संघर्ष छ । कतारमा समर्पण र इमानदारिताका साथ लाग्नु हुन्छ, अहोरात्र खटिनु हुन्छ भने अन्य विकसित राष्ट्रमा गर्नुपर्ने संघर्षको तुलनामा कतारमा अलि कम गरे पुग्छ ।
यहाँ कतारको सफल ब्यावसायी हुनुहुन्छ कतारमा सफल व्यवसायी बन्न कत्तिको कठिनाइ रहयो ?
२२ घन्टासम्म काम गर्ने मान्छे भएकोले मलाई संघर्ष गर्ने मान्छेका लागि कतारमा असम्भव केही पनि छैन जस्तो लाग्छ । अन्य ठाउँमा जाने र कतारमा जाने नेपालीहरूमा एकेडेमिक हिसाबले अलिकति फरक अवस्था छ । युरोप अमेरिकामा जाने नेपालीहरूको अवस्था फरक छ । म जतिखेर कतार पुगे त्यतिखेर धेरैजसो नेपालीले राम्रो ठाउँमा छोराछोरी पढाउन पाए, आमाबाबुको उपचार गर्न पाए भनेर आउनेहरू थिए । कतारमा आउने ९८ प्रतिशतहरूको यस्तै सपना रहेको हुन्थ्यो । त्यो सपनाबाट फर्किन फेरि धेरै गाह्रो हुन्छ । छोरछोरीलाई बोर्डिङ स्कूलमा पढाउनै छ आमाबाबुको उपचार गराउनु छ ।
कतारमा संघर्ष गरी सफल व्यवसायीेसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
अहिले म कतारमै ब्याबसाय गरेर मेरा छोराछोरी पढी हुर्कीसके । मेरो सपना नेपालीहरूको सपना बचाउन सकिन्छ कि सकिँदैन भन्ने छ । यस्ता सपना बोकी नेपाल छोडी उड्ने मेरा साथी भाइहरूलाई कसरी बाहिर उड्ने अवस्था न्यूनीकरण गर्न सकिन्छ भन्ने सोच्छु । यस्तो सामाजिक अभियानमा म लागिरहेको छु । म सामाजिक अभियानमा जोडिएर एनआरएनएको नेतृत्वमा आएको छु । खाडी मुलुकका गैर आवासीय नेपालीहरूले एनआरएनएको नेतृत्वमा पुर्याउनुभएको छ । मैले हाल नेपालमा धेरै क्षेत्रमा लगानी वढाएको छु । सँगै गैर आवासीय नेपालीको ससाना लगानी स्वदेशमा बढाउन म लागिरहेको छु ।
पछिल्लो समयमा तपाईँ एनआरएनएको अध्यक्ष भएपछिको विवाद के हो ?
एनआरएनए सबैको साझा चौतारी बनोस भनी म अभियानमा लागेको छु । यो अभियानमा लाग्दै गर्दा मध्यपूर्व मलेसियालगायतका साथीहरू धेरै रहेका छन । म सबै मध्यपूर्वका साथीहरूप्रति आभार प्रकट गर्दछु । उहाँहरूको समर्थनमा म १५ वर्षदेखि एनआरएनएको अभियानमा लागेको छु र बिभिन्न नेतृत्वमा रहदै आएको छु । उहाँहरूको सहयोग र उर्जा प्राप्त नभएको भए अध्यक्षसम्मको यात्रा पूरा गर्न सकिँदैन्थ्यो । यसका अतिरिक्त विश्वभरका एनआरएन नेपाली दाजुभाइ दिदीबहिनीको सरसल्लाह र सहयोगको बलमा अघि बढ्न पाएको छु । उहाँहरूको सरसल्लाहमा अघि बढ्दै गर्दा एघारौँ महाधिवेशन भन्दा पहिले दशौँ महाधिवेशनको विषयमा भन्न चाहन्छु । दशौँ महाधिवेशनसम्म आइपुग्दा एनआरएनएलाई केही मानिसहरूको साँघुरो घेरामा लगौँ भन्ने सोच विकसित भयो । संंस्था दशौँ महाधिवेशनमा टुक्रियो ।
दशौँ महाधिवेशनमा भएको गल्ती सच्याऔँ भनेर म अहोरात्र लागेँ । त्यसक्रममा गत वर्षको जुन महिनामा सम्मानीय प्रधानमन्त्री ज्यूलाई नै साक्षी राखेर निवर्तमान अध्यक्ष बद्री केसी उताबाट अध्यक्ष विनोद कुँवरज्यू मेरा मित्र उपाध्यक्ष डीबी क्षेत्री एकताका संयोजक हुनुहुन्थ्यो । कुँवर समुहबाट महासचिव जानकी गुरुङ र म आफैँ पनि उपाध्यक्षको भूमिकामा थिएँ । एघारौँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ भन्ने बडो ऊर्जाका साथ अघि बढिएको थियो । विश्वका सबैजसो पत्रिकाले कभरेज गरेका थिए । विदेशमा बस्ने सबै नेपाली खुशी हुनुभएको थियो । यो राम्रो अभियान सुरु गर्नु भयो भनेर नेपाली डायस्पोरा माझ खुशियाली थियो । तर केही लोभीपापीहरूको तिकडमले केही साथीहरूले एघारौं महाधिवेशनलाई एकताको महाधिवेशन हुन दिनुभएन । उहाँहरूमा एउटा मात्र सोच थियो । नेतृत्व कसरी हत्याउने र हत्याउन नदिनेहरूलाई माइनस कसरी गर्ने भन्ने सोच उहाँहरूमा थियो ।
यसले गर्दा एकताको महाधिवेशन हुन सकेन । निर्वाचन प्रक्रियामा धाँधली गर्दा कार्यकारी अध्यक्षको पदीय दुरुपयोग गर्नुभयो मेरा मित्र बद्री केसी ज्यूहरूले । अब त व्यक्तिगतरूपमा नै जाने बेला भइसकेको जस्तो लाग्छ । अहिलेसम्म संस्थागतरूपमा लडिरहेको थिएँ । उहाँले आफू जसरी पनि अध्यक्ष हुने तरिकाले इलेक्सन सिस्टम र भेरोको सेटअप गर्नु भयो । ५४ जना लाइनमा बसेकाहरूलाई भोट हाल्न दिनुभएन । एनआरएनए अभियन्ताहरुले नै जापान अमेरिकालगायत देशबाट भोट खसाल्न पाउनुभएन । कतारका टीका कार्कीजीले आफ्नो मत हाल्न खोज्दा मत हाल्न पाएनन । पछि साथीहरूले सीआईबीमा उजुरी गर्नुभयो । त्यसको पनि छानबिन भइसकेको छ । नाना भाँति विवाद उत्पन्न भएपछि बद्री केसी आफैँले छानबिन समितिको निर्णय नआउँदासम्म अगाडि नबढ्ने प्रस्ताव राख्नुभयो । ९ घन्टा नबित्दै उहाँले त्यो निर्णय तोड्नुभयो ।
परराष्ट्र मन्त्रालयमा यो कुरा उठाउँदा लहरो तान्दा पहिरो जाने भयो । मैले साथीहरूलाई महाधिवेशन सम्मको मात्रै केही न केही छानबिन गरेर जाऔँ भनेको थिए । मैले यो विवाद यसरी सुल्झाऔँ भनी मित्र बद्री केसीलाई नै पनि भनेको थिएँ । तर उहाँमा संसारै जितेको जिद्दीपना देखियो । संसारै जिते पछिको मातमा परेर यो संस्थालाई समाप्त पार्ने सोच उनमा पलाएको जस्तो छ । एनआरएनएजस्तो नेपालीहरूको संस्था समाप्त पार्ने नियत उहाँहरूमा देखिन्छ । तर यसको महशुस उहाँलाई पछि होला मेरो विश्वास छ । यो गलत भइरहेको छ भन्ने कुरोको महशुस भगवानले पक्कै पनि गराउनुहुनेछ । उहाँहरूले जब बाटो बन्द गर्नु भयो त्यसपछि एनआरएनएको एकताको अभियानलाई लडाइँको रूपमा अगाडि बढाउन परेको हो ।
उहाँहरूले वार्ता प्रक्रियामा आबद्ध भइ छानबिन गरौँ र त्यसको पछि प्रक्रिया अगाडि बढाउन आफैँले ल्याएको प्रस्तावलाई उल्लंघन गर्नुभयो । यो प्रस्तावको ९ घन्टा नपुग्दै यसको उल्लंघन गर्नु भयो । महाधिवेशनको बन्द सत्र सुरु भएको छैन । बन्द सत्रमा प्रस्तुत गरिने प्रस्ताव पस्तुत गरि पारित गरिएको छैन । पुरानो कार्यसमिति भंग भएको छैन । आर्थिक प्रतिवेदन पास भएको छैन । केही भएन, गरिएन । उहाँलाई के गर्नु थियो भने टीका लगाउनु पर्ने थियो जसरी भएपनि त्यसका लागि उहाँले तीन जना अध्यक्षले पठाएको प्रेस विज्ञप्ति कुल्चिदैँ अगाडि बढ्ने काम गर्नुभयो । उहाँले उच्चस्तरीय छानबिन समितिको संयोजक समेतको सदस्यहरूले महाधिवेशन स्थगित गर्नुपर्ने निर्णय गरेकोलाई अपमान गर्नु भयो । उहाँले एकलौटी आफ्नो नेतृत्वमा कार्यसमिति चयन भएको घोषणा गर्नुभयो । तर मेरो चाहना भनेको गैर आवासीय नेपालीहरू सबै एक ठाउँमा आउनुपर्ने थियो । अखण्ड एनआरएनए हुनुपर्ने कुरोलाई आत्मसात गर्दै निर्वतमान अध्यक्ष ज्यूलाई पनि भनेका छौं हामीले आउनुस यही निर्वाचन समाधानको बटमलाइन हो । एनआरएनएको एकताका लागि मैले जे त्याग गर्नुपर्ला त्यो गरौँला । मैले त्यसका लागि मेरो उम्मेदवारी हुन नहुने माग रहेछ भने पनि त्यसबारे छलफल गरौँ । मैले सबै राजनीतिक दलसँग एनआरएनएको एकताका लागि विगतदेखि कार्य गर्दै आएको छु । सत्तापक्ष र प्रतिपक्ष सबैसँग सहकार्य गर्दै आएको छु । जुन दलको समर्थनमा यस्तो कार्य गर्नुभएको छ त्यो दललाई उहाँहरूले भ्रमित पार्नु भएको छ । उहाँले जुन राजनीतिक दलको छाता ओढ्नुभएको छ त्यो सम्मानित राजनीतिक दलसमेतलाई भन्न चाहन्छु आउनुस विषयहरूमा खुला छलफल गरौँ। सहकार्यका लागि हामी तयार छौँ ।
महाधिवेशनमा भएको निर्वाचनपछि तपाईले आफूलाई पद नभई हुन्न भन्ने मानसिकताको मनोरोग नभएको बताउँदै आउनुभएको छ । तर कतिपयले आखिर आरकेलाई पनि पद त चाहिएकै रहेछ भनी टिप्पणी गर्ने गरेका छन् नि ? यसमा तपाईँको भनाइ चाहिँ के छ ?
मैले अघि नै भनिसकेँ रिइलेक्सन मेरो बटम लाइन हो । मलाई पद नै चाहेको भए सम्मानित अदालतको ढोका ढकढकाएको भए हुन्थ्यो । तर आफूले एनआरएनएको एकता, गरिमा र प्रतिष्ठालाई स्थापित गराउनु छ । मैले अध्यक्ष हुनुको पछाडि एनआरएनएमा हरेक गैर आवासीय नेपालीले पठाएको पाँच–पाँच डलरको दुरुपयोग हुन नदिन, गैरआवासीयहरूको अधिकार सुनिश्चित गराउन हो । एनआरएनए र मध्यपूर्वका गैरआवासीयहरूलाई देखाउँदै केही साथीहरूबाट भए गरेका पदीय दुरुपयोगलाई सुधार्न मेरो अध्यक्षताको उम्मेदवारी हो । मैले यसबारे मिहिन विश्लेषणतिर लागिन । ती साथीहरू आफैले भएगरेका गल्ती सच्याएर जानु होला । हामी भोलि सँगै जानुछ । कुरो आफैँ बुझे राम्रो ।
नेपाल सरकारसँग आम गैर आवासीय नेपालीको नागरिकतासम्बन्धी विषयहरूको समाधान खोज्न भइरहेको ढिलाइमा द्रुतगति दिन, सामाजिक सुरक्षाका लागि आफूले गरेको पहल र प्रयासलाई हेरे पुग्छ । त्यस्ता कुरालाई पन्छाएर आफू मात्र अध्यक्ष हुन खोज्ने र त्यसका लागि हर तिकडम गर्ने गरी भए गरेको प्रयासको विरुद्धमा आफूहरूको एकता अभियानको प्रयास हो । दशौँ महाधिवेशनदेखि भत्किन पुगेको एनआरएनएको आस्थाको धरोहर मैले ढल्न दिन हुँदैन भनी पवित्र बोध मैले गरेको छु । त्यसका लागि लडिरहेको छु । मलाई त्यसका लागि मध्यपूर्वलगायत विश्वभरका साथीहरूले दिनुभएको सहयोग र समर्थनका लागि लड्नु पर्छ । मैले उहाँहरूलाई एनआरएनएको पादरदर्शिताको विश्वास दिलाएको छु । एनआरएनएको एकताका साथै नागरिकता र सामाजिक सुरक्षा जस्ता विषयमा गरेको प्रतिबद्धताका लागि मैले लड्नुपर्छ । निर्वाचनमा भएको जुन प्रकारको धाँधली प्रक्रिया छ त्यस्तो विश्वभर कतै पनि छैन । मान्छे नेपालमा छ अमेरिकाबाट भोट खसाइन्छ । मान्छे कतारमा छ भोट नेपालमा खसाइन्छ । दिउँसो भोट दिँदा बेलुका एकथरी निर्णय हुने र बेलुका भोट गर्दा बिहान अर्को थरी निर्णय हुने जस्तो क्रियाकलापको सुधार र सशोंधन त फेरि चुनाव गराउनु हो । निर्वाचनको घोषणा भइसकेपछि सीईओ फेर्नुहुँदैन भनिरहँदा पूर्वमहासचिव मसँग तर्किनुभएको थियो ।
अहिले तपाईँसँग एनआरएनए मातहतका निकाय र गैरआवासीयहरूको समर्थन छ भन्ने लाग्छ ? साथै अहिले अर्कै संगठनको निर्माण भइसकेको छ । यस्तोमा कसरी एनआरएनएको एकता सम्भव छ ?
एनआरएनएका अभियन्ताहरूको ९० प्रतिशत बढी समर्थन मसँग रहेको छ । भोटिङको लडाइँ मात्रै होइन हामीले एनआरएनएको एकताका लागि लडिरहेका छौँ । सरकारले यसको समाधान गर्नुपर्छ । यसबाट सुशासन दिन सरकारले पहल गरेको विश्वास देश र विदेशमा स्थापित हुनेछ । सरकारले यसलाई समाधान गर्ने विश्वास छ । सरकारले नग्नरुपमा भएको धाँधली र एनआरएनएको विभाजन गराउने प्रयासलाई निरुत्साहित गर्नुपर्छ । म आफैँ छानबिनको प्रक्रियामा दोषी ठहरिन्छु भने सरकारले मलाई पनि दण्डित गरोस भन्ने चाहेको छु । एनआरएनएहरूमा फैलिएको आशंकाको समाधान सही ढंगबाट हुनुपर्ने चाहना आफूहरू रहेको छ । यसको सही समाधान भनेको फेरि निर्वाचन गराउनु हो । त्यो छानबिन समितिको प्रतिवेदन वा फेरि छानबिन गरी सही गलतको छिनफानो गर्नु आवश्यक छ । एनआरएनएको एकता र अखण्डता आफ्नो मुख्य अभियान हो । सरकारले एनआरएनएको एकता कायम गराउन विवाद समाधान गरे यसबाट विश्वमाझ सुशासन दिन सकेको प्रतिष्ठा स्थापित हुनेछ । एनआरएनएको विवाद देशमा मात्रै होइन विश्वमा समेत फैलिएको छ ।
जनसवाल राष्ट्रिय दैनिकको २०८० फागुन २८ गते सोमबारको इपेपर
https://epaper.janasawal.com/2024/03/11/8176/

जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij